राजनीति

राष्ट्रिय सभा सदस्यको आरोपः राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न सकेन

फाइल तस्बिर

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न नसकेको आरोप लगाएका छन्।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको महत्व बराबर भएपनि सरकारले त्यसलाई स्वीकार्न नसकेको बताए। सरकारले पनि संघीय संसद भनेको राष्ट्रिय सभा पनि हो र राष्ट्रिय सभा पनि संघीय संसदको एउटा पार्ट हो र राष्ट्रिय सभा बिना संघीय संसद हुन सक्दैन भन्नेकुरा मान्न नसकेको उनको भनाइ छ।

उनले प्रतिनिधि सभा भन्दा कुनैपनि हिसावले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे। उनले सरकारले राष्ट्रिय सभाका ४ वटा समितिहरुले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए।

उनले भने, ‘आजको सन्दर्भमा केही कुरा बाहेक समानन्तर रुपमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको महत्वलाई, गरिमा र अधिकारलाई स्थापित गरेका छौँ। तर दुःखको कुरा मिडियाको कुरा त छोड्दिऔँ, बुद्धिजीविहरुको कुरा त छोड्दिऔँ, आम मानिसको कुरा त छोडौँ, सरकारले पनि संघीय संसद भनेको राष्ट्रिय सभा हुँदो रहेछ, राष्ट्रिय सभा पनि संघीय संसदको एउटा पार्ट हो, राष्ट्रिय सभा बिना संघीय संसद होइन, भन्नेकुरा अहिलेसम्म, अहिलेको सरकार मात्रै होइन, सरकारहरुले त्यो कुरालाई बुझ्नै खोजिरहेका छैनन्। प्रतिनिधि सभा भन्दा कुनैपनि हिसावले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर छ भन्नेकुराबाट बुझ्ने काम भइरहेको छ। त्यसकारण राष्ट्रिय सभाका ४ वटै समितिहरुले अत्यन्त मेहनत गरेर सरकारलाई सुझाव दिने गर्दछ, त्यसलाई सरकारले गम्भीरताका साथ लिने गरेको छैन।’

राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरुले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए।  

प्रकाशित: ४ वैशाख २०८० १०:५३ सोमबार

राष्ट्रिय सभा