राजनीति

पेरिस डाँडाबाट १ सय ६९ 'अयोग्य लडाकु' पक्राउ

पेरिस डाँडामा धर्ना दिँदै 'अयोग्य लडाकु'

काठमाडौं-  नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडा 'कब्जा' गर्ने 'अयोग्य लडाकु' लाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार विहानै उनीहरुलाई मुख्यालयबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले बताए। प्रहरीले त्यहाँ धर्नामा रहेका १ सय ६९ जनालाई नियन्त्रणमा लिएर पुलिस क्लब,  सिंहदरबार बृत्त, महाराजगन्ज र तिनकुने बृत्तमा राखिएको छ। देशका विभिन्न भागबाट काठमाडौंमा जम्मा भएका ‘अयोग्य लडाकु’ ले बालबालिकासहित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार देखि डेरा जमाएका थिए। उनीहरुलाई नियन्त्रणमा लिन ५ सय भन्दा बढीको संख्यामा प्रहरी पेरिस डाँडा पुगेका थिए।  

दुधे बालबालिकासहित आन्दोलनका लागि आएका करिब तीन सय बहिर्गमित लडाकुले पेरिसडाँडामै बसेर माग सम्बोधन नभएसम्म आन्दोलन गर्ने घोषणा गरेका हुन्।

केन्द्रीय कार्यालयको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई भित्र कार्यक्रम रहेको भन्दै सानोसानो समूहमा प्रवेश गरेका उनीहरूले जम्मा भइसकेपछि भित्र आफैंले ताला लगाएर कब्जा गरेका थिए। बहिर्गमित जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट लगाएका उनीहरूले माग सम्बोधन नभएसम्म कार्यालय परिसर नछाड्ने अडान लिँदै त्यही बसेका थिए।  

संघर्ष समितिका अध्यक्ष लेनिन बिष्टले आफूहरूले २०६८ यता गरिरहेको आन्दोलनको निर्णायक कडीका रुपमा अनिश्चितकालीन आन्दोलन थालेको बताए।

तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका क्रममा चार हजार नौ लडाकु अयोग्य ठहर भएर बहिर्गमनमा परेका थिए। बहिर्गमित लडाकुले २०६८ सालमा संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन्। उनीहरूले राज्यले अयोग्य भन्ने शब्द हटाएर सम्मानसहितको प्रमाणपत्र दिनुपर्ने, दीर्घकालीन आर्थिक व्यवस्था गर्नुपर्ने, बालअधिकारको हनन भएका घटनाको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान हुनुपर्ने, बाल्यकालमा माओवादी सेनामा जबर्जस्ती भर्ना गरिएकालाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइते तथा अपांगको उचित व्यवस्थापन, कारागारमा रहेका व्यक्तिको मुद्दा फिर्ता र रिहाइजस्ता माग उनीहरूले राखेका छन्।

केपी शर्मा ओली सरकारले अयोग्य लडाकुलाई जनही दुई लाख दिने घोषणा गरेर बजेटमा व्यवस्था समेत भए पनि सर्वोच्च अदालतमा परेको रिटका कारण कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित: २३ कार्तिक २०७३ ०३:४८ मंगलबार

पेरिस डाँडाबाट ६९ अयोग्य लडाकु पक्राउ