यमुना पराजुली अधिकारी
नानीबाबुहरू तपाईंहरूले योग ध्यान अनि व्यायाम कतिको गर्ने गर्नुभएको छ । मैले थोरै नानीबाबुहरूले बिहान आफ्ना अभिभावकहरूसँग मर्निङ वाकमा निस्केको देखेकी छु भने केही बालबालिकाहरू घरमै आमाबुवा, दाजुदिदीहरूसँग म्युजिक बजाएर डान्स गरेको पनि देखेकी छु । यो राम्रो कुरा हो । हामीलाई बिहानबिहानै यसरी कसरत गर्दा धेरै कुराको फाइदा हुन्छ । शरीर निरोगी हुनुको साथसाथै फिट र आकर्षक पनि देखिन्छौ हामी । तर भाइबहिनीहरूलेयोग र ध्यान गरेको हामी विरलै देख्न सक्छौ ।
नानीबाबुहरू बिहान उठेर नाच्नु र दगुर्नु यसको छुट्टै फाइदा छ भने योगको छुट्टै । योग श्वासप्रश्वासको उचित संचालनबाट गरिने हुनाले यसले हामीलाई भित्रदेखि नै स्फुर्त बनाउँछ । सामान्यतया हामीले बच्चाहरूले योग गरेको देख्दैनौ । तर बाल्यकालदेखि नै योग गरे आजीवन त्यसले लाइफ सहज बनाउँछ ।
हामीले चलनचल्तीमा योग भन्ने गरे पनि यसभित्र तीन मुख्य पक्ष समेटिएको हुन्छ । ती हुन आसन , प्राणायम र ध्यान । आसनहरूको अभ्यासले शरीर तन्दुरुस्त राख्छ । योगको भाषामा यो शारीरिक व्यायाम सरह हो ।
बालबालिकाहरूले सामान्यतः सूर्य नमस्कार आसन को अभ्यास गर्नु पर्याप्त हुन्छ । नानीबाबुहरूले गुरुको सल्लाह वा उपस्थितिविना आसन गर्नु हुन्न । त्यस्तै प्राणायामको काम शरीरका आन्तरिक अंगहरूको प्रशोधन हो ।बालबालिकाले ३र३ मिनेट अनुलोमविलोम, कपालभाति, भस्त्रिका र भ्रामरी प्राणायम गरे पुग्छ ।
यो सबै सकेपछि ध्यान गर्नुपर्छ । पद्मासन, सुखासन वा सिद्धासनमा बसेर मन शान्त भएर रहनु नै ध्यान हो । ध्यानले बालबालिकालाई ज्यादा चञ्चल हुनबाट बचाउँछ, मस्तिष्क सक्रिय बनाउँछ र स्मरणशक्ति बढाउँछ । लकडाउनका बेला अनलाइन कक्षाहरुले गर्दा बालबालिकाको बढी समय कम्प्युटर र मोबाइलमा बित्ने गर्छ । यस्तो बेला उनीहरूको एकाग्रता बिथोलिने भएकाले साथै चिडचिडापन पनि बढ्ने हुँदा ध्यान गर्नु अझ बढी जरुरी छ ।
हामी अभिभावकले पनि नानीहरूसँगै योग ध्यान गरौ । हामीले सिकाएकै कुरा हो हाम्रा नानीबाबुहरूले सिक्ने । नानीबाबुसँगै योग गरे उनीहरूले पनि सिक्नेछन र आफू पनि स्वस्थ्य भइने छ । त्यसैले योग ध्यान गरौ । हामी आफू पनि निरोगी बनौ र हाम्रा नानीबाबुलाई पनि निरोगी बनाऊ ।
प्रकाशित: २८ जेष्ठ २०७७ ०५:५३ बुधबार