राजनीति

संविधान संशोधनपछि निर्वाचनः दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल। फाइल फोटो

ललितपुर—प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। न्हुदँ समारोह समितिद्वारा नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए।

खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको समेत उनको जोड थियो।

मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएका जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने उनले औंल्याए। संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति नजिक पुगेको उनको भनाइ थियो।

'के मधेस, के पहाड, के तराई सबै एक ढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता हो', उनले भने। उनले नेवार समुदायको मात्र नेपाल संवत् नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको बताए। नेपाल संवत्लाई अन्तर्राष्ट्रिय रुपमा रहेको इस्वी संवत्सँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको पनि प्रधानमन्त्रीको जोड थियो।

समितिका अध्यक्ष मोतीलाल सिल्पकारले नेवार समुदायले मान्दै आएको नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन आग्रह गरेका थिए। रासस

प्रकाशित: १५ कार्तिक २०७३ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App