राजनीति

‘मिसन ग्रासरुट’मार्फत गाउँगाउँमा एमाले

नेकपा एमाले ‘मिसन ग्रासरुट’ अभियानसहित संगठन सुदृढीकरण अभियानमा जुटेको छ। फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्मको अवधि तोकेर जनताको घरदैलोसम्म पुग्ने लक्ष्यसहित अभियानमा जुटेको हो।  

एमालेका केन्द्रीय सदस्य सूर्य ढकालका अनुसार अभियानअन्तर्गत केद्र, प्रदेश, पालिका, वडा र टोलसम्मको संगठनलाई जीवन्त र क्रियाशील बनाउने भन्ने उद्देश्य राखिएको छ। फागुन १५ गतेभित्र पालिकास्तरीय बैठक बसी दुई महिनाभित्र गरिने कार्यक्रमको योजना तयार गर्ने समय तोकिएको छ। जसअनुसार अहिले बाँकेमा पालिकास्तरीय भेला बैठकहरू धमाधम भइरहेका छन्। अभियानअन्तर्गत खटाइएका केन्द्रीय सदस्यहरू अभियान अवधिमा जनताको घरमा बास बस्नुपर्ने जिम्मेवारी तोकिएको छ।  

हरेक केन्द्रीय सदस्य गाउँपालिका तहसम्म र जुन जिल्लाको हो त्यसभन्दा बाहिर अर्को जिल्लामा खटाइएको छ। बाँकेमा लक्ष्मण ज्ञवाली, भीम केसी, कोमल वली, खडकबहादुर खड्कालाई खटाइएको छ। बर्दियामा नरुलाल चौधरी, शान्ता चौधरी, शान्ति ढकाल र सूर्य ढकाललाई खटाइएको छ।  

एकजना केन्द्रीय कमिटी सदस्यले दुईवटा पालिका हेर्नुपर्ने जिम्मेवारी तोकिएको छ। ‘त्यहीअनुसार अहिले एमालेका सबै सदस्यहरू ग्रासरुट लेभलमा, जनताको घरघरमा पुगिरेका छन्’, केन्द्रीय सदस्य ढकालले भने।  

अभियान अवधिमा नचलेका समितिहरूलाई चलायमान बनाउने, गठन नभएका कमिटी गठन गर्ने, २३ वटै जनवर्गीय संगठनका वडा कमिटी गठन गर्नेलगायतका कार्यक्रमहरू पार्टीले तय गरेको ढकालले जानकारी दिए।

यसअघि ठेली तल्लोस्तरमै पठाएर नवीकरण गरिने गरेकोमा अब पार्टी कार्यालयमा उपस्थित भएर मात्रै गर्ने नीति लिइएको उनले बताए। यसका साथै नयाँ सदस्यता फाराम वितरण गर्ने, राजनीतिक र सांगनिकरूपले कार्यकर्ताहरूको स्तर बलियो बनाइने पनि उनले बताए। 

प्रकाशित: १२ फाल्गुन २०७९ ०१:१४ शुक्रबार

नेकपा एमाले