राजनीति

सुजताले भनिन्: एक चीन नीतिमा कांग्रेस स्पष्ट छ

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले एक चीन नीतिमा नेपाली कांग्रेस स्पष्ट रहेको बताएकी छन्। नेपाल र चीन बीचको सम्बन्ध तथा नेपाली कांग्रेसको धारणाबारे बिज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय सदस्य उनले नेपालले संधै ताईवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिंदै आएको र एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति रहेको बताएकी हुन्।
‘नेपालले सधै एक चीन नीतिको स्पष्टता र दृढतापूर्वक अवलम्वन गर्दै आएको छ, नेपालले सधै ताइवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिदै आएको छ’ उनले भनिन् ‘ एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति हो।’
आफु पार्टीको अन्तराष्ट्रिय बिभाग प्रमुख हुँदा र उप—प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा समेत एक चीन नीतिलाई अघि बढाएको उनको भनाई छ।
‘म पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुख रहदा र उप—प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा समेत यो नीतिलाइ स्पष्ट रुपमा अघि वढाएको छु’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ‘आगामी दिनमा नेपाल र चीनवीच अझ वढी सुमधुर सम्वन्ध स्थापना गर्न एक चीन नीतिमा कटिबद्ध रही सोही बमोजिम चीनसंगको सम्बन्धलाई निरन्तरता दिने नेपाली कांग्रसको स्पष्ट नीति रहेको छ।’
चीनसंग नेपालको कुटनीतिक सम्वन्ध स्थापना भएको ६१ वर्ष पुरा भएको र दुई देशबीच २ हजार वर्ष अघिदेखि परम्परागत सम्वन्ध रहिआएको भन्दै यो बीचमा नेपाल र चीनवीच सधै सुमधुर सम्वन्ध रहिआएको उनको भनाई छ।
चीनलाई राष्ट्रसंघमा सदस्यता दिलाउन नेपालले सक्रिय भूमिका खेलेको भूमिका उल्लेख गर्दै वी.पी. कोइराला देखि गिरिजा प्रसाद कोईरालाको पाला सम्म नेपाल र चीनवीच हार्दिकतापूर्ण सम्वन्ध रहिआएको बताईएको छ।
 

प्रकाशित: २४ कार्तिक २०७३ १२:५२ बुधबार

सुजताले भनिन् चीन नीतिमा कांग्रेस स्पष्ट