राजनीति

संविधान संशाेधनबारे दाहाल र अाेलीबीचकाे छलफल सकारात्मक

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार अपरान्ह संविधान संशाेधनलगायतका विषयमा छलपफल भएकाे छ।

सिंहदरबरस्थित सभामुखकाे कार्यकक्षमा भएको भेटमा प्रधामन्त्रीले नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलबारे जानकारी गराउँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनका पक्षमा प्रमुख दलहरु एक ठाउँ उभिनुपर्ने प्रस्ताव राखेकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ।

सचिवालयका अनुसार संविधान कार्यान्वयनमा सत्ता पक्ष र प्रतिपक्ष नभनी एक ठाउँमा उभिएर अघि बढ्न प्रधानमन्त्रीले अाग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनर्निर्माण र संविधान निर्माणमा दलहरु एकजुट भएको स्मरण गराएका थिए। संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई प्रस्ताव गरेका थिए।

अध्यक्ष ओली भने प्रधानमन्त्रीकाे प्रस्तावमा अाफू सकारात्मक रहेकाे बताएका थिए।

दाहाल र ओलीबीच शुक्रबार भएको छलफल सकारात्मक रहेको र कांग्रेससँग पनि छलफल गरेर साझा धारणा बनाउने सहमति दुर्इ नेताबीच भएकाे छ।

केही दिनअघि प्रधानमन्त्रीले कात्तिक मसान्तभित्रै संविधान संशाेधन प्रस्ताव दर्ता गर्ने सहमति मधेसी माेर्चासँग गरेका छन्।

 

प्रकाशित: १९ कार्तिक २०७३ ११:२३ शुक्रबार

संविधान संशाेधनबारे दाहाल अाेलीबीचकाे छलफल