अन्य

पदयात्रामा मनहरूको एकीकरण

पृथ्वीनारायण शाहले भूगोल मात्र होइन, मनहरूको पनि एकीकरण गरेको इतिहासविद्हरू  बताउँछन्। यसको झल्को पृथ्वीनारायण शाह र उनको टोली हिँडेको बाटो पछ्याउँदै निस्केको ‘एकीकरण पदयात्रा’मा  देखियो।

नुवाकोटबाट आएको जबरजंगको टोलीलाई स्वागत गर्न ककनीमा आयोजित कार्यक्रममा उपस्थित सर्वसाधारण र सेनाबीचको नाचगानले उत्सवको रूप लिएको थियो। सेनाको टोली र स्वागतमा बसेका सर्वसाधारणको समावेशी सहभागिताले  माहोल निकै सदभावमय बनेको थियो। बालिकाले बाजा बजाउने नेपाली सेनाका एक सिपाहीलाई माला लगाइदिएकी थिइन्।

ककनीबाट करिब १५ किलोमिटर अगाडि  नुवाकोट–काठमाडौंको सीमाक्षेत्र पाँचमानेमा झनै रोमाञ्चक दृश्य देखियो। पृथ्वीनारायण शाहकालीन कालो पोसाकमा सजिएका सेनालाई रातो पहिरनमा सजिएका पञ्चकन्याले पूmलमाला लगाइदिए। महिलाहरूले नौमती बाजा बजाउँदै उनीहरूलाई स्वागत गरे।  पञ्चकन्या र नेपाली सेनाले लोकलयमा  भाका मिलाउँदै नाचे। यो नाच हेर्ने रमितेहरूको अनुहार खुसीले धपक्कै बलेको थियो।

‘एकीकरण पदयात्रा’ मा सहभागीलाई गोरखाबाट काठमाडौं भित्रिँदासम्म ठाउँठाउँमा स्थानीयले स्वागत गरेका थिए। स्थानीय जनप्रतिनिधि, समाजसेवी र स्थानीयले ठाउँठाउँमा स्वागतद्वार बनाएर टीका, खादा र माला लगाइदिँदै एकीकरण पदयात्रीको स्वागत गरेका थिए।

‘नेपाली सेनाको पवित्र चाहनालाई साथ दिन हामी यहाँ आएका हौँ,’ तारकेश्वर–३ का वडाध्यक्ष मनोहरि तिवारीले भने, ‘यसले समाजमा एकता र सदभाव बढाउँछ।’

प्रकाशित: २६ पुस २०७६ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App