एरिका प्रजापति
कक्षा ः ८
डी.ए.भी स्कुल, ललितपुर
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन हामी लकडाउनमा बसेका छौं । लकडाउनमा बस्दाबस्दै प्रि मनसुनको छनक देखिइसकेको छ । मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन साधारणतया हिन्द महासागरबाट बंगालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्छ । मनसुनको वायु समुद्रबाट बहने भएकाले त्यसमा पानीको मात्रा धेरै हुन्छ । यसकारण, विभिन्न ठाउँमा वर्षा पनि हुन्छ । मनसुन नेपालमा असार–साउन महिनातिर हुन्छ । मनसुन सुरु भएपछि देशका धेरै ठाउँमा वर्षा हुन्छ ।
नेपालका ८० प्रतिशत मानिस खेतीपाती गर्छन् । नेपाललाई कृषिप्रधान देश पनि भनिन्छ । किसान मनसुन कुरेर बस्छन् । उनीहरूका लागि मनसुनले ल्याउने वर्षा उपहार जस्तै हुन्छ । मनसुन सुरु हुँदा स–साना बालबालिका पनि खुशी हुन्छन् । धेरै जसो बालबालिका पानीमा खेल्न रुचाउँछन् । बालबालिका बाहेक हाम्रो प्रकृति पनि खुशी हुन्छ । बोटबिरुवा पनि रमाउँछन् । ती चाँडो बढ्छन् । अझ हाम्रो देशमा त मनसुनमा वर्षा होस् भनेर हरेक वर्ष रातो मछिन्द्रनाथको जात्रा पनि मनाइन्छ ।
मनसुनमा तीज लगायत विभिन्न चाडपर्वहरूले पनि खुसीको माहोल बनाउँछन् । कहिलेकाहीँ मनसुनले मानिसको मनमा डर र त्रास भित्राउँछ । भारी वर्षाका कारण केही ठाउँमा बाढी आउँछ । राम्रोसँग पूर्व तयारी गरियो भने यसलाई रोक्न सकिन्छ ।
मलाई पनि मनसुन मनपर्छ । मनसुनमा बहने चीसो हावाको मज्जा नै बेग्लै हुन्छ । वर्षा हुँदा पनि पानीको सुगन्ध सुघौंसुघौं लाग्ने खालको हुन्छ । अझ रेनकोट र गम्बुट लगाउँदा असाध्य रमाइलो हुन्छ । मेरा लागि मनसुन केवल एउटा मौसम मात्र होइन, मनसुन एउटा भावना हो जुन शब्दमा बयान गर्नै सकिन्न ।
झम्झम पानी पर्दाको आवाज, पानी परेपछिको नीलो आकाश, भुइँबाट उड्दै उड्दै डाँडालाई ढपक्क ढाक्ने भुइँकुहिरो र चारैतिरको हरियाली वातावरणले मन्त्रमुग्ध बनाउँछ । जता हेरे पनि हरियाली हुन्छ । त्यसैले पनि मलाई मनसुनी याम मन पर्छ ।
मनसुनमा देखिने मनमोहक इन्द्रेणी हेरौहेरौं लाग्छ । ऐतिहासिक फर्पिङ हाइड्रो पावरमा जम्मा गरिएको पानीले बिजुली निकालेर बस्ती नै उज्यालो बनाइन्थ्यो भन्ने सुनेकी छु । मनसुनी पानीले जलविद्युत आयोजनाको उत्पादन क्षमता पनि बढ्छ ।
बर्खामासमा पशुपन्छी पनि रमाउँछन् । मनसुनमै त हो किसानले रोपाइँ गर्ने, रोपाइँमा माटोको सुगन्ध पाइन्छ । पानीमा रुझ्दै, माटोमा लडिबुडी खेल्दै रोपाइँ गर्नुको मज्जा बेग्लै हुन्छ ।
अन्त्यमा, अहिले नेपालमा पनि कोरोनाको जोखिम बढ्दै गइरहेको छ । त्यसैले साथीहरू हो, बेलाबेलामा साबुनपानीले हात धोऔं । घरमै बसौं । परिवारसँग घरायसी काम सिकौं । सृजनात्मक काममा पनि मन दिऔं । सबैलाई शुभकामना !
प्रकाशित: ३१ वैशाख २०७७ ०४:५७ बुधबार