राजनीति

रोल्पामा महिलाको लाठी जुलुस

रोल्पा- प्रदेश नं ५ वाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पाली महिलाले बुधबार सदरमुकाम लिवाङमा लाठी जुलुस प्रदर्शन गरेका छन्।
हातहातमा लाठी लिएर उत्रिएका महिलाले प्रदेश टुक्र्याउने गरी संसद्मा पेस भएको विधेयक फिर्ता हुनुपर्ने माग गरेका छन् । तराईसँग आफूहरुको पनि रोटीबेटीको सम्बन्ध रहेको बताउँदै युगौँ देखिको सो सम्बन्ध नटुटाई दिन सरकारसँग माग गरे ।

कार्यक्रममा पूर्वसांसद रीमा नेपालीले चुलोचौकोमा सीमित हुने महिला हातमा लठ्ठी लिएर सरकारलाई चुनौती दिन सडकमा उत्रनु सामान्य नभएको बताए। प्रदेश विभाजनले सबैभन्दा बढी पीडा दलित, महिला र गरिबलाई हुने बताउँदै विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनले बताए।

कार्यक्रमका अर्का वक्ता नेपाल महिला सङ्घका केन्द्रीय सदस्य मिश्री हमालले हातमा लाठी लिएका महिला आगामी स्थानीय तहको निर्वाचनसम्म एक भएर अगाडि बढ्नुपर्ने बताए।

रोल्पा र दाङको सम्बन्ध निकै पुरानो र पूरक रहेको बताउँदै प्रदेश टुक्रँदा चेलिबेटीको सम्बन्धसमेत टुट्ने हुँदा अलग गराउने कार्य कदापि स्वीकार्य नहुने उनको तर्क थियो । विधेयक फिर्ता लिएर जनमतको कदर गर्न उनले सरकारलाई आग्रह गरिन्। रासस

प्रकाशित: ७ पुस २०७३ ०५:०९ बिहीबार

रोल्पामा महिलाको लाठी जुलुस