राजनीति

संविधानमा छलफल हुने

काठमाडौं- भारत सरकारले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण क्रममा संविधान संशोधनका विषयमा पनि छलफल हुने संकेत गरेको छ । भारतीय विदेश मन्त्रालयद्वारा शुक्रबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नर्थ डेस्क प्रमुख सुधाकर दलेलाले राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बेला संविधान संशोधनलगायत विषयमा छलफल हुने बताए ।

‘उहाँ (मुखर्जी) ले नेपाल भ्रमण क्रममा दुईपक्षीय, क्षेत्रीय, अन्तर्राष्ट्रियसहित सबै विषयमा छलफल गर्नुहुनेछ ।’

राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण क्रममा मधेसको माग र चासोलाई सम्बोधन गर्न छलफल गर्नुहुनेछ भनी सोधिएको प्रश्नमा दलेलाले भने, ‘जहाँसम्म तपाईंको प्रश्नको विषय छ, पछिल्लो समयमा नेपालबाट भएका उच्चस्तरीय राजनीतिक भ्रमणमा सबै पक्षलाई समेट्न संविधान संशोधन गर्ने प्राथमिकता रहेको बताइएको छ । भारतले त्यसलाई स्वागत गरेको छ । उहाँ (मुखर्जी) ले औपचारिक भेटमात्र गर्नुहुनेछैन, सबैसँग सबै विषयमा छलफल गर्नुहुनेछ ।’

उनले भ्रमणका बेला मधेसीसहित सबै राजनीतिक दलका नेतासँग राष्ट्रपति मुखर्जीले भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए । दलेलाले भने, ‘राष्ट्रपति मुखर्जीको पाँच दशक लामो सार्वजनिक जीवनमा नेपालका विभिन्न दलका नेतासँगै मात्रै नभएर नागरिक समाजसँग पनि नजिकको सम्बन्ध रहेकोमा तपार्इं (पत्रकार) हरू जानकार नै हुनुहुन्छ ।’

मुखर्जीको नेपाल भ्रमण ‘विशेष सद्भाव भ्रमण’ भएको जनाउँदै उनले यसबाट दुवै देश र जनताबीचको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरे ।

दलेलाले नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण भइरहेको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए । भारतीय राष्ट्रपतिबाट १८ वर्षपछि नेपाल भ्रमण हुन लागेको हो । ‘अब यस्ता भ्रमणमा यति धेरै अन्तर हुँदैन भन्ने अपेक्षा लिएका छौं’, दलेलाले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी तीनदिने राजकीय भ्रमणमा बुधबार दिउँसो काठमाडौं आउँदैछन् ।

मुखर्जीको पोखरा र जनकपुर भ्रमण कार्यक्रम पनि तय भएको छ । ‘हाम्रा राष्ट्रपतिले कुनै मुलुक जाँदा एकैपटक तीन सहरको भ्रमण गर्ने कार्यक्रम निकै कम हुन्छ’, दलेलाले भारतीय विदेश मन्त्रालयको वेबसाइटमा राखेको भिडियोमा भनेका छन् ।

भ्रमण क्रममा राष्ट्रपति मुखर्जीले नेपाल सरकारका उच्च अधिकारी, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवासँग भेटवार्ता गर्ने भारतीय अधिकारीले जनाएका छन् ।

काठमाडौं विश्वविद्यालयले मुखर्जीलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने कार्यक्रम छ । काठमाडांै र जनकपुरमा उनलाई नागरिक अभिनन्दन गरिनेछ । ‘पोखरामा राष्ट्रपतिजीले पूर्वभारतीय गोर्खा सैनिकसँग अन्तक्र्रिया गर्नुहुनेछ । यो हाम्रा लागि निकै महŒवपूर्ण छ’, दलेलाले भने । भारतीय सेनामा अहिले पनि हजारौं गोर्खाली कार्यरत छन् ।

नेपाल–भुटान हेर्ने भारतीय विदेश मन्त्रालयका सहसचिव दलेलाले राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण क्रममा खासै नयाँ सम्झौता नहुने बताए । उनले भने, ‘हाम्रो प्राथमिकतामा पुराना सम्झौता कार्यान्वयन छ । सम्झौता कार्यान्वयन अनुमगनका लागि हामीले संयुक्त संयन्त्रसमेत बनाएका छौं ।’

दलेलाले पछिल्लो समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण मात्रै नभएर दुईपक्षीय  संयन्त्रका बैठक पनि निरन्तर भइरहेको बताए ।

प्रकाशित: १३ कार्तिक २०७३ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App