राजनीति

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आज भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, नेपाल चीन सम्बन्धका विभिन्न आयामबारे कुराकानी भएको थियो।

अध्यक्ष दाहालले वर्तमान राजनीतिक घटना क्रमबारे प्रष्ट्याउँदै अब केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने विश्वास व्यक्त गरे। उनले आफ्नो नेतृत्वमा अब बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता एवम् शान्ति, पुनःनिर्माण र विकासलाई तीव्रताका साथ आगाडि बढाउने बताएको अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सो अवसरमा अध्यक्ष दाहालले पछिल्लो चरणमा आफूहरुसमेत सहभागी सरकारले चिनियाँ सरकारसँग गरेका सन्धि, सम्झौता र समझदारी आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका सहमतिकै परिणाम भएको बताएका थिए।

उनले अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धि, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने बताए। उक्त भेटका क्रममा राजदूत चुन्ताईले अब बन्ने सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताएका थिए।

उनले अब बन्ने सरकारमार्फत नेपालको विकासको निम्ति चिनियाँ सरकारको पूर्ण साथ, सहयोग र समर्थन रहने उल्लेख गरेका थिए। रासस

 

प्रकाशित: १४ श्रावण २०७३ ०७:२७ शुक्रबार

अध्यक्ष दाहाल चिनियाँ राजदूतबीच भेटवार्ता