नौ दशक छुनै लागेका कालु कुमालेको इच्छा छ, ‘भगवान्को नाम लिँदालिँदै, हातले भगवान्का मूर्ति बनाउँदाबनाउँदै परलोक हुन पाऊँ।’
कालु मूर्तिकला लागेको झन्डै सात दशक नाघ्यो। यो हिउँदमा पनि उनी मूर्तिलाई आकार दिन तल्लीन छन्। गत साता दिउँसो ललितपुरको हात्तीवनस्थित आफ्नो घरको आँगनमा पारिलो घाम ताप्दै उनी मैनलाई मूर्तिमा ढाल्दै थिए।
उनको परिवार (प्रजापति)को पुख्यौली पेसा माटोका भाँडा बनाउने हो। आमाबुवाले माटोलाई आकार दिएको देखेर हुर्केका उनी अन्ततः मूर्तिकार भए। केटाकेटीमा उनी माटोमा फनफनी घुमिरहेको चक्र हेरेर रमाउँथे।
उनी ६–७ वर्षका थिए। बुवाले माटोका भाँडा बनाएको हेरिरहेका थिए। उनलाई बुवाले भने, ‘त्यसै बसेर के हेरिरहेको ? अलिकति भए पनि माटो लिएर केही बनाउने कोसिस गरे पो सिकिन्छ।’
त्यसपछि उनले अलिकति माटो हातमा लिए, तर के बनाउने भन्ने भेउ पाएनन्। बुवाले फेरि भने, ‘माटो खेलाएर मात्र हुन्छ ? बाराही (आफूहरूको कुलदेवता) बना।’
केही समय लगाएर उनले माटोलाई बाराहीको आकृति दिने कोसिस गरे। ठुल्ठूला आँखा, रिस र क्रोधले भरिएको अनुहारसहितको बाराहीको मूर्ति बन्यो। त्यो देखेर उनका बुवा खुसी भए। यसरी उनी मूर्ति बनाउने कर्ममा होमिए। सुरुवाती समयमा माटोबाटै उनले बाराही, कुमारी, ब्रह्मायणी, महेश्वरी, इन्द्रायणी, वैष्णवी, महालक्ष्मी, चामुण्डा, महाकाली, गणेश, भैरव, सिंघिनी, व्याधिनीका मूर्ति बनाए।
आफूले बनाएका मूर्तिहरू उनले आफ्ना साथीभाइलाई एक–दुई पैसामा दिन्थे। साथीभाइले उनका मूर्तिहरू स्थानीय बजारमा बेच्न लैजान्थे। यही क्रममा एक व्यापारीले उनका साथीहरूलाई भने, ‘यो मूर्ति बनाउने मान्छेसँग मेरो भेट गराइदेऊ।’ ती व्यापारीले कालुलाई भेटे। मूर्ति बनाउनमा कालुको अद्भुत प्रतिभा देखेपछि उनले सुझाए– माटोको सट्टा मैनका मूर्ति बनाऊ।
कालु भन्छन्, ‘मसँग मैन थिएन। तर ती व्यापारीले सबै सामान उपलब्ध गराउने भनेपछि मैले मैनका मूर्ति बनाउन थालेँ।’
मैनका मूर्ति बिक्री भए मात्रै उनले पैसा पाउँथे, नत्र पाउँदैनथे। ती व्यापारीले मूर्र्ति बेचेर थोरै पैसा उनलाई दिन्थे। १५ वर्षमै दोस्रो बिहे गरेका कालुलाई घरखर्च चलाउन गाह्रो भयो। यसपछि उनी बाघचालका गोटी र माटामा कपास मिसाएर मुखुण्डो बनाउने काममा लागे। यसबाट पनि उनको दैनिकी चल्न हम्मे प-यो। त्यसपछि उनी परालको जुत्ता बनाउनतिर लागे। जुत्ता छिटो बिक्री हुने र छिटै पैसा आउने भएकाले केही समय त्यसैमा रमाए। यो पेसासँगै उनले घरको खेतबारीको काममा पनि सघाउँथे।
चीन र तिब्बतबीचको युद्धमा धेरै तिब्बती गुम्बामा तोडफोड भयो। कालुलाई टुटे–फुटेका मूर्र्ति बनाउन भनियो, राम्रो पारिश्रमिक दिएर। संघरत्न शाक्यमार्फत उनलाई भेट्न तिब्बतका मानिसहरू आएका थिए। राम्रै पारिश्रमिक आउने भएपछि पुनः उनी मूर्ति बनाउने पेसामा फर्किए।
बौद्ध गुम्बाबाट ल्याइएका टुटे–फुटेका मूर्ति क्रोधित मुद्राका थिए। गुम्बाका मूर्ति धेरै हात भएका र क्रोधित हुन्थे। उनको मन पनि उस्तै बेचैन हुन्थ्यो। उनी भन्छन्, ‘त्यतिबेला युद्धको मारमा भगवान् पर्नुभयो। आक्रोश, भीड र क्रोधको मार भगवान्लाई किन ?’
टुटे–फुटेका मूर्तिलाई नबनाउँदासम्म उनी दुःखी हुन्थे तर काम सकिएपछि भने उनलाई बेग्लै आत्मसन्तुष्टि मिल्थ्यो। ‘त्यति बेला निकै कम समय सुतेर मैले काम गर्थें। पैसा तुरुन्तै आउँथ्यो, खर्च भइहाल्थ्यो। पैसा बचे साथीलाई लिएर फिल्म हल गइन्थ्यो,’ विगत सम्झँदै कालु फिस्स हाँस्छन्।
६ सयभन्दा बढी मूर्ति बनाएका कालुका कति मूर्तिहरू देशसँगै तिब्बत, जापान, रुस, कोरिया, इटाली, जर्मनी, सिंगापुर, ताइवान, भुटान, फ्रान्स, मंगोलिया, थाइल्यान्ड, इन्डोनेसिया, स्विट्जरल्यान्ड, बेलायत, चीन, अमेरिका, भारतलगायत देशमा पुगेका छन्।
उनी राज्यले सम्मान गरेका कलाकार हुन्। २०७३ सालमा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उनले ‘क्रोधकला शिरोमणि’को उपाधि पाएका छन्।
१९९० सालमा ललितपुरको महाबौद्धमा जन्मिएका उनको खास नाम कालुदक्ष प्रजापति थंकु हो। यो उमेरमा पनि उनी मूर्तिसँग रमाइरहेका छन्।
प्रकाशित: ११ माघ २०७६ ०३:५१ शनिबार