राजनीति

शीर्ष नेता सहमतिको साझा रोडम्याप तयार पार्दै

फाइल तस्बिर ।

काठमाडौं–मधेसी मोर्चा र कार्यदलबीच सोमबार मध्यरात भएको सहमतिमा साझा ‘रोडम्याप’ तयार पार्न संसद भवन नयाँ बानेश्वरमा सत्ता साझेदार दल र मोर्चाका शीर्ष नेताको सहभागी बैठक सुरु भएको छ। शीर्ष नेताहरुले सहमतिलाई अनुमोदन गरिसकेपछि लिपिवद्ध गरी सहमति पत्र सार्वजनिक हुने मोर्चाका एक नेताले जानकारी दिए।

हिजो मध्य रातसम्म बसेको कांग्रेस, माओवादी केन्द्र र मोर्चाको बैठकमा प्रदेशको संख्या र सीमानाबारे नेताहरुको मत बाँझिएको थियो । मोर्चाले पेश गरेको सर्तका अरु सबै बुँदामा सहमति कायम भएपनि प्रदेशको संख्या र सीमानाबारे मत बाँझिएकोले मंगलबार विहानको शीर्ष नेता बैठकले टुंग्याउने गरी सोमबार मध्यरात बैठक सम्पन्न भएको थियो।

संघीयताको विषयसँग जोडिएको प्रदेशको संख्या र सीमा कार्यदलले सामाधान गर्न नसक्ने एउटा पक्ष र अहिले सहमति पत्रमै यो कुरा उल्लेख गरिनुपर्ने अर्को पक्षबीच कार्यदल बैठकमा मत बाँझिएको थियो । ‘मगलबार बिहानको शीर्ष नेता बैठकमा सहमतिले लिखित स्वरुप पाउँछ,’ तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले भने,‘मागमा सहमतिपछि प्रधानमन्त्रीमा पुष्पकमल दहाललाई मतदान गर्ने बँुदा पनि लिपिबद्ध हुन्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका शीर्ष नेताबीच संसद भवनमा सहमतिलाई अन्तिम रुप दिन कसरत जारी छ।

 

प्रकाशित: १८ श्रावण २०७३ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App