राजनीति

दुई केन्द्रीय सदस्यलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस, चुनावमा अन्तरघात गरेको आरोप

गणेश लामा र मधुप्रसाद आधार्य।

निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको र अन्तरघात गरेको आरोपमा नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र एक क्षेत्रीय सभापतिलाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ।

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारहरु शिवप्रसाद हुमागाईं र तीर्थ लामालाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय सदस्यद्वय मधुप्रसाद आधार्य, गणेश लामा र क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई अनुशासनको कारबाही गर्न सिफारिस गरिएको कांग्रेस काभ्रेले जनाएको छ।

जिल्ला सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यद्वय आचार्य, लामा र प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति खरेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाही गर्न सिफारिस गरेको बताएका छन्।

काभ्रे २ मा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शिवप्रसाद हुमागाईं नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटासँग पराजित भएका थिए। तर प्रदेश सभामा तीर्थ लामा विजयी भएका थिए।  हुमागाईं र लामालाई भोट नमागेर विपक्षी उम्मेदवारलाई भोट मागेको उनीहरुमाथि आरोप छ।

प्रकाशित: ३ पुस २०७९ ०४:५२ आइतबार

नेपाली कांग्रेस