राजनीति

सञ्चालक समिति नहुँदा स्ववियु निर्वाचन अनिश्चित

चार वर्षदेखी पाणिनी बहुमखी क्याम्पसको सञ्चालक समिति गठन हुन नसक्दा यहाँको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को निर्वाचन अनिश्चित बनेको छ।

सदरमुकाम सन्धिखर्कमा रहेको क्याम्पस विगत ४ वर्षदेखि सञ्चालक समिति विहिन छ। यस अघि ०७२ सालमा चेतनारायण आचार्यको अध्यक्षतामा सञ्चालक समिति बनेको थियो।

क्याम्पसको विधान अनुसार प्रत्येक ३/३ वर्षमा क्याम्पस समिति गठन गर्नुपर्ने व्यवस्था छ। ०७५ सालमा गठन गर्नुपर्ने क्याम्पस सञ्चालक समिति त्यतिबेला विभिन्न कारणले बन्न सकेन। क्याम्पसले पटक–पटक क्याम्पस सञ्चालक समिति बनाउन आग्रह गर्दा समेत जिल्लाका राजनैतिक दलहरुले चासो नदेखाएको क्याम्पस स्रोतले जनाएको छ।

समिति गठन हुन नसक्दा यही चैत्र ५ गते हुने स्ववियु निर्वाचन पाणिनीमा नहुने देखिएको छ। स्ववियु निर्वाचनसंगै क्याम्पसका अन्य गतिविधी ठप्प हुँदा समेत सरोकारवाला पक्ष गम्भिर नबनेको क्याम्पस प्रमुख बुद्धी भुसालले बताए।  

०७५ सालमा सञ्चालक समिति गठन गर्ने विषयमा बैठक बस्दा १५ दिनमा समिति बनाउने निणर्य भएको भन्दै प्रमुख भुसालले अहिलेसम्म समिति गठन हुन नसक्नु दुखद भएको बताए। ‘स्ववियु लगायतका गतिविधी रोकिएका छन्, उनले भने,‘पटक पटक ताकेता गर्दा पनि सरोकारवाला पक्षले चाँसो दिएन।’

अर्घाखाँचीका संयुक्त विद्यार्थी संगठनहरुले क्याम्पसमा राजनैतिक दल, क्याम्पस प्रशासन र विद्यार्थी बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर समस्या समाधान गर्न आग्रह समेत गरेका छन्।

तत्काल पाणिनी क्याम्पसमा सञ्चालक समिति गठन गरी स्ववियु निर्वाचन गर्न उनीहरुले माग राखेका छन्। अविलम्ब समिति गठन गर्न दवाब दिएको नेविसंघ ईकाई सभापती अनिशा ठकुरीले बताइन्। ‘संचालक समिति बनाउन दलहरुले आनाकानी गरेका छन्,उनले भनिन्,‘स्ववियु निर्वाचन पनि अनिश्चित देखिएको छ।’

समिति नबन्दा क्याम्पस संचालन गर्न समेत समस्या भएको क्याम्पस प्रशासनले जनाएको छ।

प्रकाशित: २ चैत्र २०७९ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App