फोटो फिचर

हिलोमा बिदेशीको लडिबुडी (तस्बिरसहित)

पोखराको हेम्जामा आयोजित रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटक र स्थानीय। तस्बिरः उमेश पुन/नागरिक

‘पोखरा सबै मौसमका लागि’ भन्दै आयोजना हुने रोपाँइ महोत्सव यो पटक पोखरा–२५ हेम्जामा आयोजना गरिएको छ। पोखरामा हरेक वर्ष फरक फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गर्ने यो महोत्सवको १७ औं संस्करण हो। खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ वर्षेनी यस्तो महोत्सव आयोजना गर्दै आएको परिषद्का अध्यक्ष गोपि भट्टराईले बताए। २०६१ साल देखि परिषद्ले वर्षेनी यो महोत्सव आयोजना गर्दै आएको छ।

पोखरा–२५, माइस्थानस्थित रामबहादुर कुंवर, तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्णबहादुर कुवर, मैना केसी र प्रकाश पौडेलको  करिब १० रोपनी क्षेत्रफल खेतमा यो पटकको रोपाइँ महोत्सव आयोजना गरिएको उनले बताए।  

‘मुख्य बालीको रुपमा परिचित धान खेती हुने क्षेत्रफल अहिले घटिरहेको छ। पोखरा र आसपासका फाँटमा अहिले धानखेती गर्न छाडेर घर बनाउन थालिएको छ,’ उनले भने, ‘अब धान खेती हुने क्षेत्र देख्न पनि नपाउने अवस्था छ। सकेसम्म ती क्षेत्रलाई जोगाउन पनि यस्ता कार्यक्रमले सघाउने अपेक्षा हो।’ परिषद्ले यस्तो गतिविधि हरेक वर्ष फरक फरक फाँटमा आयोजना गर्दै आएको छ।

अध्यक्ष भट्टराईका अनुसार हेम्जाको महोत्सवमा रमाउन करिब डेढसय जनाजति विदेशी पर्यटक पनि पुगेका थिए। ‘कोरोना संक्रमणपछिको अवस्थामा केही संख्यामा विदेशी पर्यटक भिœयाउन सकियो। अहिलेको अवस्थामा यो संख्या पनि ठुलै हो,’ उनले भने।  

पोखरा महानगरभित्र ११  हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। महानगरभित्र हाइब्रिड धानले १५ प्रतिशत मात्र हिस्सा ओगट्छ। अरु सबै स्थानीय जातको धानखेती हुन्छ। त्यसबाहेक जेठोबुढो ४० प्रतिशत र अन्य उन्नत ४५ प्रतिशत र बाँकी हाइब्रिडको खेती हुने गरेको छ। महानगरभित्र मात्र ३९ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ। गण्डकी प्रदेशमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। गण्डकी प्रदेशमा वर्षमा करिब साढे ३ लाख टन धान खेती हुन्छ।

मेला संयोजक पोमनारायण श्रेष्ठका अनुसार प्रतियोगितामा साउने प्रतियोगिता (हलगोरुको दौड), आमा समुहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समाउने, हिलो दौड, पर्यटक दौड, रस्साकस्सी, लगायतका रमाईला कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रकाशित: १५ असार २०७९ ०९:४३ बुधबार

बिदेशीको लडिबुडी पोखरा