राजनीति

उपराष्ट्रपतिसँग उत्तर कोरियाली राजदूतको भेट

काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुन सँग नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपतिसँग राजदूत हकले कान्तिपथ बहादुर भवनस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार अपरान्ह शिष्टाचार भेट गरेका हुन्।

भेटमा उपराष्ट्रपति पुनले नेपाल–उत्तर कोरिया सम्बन्ध धेरै घनिष्ट रहेको बताए। उनले दुई देशबीचको सद्भाव र सहकार्यको सम्बन्ध रहेको बताउँदै सम्बन्धलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए।  उत्तर कोरियाको दक्षिण प्योङगान र नेपालको भक्तपुरबीच भगेनी सम्बन्ध रहेको स्मरण गर्दै उपराष्ट्रपतिले सम्बन्ध सुधारमा जोड दिए। उनले उत्तर कोरियाका राष्ट्रपति किम जोन उन त्यहाँको वर्कस पार्टीको सर्वोच्च पद अध्यक्षमा निर्वाचित भएकोमा राजदूत हकमार्फत बधाई दिए।

उपराष्ट्रपतिसँगको भेटमा राजदूत हकले नेपाल उत्तर कोरियाको असल मित्र राष्ट्र भएको बताए। किम उत्तर कोरियाको राष्ट्रपति र वर्कस पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नेपालका राष्ट्रपतिले बधाई दिएको र बधाई दिएकोमा किमले धन्यवाद पत्र पठाएको स्मरण गर्दै राजदूत हकले ‘यो दुई देशबीचको घनिष्ट सम्बन्धको सूचक हो’भने।

 

प्रकाशित: ६ भाद्र २०७३ ०९:५१ सोमबार

उपराष्ट्रपतिसँग उत्तर कोरियाली राजदूतको