राजनीति

राष्ट्रपति पनि एमालेको भए देश बर्वाद हुन्छः नेपाल

पोखरामा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रमर। तस्बिर÷ सन्देश÷नागरिक

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको बताएका छन् समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको र त्यसको संकेत मेची किनारबाट संकेत मिलेको बताएका हुन्।

वर्तमान सत्ता गठबन्धनलाई खिचडीको गठबन्धनको संज्ञा दिदै उनले भने, ‘यो खिचडी गठबन्धन संविधानप्रति प्रतिबद्ध छैन। गणतन्त्रप्रतिपनि प्रतिबद्ध छैन र संघीयताप्रति पनि प्रतिबद्ध छैन। यो परिवर्तन प्रतिपनि गौरव बोध गर्ने नभई प्रतिगमनतर्फ जान उद्यत हुन्छ।’ पूर्व राजा ज्ञानेन्द्र शाह झापाको बिर्तामोडमासहभागि भएको कार्यक्रमतर्फ ईंगित गर्दै उनले भने, ‘देश प्रतिगमनको यात्रातर्फ जान थालेको संकेत मेची नदीको किनारबाट हामीले संकेत पाईसकेका छौं।’  

अध्यक्ष नेपालले विगतको अनुभवबाट पाठ सिक्नुपर्ने बताउँदै अगाडि थपे, ‘अब हामी सजक बनौं। सतर्क बनौं।’ उनले देशमा राजनीतिक ध्रुविकरण हुन जरुरी रहेको बताए। प्रतिगमन कि अग्रगमन? त्यसप्रति आफ्नो दृष्टिकोण क्लियर बनाउन आग्रह गर्दै उनले भने ,‘प्रतिगमनको पक्षमा उभिने को को? अग्रगमनको पक्षमा उभिने को को? ध्रुविकरण हौं ।’ नेपालमा प्रतिगमन सम्भव नभएको बताए। तर प्रतिगमन गर्ने दुस्प्रयासहरु भने बारम्बार भईरहेको र त्यससँग जनताले जुध्दै परास्त गर्दै आईरहेको बताए।

अध्यक्ष नेपालले राष्ट्रपति पनि एमालेको भए देश बर्बाद हुने बताए। सभामुख र राष्ट्रिय सभाको अध्यक्ष एमालेबाटै भइसकेकाले सन्तुलन मिलाउन पनि एमालेलाई राष्ट्रपति दिन नहुने उनको भनाई थियो। ‘राष्ट्रिय राजनीतिमा सन्तुलन मिलाउन जरुरी छ। सन्तुलन मिलाईयो भनेमात्र फेरी प्रतिगमन हुँदैन,’ उनले भने।

अध्यक्ष नेपालले सबैलाई स्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए। संविधानको रक्षा गर्ने, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको रक्षा गर्ने सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताउँदै उनले भने, ‘त्यो चाहे दलबाट होस् वा बाहिरबाट। तर अहिलेसम्म त्यस्तो व्यक्ति भेटिएको छैन।’ उनले सहमति नभई नेकपा एसले राष्ट्रपतिका लागि उम्मेदवारी नदिने स्पष्ट पारे। उनले भने,‘जितेपनि, हारेपनि हामी हावा तालमा उम्मेदवारी दिदैनौं। सहमति भयो भनेमात्र उम्मेदवारी दिन्छौं।’ 

अहिलेको नेपालको राजनीति तरल अवस्थामा रहेको उनले बताए। अहिलेको राजनीतिलाई खोलाको पानीसँग तुलना गर्दै उनले अगाडि भने, ‘खोलाको पानी ओरालोपनि बग्छ, उकालो छ भने गाह्रो गाह्रो मान्छ। पानी जम्मा भइसकेपछि फेरी आफ्नो बाटो खोज्छ ।अहिलेको राजनीतिपनि त्यस्तै हो। त्यसैले यो कता जान्छ हेर्दै जाऔं।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले बिचार मिल्ने दलहरुसँग सहकार्य, एकता र मोर्चा बनाउँदै जाने बताए। तर आफ्नो पार्टी कुनै अर्को पार्टीमा विलय भने नहुने स्पष्ट पारे। ‘कसैले कुनै दलसँग हाम्रो पार्टी नेकपा एस विलीन् हुन्छ भन्ने भ्रम पालेको भए त्यो फाले हुन्छ। तर बिचार, भावना र दिल मिल्ने परिवर्तनकारी, रुपान्तरण हुनेसँग सहकार्य, एकता र मोर्चा बनाउँदै जाने कुरा हुन्छ। त्यसका लागि अहिले दस्तावेज साटासाट गर्ने काम भईरहेको छ।’ अध्यक्ष नेपालले नेकपा एस अब आफ्नै शक्ति निर्माण गर्ने कार्यमा लाग्ने बताए। उनले अर्को कुनै पार्टीसँग एकता हुन्न कि भनेर कुद्दै हिंड्ने र एकता नभए आफ्नो भविष्य नदेख्नेहरुलाई पार्टीमा राख्ने पक्षमा आफू नभएको बताए।

प्रकाशित: ३ फाल्गुन २०७९ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App