अन्य

तोला ल्होसार अर्थात् तमु ल्होसार

डा. ओम गुरुङ

गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार। ‘ल्हो’ले वर्ग अथवा वर्ष र ‘सार÷छार’ले नयाँ भन्ने बुझाउँछ। गुरुङहरूले विगत २६०३ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको दाबी त गर्छन्, तर कहिलेदेखि यो पर्व मनाउन थालियो भन्ने यकिन इतिहास छैन।

हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ। पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन्। ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन्। ती सबै विभिन्न पशुपक्षीका नाममा राखिएको हुन्छ। हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ। यो चिनियाँ पात्रोमा आधारित हुन्छ। यसपालि ‘च्यू ल्हो’ अर्थात् मुसा वर्ग परेको छ। गुरुङको हरेक शुभ÷अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ।

पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ। त्यसपछि दिन लामो र रात छोटो हँुदै जान्छ। दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष सुरु हुने दिनका रूपमा मनाउन थालेका हुन्। नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन्।

कृषि बाली स्याहार्ने पर्वलाई ल्होसार पर्वमा रूपान्तरण गरियो, जसलाई तोला ल्होसार भनिन्छ। अहिले गुरुङले आफूले मनाउँदै आएको ल्होसारलाई तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन्। यो नामाकरण उनीहरूले गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ।

ल्होसार कृषिसँग सम्बन्धित छ। तिब्बतमा इसापूर्वको सातौँ शताब्दीतिर बुद्ध धर्म प्रवेश हुनुअगाडि भिन्न रूपमा ल्होसार मनाउने गरेको इतिहास पाइन्छ। तिब्बतमा किसानहरूले वर्षे बाली स्याहार्ने बेला कृषि बाली पर्व (हार्भेस्ट फेस्टिभल) मनाउने गर्थे। पछि त्यही पर्वलाई ल्होसारमा रूपान्तरण गरियो। त्यस सन्दर्भमा यो पर्व किसानको पर्व हो, जसलाई तोला ल्होसार भनिन्छ। आजसम्म प्राप्त ऐतिहासिक स्रोत अनुसार, नेपालमा गुरुङको आगमन चीनबाट तिब्बत हँुदै ईसाको पहिलो शताब्दीतिर भएको देखिन्छ। त्यतिबेला गुरुङहरू बोन धर्ममार्गी अर्थात् प्रकृतिपूजक थिए। त्यतिबेलैदेखि गुरुङहरूले पनि ल्होसार मनाउँदै आइरहेका थिए भन्ने अनुमान गरिन्छ।

फरक–फरक समुदायले मनाउने ल्होसारको नाम पनि फरक–फरक छन्। गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ। तर, अहिले गुरुङले तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन्। यो नामाकरणबाट उनीहरूले यस पर्वलाई गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ। तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा लगायत हिमाली समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ।

मौसम अनुसार ल्होसार
तामाङ, शेर्पा र अन्य हिमाली समुदायले पनि ल्होसार भव्य रूपमा मनाउँछन्। तर, उनीहरूले मनाउने ल्होसारको समय भने फरक छ। गुरुङले पुसमा, तामाङले माघमा र शेर्पाले फागुनमा मनाउँछन्। सायद मौसमका कारण यसरी फरक–फरक महिनामा ल्होसार मनाए होलान् भन्ने मेरो अनुमान छ। शेर्पाहरू माथि हिमालमा बस्ने हुँदा पुसमा त्यहाँ अति जाडो हुन्छ। त्यसैले उनीहरूले अलि न्यानो महिना फागुनमा ल्होसार मनाए होलान्। तामाङहरू शेर्पाभन्दा अलि तल उच्च पहाडी भेगमा बस्ने हुँदा जाडो अलि कम हुने महिना माघमा ल्होसार मनाए होलान्। त्यस्तै, गुरुङहरू तामाङभन्दा पनि अझै तल पहाडि कछाडतिर बस्ने हुँदा त्यहाँ माथि हिमालमा भन्दा अलि कम जाडो हुने हुनाले उनीहरूले पुसमा ल्होसार मनाउन सुरु गरे होलान्।

म नेपाल आदिवासी जनजाति महासंघको महासचिव हुँदा (२०६०–२०६३) ल्होसार पर्वमा सार्वजनिक बिदा दिने सन्दर्भलाई लिएर नेपाल सरकारसँग वार्ता गरेका थियौँ। कतिवटा ल्होसारलाई सार्वजनिक बिदा दिने भनी सरकारले ल्होसारमा बिदा दिन आनाकानी गरेपछि महासंघका तत्कालीन प्रमुख सल्लाहकार स्व. डा हर्क गुरुङको पहलमा गुरुङ, शेर्पा र तामाङबीच सबैले एउटा महिना र एउटा दिन निश्चित गरी ल्होसार एकैचोटि संयुक्त रूपमा मनाउनेबारे छलफल भयो। सहरी क्षेत्रमा बस्ने गुरुङ, शेर्पा र तामाङका लागि एकै महिना एकै दिन ल्होसार मनाउन सम्भव र व्यावहारिक भए पनि मौसमका कारण हिमाल, पहाड र लेकमा बस्ने शेर्पा, तामाङ र गुरुङका लागि एकै महिना र एकै दिन ल्होसार मनाउन  व्यावहारिक भएन। त्यसैले संयुक्त रूपमा एउटा ल्होसार मनाउने पहल सफल हुन सकेन। तर, त्यतिबेला जनजाति आन्दोलन बलियो भएकाले तत्कालीन तमु छोजधींको पहलमा सरकारले ल्होसार पर्वमा सार्वजनिक बिदा दिन बाध्य भएको थियो। अहिले जनजाति आन्दोलन कमजोर भएका कारण ल्होसार लगायत सबै जातिका पर्वमा सरकारले दिँदै आएको सार्वजनिक बिदा कटौती भएको छ। यसबाट जनजातिको पहिचानमा ठेस पुगेको छ।

कामबाट फुर्सद र आफन्त भेटघाट

ल्होसार पर्वलाई कृषि र पशुपालनसँग जोडेर हेर्ने हो भने यसको निकै महŒव छ। पहिले–पहिले गुरुङहरू वनमा सिकार खेल्थे। प्राकृतिक स्रोतमा आफ्नो जीविका निर्वाह गर्थे। बिस्तारै खेतीपातीसँगै पशुपालन तथा अन्य व्यवसाय सुरु भयो। मानिस वर्षभरि काममा व्यस्त हुने र कृषि याममा समय नहुने हँुदा हिउँदको फुर्सदमा दाजुभाइ, छोरीचेली, इष्टमित्र, छरछिमेकी, साथीभाइ सबै एकै ठाउँमा भेला भएर खाने, बस्ने र रमाइलो गर्न थालेपछि यो पर्वले व्यापकता पाउन थालेको हो।

यस पर्वमा पारिवारिक भेटघाट मात्र नभएर सामाजिक भेला पनि हुन्छ। दुःख–सुखका कुरा एक–अर्कामा बाँड्छन्। समाजमा गर्नुपर्ने कामबारे पनि त्यही भेलामा छलफल हुन्छ। गाउँघरमा यही मौका पारेर मेला लाग्छ। मेलामा आफूसँग भएका सीप–कलाको प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका वस्तुको वस्तु विनिमय गर्ने, ठेलो फाल्ने, धनुसबाण हान्नेजस्ता खेल खेल्ने तथा गुरुङको पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ।

पितृपूजा
यो पर्वमा विशेष कर्मकाण्ड केही हुँदैन। बिहान सबेरै उठेर नुहाइधुवाइ गरी चोखो भएर कुलदेवता (पितृपूजा) गरिन्छ। मिष्ठान्न भोजन बनाएर पितृलाई चढाइन्छ। घर सरसफाइदेखि ध्वजा (लोंदर) फेर्ने काम हुन्छ। यी कुराले पनि गुरुङको नयाँ वर्ष आएको रहेछ भन्ने देखाउँछ। दिउँसो भने आफूलाई मनपर्ने परिकार बनाएर परिवारका सदस्य, इष्टमित्र, साथीभाइ चेलीबेटीसँगै बसेर खाने गरिन्छ। खानामा विशेषतः गुरुङहरूको सेलरोटी नै हो। यसबाहेक अहिले चिसो मौसम भएकाले मौसमअनुकूल न्यानो हुने झोलिलो पदार्थ, कन्दमूल–तरुल, पिँडालु, सखरखण्ड, मासुका परिकार लगायत पौष्टिक आहार खाने चलन छ।

सांस्कृतिक महत्व
तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ। यसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ। त्यसकारण यस पर्वलाई उनीहरूको पहिचानको मूल कडीका रूपमा लिइएको छ। सबैका पर्व–संस्कृतिले आ–आफ्नो संस्कृति भल्काएजस्तै, यस पर्वमा गुरुङको आफ्नो सांस्कृतिक भेषवूशा, खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ। यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ। यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुद बनाउँछ। गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ। यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन्। गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात् आपसी सहयोग आदान–प्रदान हो। यस हिसाबले यो पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ।

पहिले यो पर्व परिवार र समुदायमा मात्र सीमित थियो। ग्रामीण समाजका गुरुङ परिवार र समुदायमा सीमित यो पर्व बसाइसराइँ र जातीय पहिचान आन्दोलनका कारण अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय बनेको छ। यसलाई अहिले नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बस्ने गुरुङले पनि मनाउन थालेका छन्। गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रमसहित यसलाई सामूहिक, संगठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रूपमा मनाउने अभ्यास सुरु भइसकेको छ।

यो पर्व गुरुङको संस्कृति, सभ्यता र समग्र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भए पनि पछिल्लो समय यसलाई मनाउने तौर–तरिका केही खर्चिलो र भड्किलो भएको आलोचना हुन थालेको छ। यस्ता आलोचनालाई सकारात्मक रूपमा लिएर अब उप्रान्त ल्होसार पर्व कसरी मनाउने भन्नेबारे गुरुङ समुदायले पुनर्विचार गर्न आवश्यक छ।
(नागरिककर्मी ज्योति श्रेष्ठले डा. गुरुङसँग गरेको कुराकानीमा आधारित।)

प्रकाशित: १२ पुस २०७६ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App