राजनीति

राजनीतिमा फड्को मार्नका लागि एमाले-कांग्रेसको संयुक्त सरकार बन्नुपर्छ: गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्नुपर्ने बताएका छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी गच्छदारले कांग्रेस र एमालेको संयुक्त सरकार बन्नुपर्ने बताएका हुन्।

उनले पार्टीको संयुक्त प्रयासबाट राजनीतिक परिवर्तन संभव भएजस्तै राजनीतिक स्थायित्व र विकास पनि दुबैपार्टीको संयुक्त प्रयासबाट संभव हुने भएकाले कांग्रेस एमालेको संयुक्त सरकार आवश्यक रहेको बताए।

गच्छदार भन्छन्, ‘राजनीतिक परिवर्तनका सहयात्री दलहरूले राजनीतिक स्थायित्व र विकासमा फड्को मार्नका लागि एक पटक संयुक्त सरकार बनाएर उदाहरण प्रस्तुत गर्नुपर्छ।’ गच्छदारले ७ पटक निरन्तर जितेर यो पटक हार बेहोर्नु परेपनि जनताले आफूलाई सम्मानजनक मत दिएर न्याय गरेको बताए।

गच्छदारले आफू संसदमा नरहेपनि स्थिर सरकारका लागि काठमाण्डौं गएर पहल गर्ने स्पष्ट पारे। 

गच्छदारले निर्वाचनमा दलहरूले पाएको मत परिणामले देश अस्थिरता तर्फ जाने हो की भन्ने चिन्ता बढाएको बताए। बारम्बार सरकार परिवर्तन भइरह्यो भने स्थिरता, आर्थिक विकास संभव नहुने भएकाले देशका लागि स्थिर सरकार आवश्यक रहेको गच्छदारको भनाई छ। उनले राजनीतिक स्थिरता नभए प्रजातान्त्रिक पद्धतिलाई नै असर पार्ने बताए।

प्रकाशित: २२ मंसिर २०७९ १२:५५ बिहीबार