समाज

विराटनगरमा देखिएन छठको रौनक

तस्बिरः चुमन/नागरिक

कोरोना भाइरसको संक्रमणका कारण यस पटक विराटनगरमा छठ पूजाको रौनक देखिएन। विगतमा सिंघिया खोला, केसलिया खोला, नहर र पोखरी सिंगारेर झकिझकाउ बनाउने गरिएकोमा यस वर्ष त्यो दृश्य देखिएन।

विराटनगर नगर क्षेत्रभित्र छठ पूजाका लागि ठाउँ ठाउँमा गेट बन्थ्यो, पूजा समिति गठन हुन्थ्यो, खोला र नहरलाई महानगरपालिकाले सरसफाइ गर्थ्यो। बजारमा किनमेल गर्नेको अत्यधिक भीडभाड हुने गथ्र्यो। तर यस वर्ष भने कोरोना महामारीका कारण स्थानीय प्रशासनले सार्वजनिक स्थलमा छठ पूजा गर्न रोक लगाएपछि पूजाको रौनक घरमै सीमित भयो। विराटनगर क्षेत्रभित्र अधिकांशले घरभित्रै कुण्ड बनाएर पूजाआजा गरेका छन्।

नगरको पूर्वमा रहेको सिंघिया खोला, पश्चिमको केसलिया खोलामा थोरैको संख्याले पूजा स्थल बनाएका थिए भने केही बढी नहरमा देखिएको थियो।

यहाँका स्थानीहरूले यस पटक छठ पूजा खोलामा गर्न नपाउँदा खल्लो भएको बताउँछन्। विराटनगर–११ का रामनरेश साहले भने, ‘यस पटक विगतका वर्षको जस्तो पूजा नहुँदा पर्व नै खल्लो भयो।’ विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विगत वर्षमा ३ किलोमिटरको दण्डप्रमाण यात्रा गर्दै पूजा स्थाल खोला पुग्ने गरेका थिए। तर, उनको १७ औं दण्डप्रमाण यात्रा आफ्नै कोठेबारीसम्म मात्रै सीमित भयो। पराजुलीले घरबाट बारीमा बनाएको कुण्डसम्म दण्डप्रमाण यात्रा गरी अस्ताउँदो सूर्यलाई अर्घ दिए।

प्रकाशित: ५ मंसिर २०७७ १३:३० शुक्रबार