राजनीति

प्रधानमन्त्रीले संसदमा बोल्दैमा अवरोध हट्दैनः केसी

काठमाडौं–नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रमुख प्रतिपक्षी नेपाली काग्रेससँग सहमति नगरी प्रधानमन्त्रीले संसदमा बोल्दैमा अवरोध नहट्ने जिकिर गरेका छन्।
रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘भूकम्प पीडितलाई अनुदान वितरण गर्ने कार्यविधि कांग्रेसकै पालामा बनेपनि त्यसलाई संशोधन गरेर अघि बढ्नु पर्छ। त्यसकालागि काग्रेससँग सरकारले छलफल गर्नै पर्छ। काग्रेससँग छलफल नगरी निकास निस्कदैन। नभए संसद अवरोध लम्बिएर जान्छ।’
केसीले संविधानको कार्यान्वयनकालागि राष्ट्रिय सहमतिको आवश्यकता रहेकोले आफूहरु सहमतिको सरकारको पक्षमा रहेको स्पष्ट पार्दै सहमतीय सरकारको नेतृत्वमा काग्रेसको दाबी रहेको बताए।
उनले बर्तमान सरकारमा कुनै पनि हालतमा कांग्रेस सहभागी नहुने  भन्दै  कांग्रेस अहिले सहभागी भए नौ महिना अघि गरेको निर्णय गलत ठहरिने भएकोले आफूहरु त्यसमा तयार नरहेको बताए।
उनले भने, ‘त्यही बेला काग्रेसलाई सरकारमा ल्याएको भए हुन्थ्यो । अहिले गएर विगतमा गल्ती भयो भनेर स्विकार्ने पक्षमा काग्रेस छैन।’
केसीले संविधान कार्यान्वयनकोलागि निर्वाचन अपरिहार्य भएकोले काग्रेस निर्वाचनसँग नडराउने स्पष्ट पार्दै पुर्नसंरचना आयोगको रिपोर्ट नआएको र मधेसको सीमांकनको माग पुरा नभएको अवस्थामा चुनावले समाधान भन्दा पनि समस्या पार्ने दाबी गरे।
उनले भने, ‘सहमति गरेर चुनाव गर्नुपर्छ। एकलौटी ढंगले चुनाव हुन सक्दैन । सहमति गरौं तीन वटै निर्वाचन एकै चोटी गर्न सकिन्छ।’
केसीले मधेसी मोर्चाले भने जस्तो संविधानको पुर्नलेखनको अधिकार कसैसँग नभएको नभएकोले त्यो पूरा हुन नसक्ने भन्दै संशोधनको बाटोबाट मात्रै अघि जान सकिने धारणा राखे।
उनले सरकारले बनाएको कुनै पनि बार्ता टोलीमा काग्रेस सहभागी नहुने स्पष्ट पार्दै वार्ताकालागि दलीय बार्ता टोली बनाउनु पर्ने धारणा राखे।

 

प्रकाशित: ११ असार २०७३ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App