राजनीति

स्ववियु निर्वाचनः बदर र क्याम्पस सञ्चालक समिति भंग गर्न माग गर्दै दुई विद्यार्थी संगठन आन्दोलित

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बदर र क्याम्पस सञ्चालक समितिको खारेजी सहितका ६ बुदें माग राख्दै ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुई विद्यार्थी संगठन आन्दोलित भएका छन्। 

एमाले निकट अनेरास्वबियु र जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी त्रिभुवन विश्व बिद्यालयबाट घोषित परीक्षा बाहेक क्याम्पसमा सञ्चालन गरिने सबै क्रियाकलापमा बन्द आवहनको घोषणा गरेका गरेका छन्। 

अनेरास्वबियुका क्याम्पस कमिटी अध्यक्ष प्रदीप गुरुङ तथा समाजवादी विद्यार्थी युनियन क्याम्पस कमिटी अध्यक्ष किशोर आङबुहाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा चैत ५ गते सम्पन्न स्वबियु निर्वाचन बदर गरी अर्को निर्वाचन घोषणा गर्न माग गरिएको छ। निर्वाचनको निष्पक्षता माथि प्रश्न उठाउँदै यी दुईबिद्यार्थी संगठनले स्वबियु निर्वाचन स्थगनको माग गरी क्याम्पस प्रशासनमा ताला लगाएको थियो। मनोनयनको प्रकृया समेत पूरा भईसकेको र अरु निर्वाचन कार्यक्रम समेत अघि बढेको अवस्थामा निर्वाचन कार्यक्रम स्थगन गर्न नसकिने भन्दै क्याम्पस सञ्चालक समितिले निर्वाचन कार्यक्रम अघि बढाएको थियो।

 निर्वाचनको दिन अनेरास्वबियु समाजवादी विद्यार्थी युनियनले नाराबाजी सहित निर्वाचन बहिष्कारको घोषणा गरेका थिए। निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गरी निर्वाचित भएको प्रमाणपत्र समेत दिइसकेको छ। निर्वाचनमार्फत काँग्रेस निकट विद्यार्थी संगठन नेबिसंघका नेता अर्जुन खिम्दिङ नेतृत्वको अखिल क्रान्तिकारी,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निकट संघीय विद्यार्थी युनियन र नेकपा एस निकट अनेरास्वबियु सहितको समीकरण नेतृत्वले भारी मतका साथ निर्वाचित भएको घोषणा यसअघि नै गरिसकिएको छ। 

एमाले निकट अनेरास्वबियु र जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले क्याम्पस सञ्चालक समितिको म्याद पहिले नै सकिएको दाबी गर्दै म्याद सकिएको समितिले गरेका निर्णय अवैधानिक घोषणा गर्न समेत माग गरेको छन्। उनीहरुले म्याद सकिएको समिति भंग हुनुपर्ने अडान लिएका छन्। यस्तै विद्यार्थी गृष्मा सामेखाम माथि कुटपिट भएको भन्दै कुटपिटमा संलग्नलाई कारबाही र जबरजस्त निर्वाचन अघि बढाउने निर्वाचन समितिमा पदाधिकारीलाई समेत कारबाहीको माग ती विद्यार्थी संगठनले गरेका छन्। 

प्रकाशित: ९ चैत्र २०७९ १२:२५ बिहीबार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)