राजनीति

व्यवस्था फेरियो, प्रवृत्ति फेरिएन: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी रहेको बताएका छन्।

शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले सङ्घीयतालाई संस्थागत गर्न प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने धारणा राखे।

'सङ्घीयताको मर्मअनुसार केन्द्रको अधिकार तल प्रत्योजन नगर्ने हो भने यो प्रणाली कमजोर हुन्छ”, प्रदेश प्रमुख गुरुङले भने, 'अहिलेको प्रदेश संरचना अधुरो किसिमको छ, यसलाई बलियो नबनाएसम्म जनअपेक्षाअनुसार काम गर्न सकिँदैन।'

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा देखिने गरेको केन्द्रमुखी प्रवृत्तिले सङ्घीय व्यवस्थालाई स्थिर हुन नदिने उनले उल्लेख गरे। सङ्घ सरकारले परराष्ट्र नीति, राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयबाहेकका अधिकार प्रदेशलाई दिनुपर्ने उनको भनाइ छ।

प्रदेश सरकारले सशक्त भूमिका खेल्न नसक्दा सङ्घीयतामाथि नै बेलाबखत टीकाटप्पणी हुने गरेको प्रदेश प्रमुख गुरुङले बताए। उनले लोकसेवा आयोग नागरिकको सबैभन्दा बढी विश्वासिलो संस्थाका रूपमा स्थापित भएको जिकिर गरे। प्रदेश लोकसेवा आयोगले स्थापनाको छोटो अवधिमै प्रभावकारी कार्यसम्पादन गर्न सफल रहेको प्रदेश प्रमुख गुरुङले उल्लेख गरे। रासस

प्रकाशित: ११ चैत्र २०७९ ११:४१ शनिबार