‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकीलुकी’, ‘कर्के नजर’जस्ता लोकप्रिय गीतमा आवाज भरेकी गायिका टीका प्रसाईंसँग भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः
गायन क्षेत्रमा कसरी आउनुभयो ?
मेरो घरपरिवार सांगीतिक माहोलमा रमाइरहेको परिवार हो । मेरो हजुरबुबा घरमै सिलोक हालिरहनु हुन्थ्यो । आमा पनि त्यस्तै मीठो गीत गाउनुहुन्थ्यो । उहाँहरुका गायनमा भिज्दै म हुर्किएँ । सानैदेखि मैले भाकाहरु टिप्न थालेँ । घरमा सबैले यसले त राम्रो गीत गाई, फेरि गाइदे गाइदे भन्नु हुन्थ्यो । बिस्तारै स्कुल लेभलमा पनि गीत गाएँ । विभिन्न कार्यक्रमा भाग लिँदै आजसम्म आएँ ।
कस्ता खाल्का गीत सुन्नुहुन्थ्यो ?
मैले सबै खाल्का गीतहरु सुनेँ ।
पहिलो पटक स्टुडियो पस्दाको अनुभव ?
मैले २०५८ मा नै झापाको एउटा स्टुडियोमा गीत रेकर्डिङ गरेँ । अरुकै गीतमा मलाई गाउन लगाइएको थियो । पहिलो पटक स्टुडियोमा छिर्दा त के–के नै भयो जस्तो लागेको थियो । खुसीले पनि गद्गद् थिएँ । घरमा पनि गीत गाइरहेको मान्छे । कस्तो सुनिदोरहेछ भनेर कहिले धाराको पाइपमा गाउँथेँ, कहिले गिलासमा मुख हालेर गीत गाउथेँ । अहिले सम्झँदा बडो रमाइलो लाग्छ ।
तपाईं गायिका नभएको भए ?
झापामा एसएलसी सकेपछि बुबाआमाले पढ्नका लागि इन्डिया लैजानुभयो । छोरी पढेर नर्स बनोस् भन्ने थियो । मैले राम्रो गाएको देखेर कहिलेकाहीँ जे बने पनि बनोस् है भन्न थाल्नुभयो । मैले आइए पूरा गरेर नेपाल आएँ । चाहना गायिका बन्ने नै थियो । त्यसैले होला, म मेरो लक्ष्यमा पुग्न सफल भएँ ।
पहिलो पटक गीत गाउँदाको पारिश्रमिक कति थियो ?
मैले गीत गाएर चार हजार पाएकी थिएँ । त्योभन्दा अगाडि कोरस गाउँदा तीन सय रुपैयाँ पाएकी थिएँ ।
जीवनमा त्यस्तो समय छ, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
हरेक मान्छे बालापनमै फर्कन मनगर्छ । मलाई पनि बालापन नै फेरि जिउन पाए हुन्थ्यो जस्तो लाग्छ । त्यो बेला साथीभाइ धेरै हुन्थे । एक प्रकारको रमाइलोपन थियो । बालापनमा थोरै बोल्थेँ र लजालु स्वभावको थिएँ । मलाई त्यस्तै बन्न मन छ ।
तपाईंलाई जीवनमा अरु के गर्न मन लाग्छ ?
मलाई आर्ट र फोटोग्राफी गर्न मन लाग्छ । अनि अझै गायनमा व्यस्त रहन मन छ ।
तपाईंलाई कुन कुराले चित्त दुख्छ ?
गर्दै नगरेको गल्तीलाई तैँले गल्ती गरेकै हो भनेर दोष लगायो भने चित्त दुख्छ । नभएको र गर्दैनगरेको गल्तीमा सजाय पाउँदा ज्यादै चित्त दुख्छ ।
तपाईं सुतिरहेको कोठामा अचानक भुत आयो भने के गर्नुहुन्छ ?
सायद भूत आयो भने त्यो नजाउञ्जेल आँखा चिम्लेर सुत्छु होला । त्यो पनि सासै नफेरिकन । भूत भन्नेबित्तिक्कै डर लागिहाल्छ अनि के गर्नु त ? गुटुमुटु भएर सुत्यो, अनि त आनन्द !
तपाईंलाई एक दिनका लागि प्रधानमन्त्री बनाइयो भने सबैभन्दा पहिलो काम के गर्नुहुन्छ ?
सबैभन्दा पहिला त घुस खाने र काम नगर्ने ठेकेदारलाई कामबाट निकालिदिन्थेँ । जोसजाँगर भएका व्यक्तिलाई नियुक्ति गर्थेँ । वनपाखामा खाली जग्गाजमिन छ । त्यो ठाउँमा हराभरा बनाएर पर्यटक तान्ने पर्यटकीय स्थल बनाउँथे, जसका लागि विदेश जान लागेका युवालाई यही रोजगार दिन्थे । जसका कारण नेपालमा बेरोगजगारी कम हुन्थ्यो । कोही अर्काको देशमा पसिना बगाउनु पर्दैन थियो होला । एक दिनमा योबाहेक त अरु के नै भ्याइन्छ होला होला र ? उज्यालो हुँदा पद खुस्किने रहेछ !
तपाईंलाई भाषण गर्न आग्रह गरियो भने के विषयमा बोल्नु हुन्थ्यो ?
सायद भ्रष्टाचारकै बारेमा कुरा गर्थे होला । दिमागमा यही भन्ने छैन ।
तपाईंलाई कुन कुराले खुसी बनाउँछ ?
मलाई सबैभन्दा पहिला एकअर्कामा मेलमिलाप भएको खबर सुन्दा खुसी लाग्छ किनभने त्यहाँ एक सद्भाव देखिन्छ । अर्को, दुःखमा परेकालाई कसैले यति सहयोग गर्यो या सहयोग गरेको देखेँ भने मन त्यसै खुसी भएर आउँछ ।
के देख्दा दुःख लाग्छ ?
कहिलेकाहीँ बाटोमा बिरामी छटपटाइरहेको अवस्थामा एकदमै दुःख लाग्छ किनभने चाँडै अस्पताल पुर्याउन सकिन्छ कि सकिँदैन । अनि कोही–कोही एकआपसमा छुट्टिएर गयो भने पनि दुःख लाग्छ । देशको अवस्थाले पनि एकदमै दुःख लाग्छ । नेपालीहरु विदेशमा पाएको दुःख र तिनको बिजोग देख्दा पनि मन भक्कानिएर आउँछ ।
फेसनमा कतिको ध्यान दिनुपर्छ ?
म आवश्यकताअनुसार फेसनमा ध्यान दिन्छु । म धेरैजसो कार्यक्रममा नै व्यस्त रहेको हुन्छु । परिचित अनुहार भएपछि हल्का फेसनमा पनि ध्यान त दिनै पर्यो । तर उत्ताउलो पारामा भने फेसन गर्दिनँ । आफूलाई सुहाउँदो मात्रै ।
प्रेम प्रस्ताव कतिको आउँथ्यो ?
उमेरमा सबैलाई प्रेम प्रस्ताव त आइहाल्छ नि ! मलाई पनि धेरै नै आएको थियो । म अलिक झ्वाँक्की स्वाभावको भएर होला हत्तपत्त कसैले आँटै गर्दैन थिए । मलाई प्रेम प्रस्ताव राखेका ,३/४ जनालाई रुवाउँदै पठाइदिएकी छु । उनीहरुले मलाई प्रेम प्रस्ताव राखेका थिए तर अस्वीकार गरिदिएपछि ग्वाँग्वाँ रोइदिए । पछि जोसँग गहिरो प्रेम बस्यो, उसैसँग बिहे गरेँ ।
तपाईंको गोप्य कुरा के होला, जुन अहिलेसम्म दर्शकलाई थाहा छैन ?
सायद मैले राम्रो आर्ट गर्छु भन्ने कुरा दर्शकलाई थाहा छैन । अनि मलाई राम्रोसँग क्यरिकेचर गर्न पनि जान्दछु ।
आफूले गर्न चाहेको तर गर्न नसकेकोे अधुरो काम के हो ?
त्यस्तो अधुरो काम त केही छैन तर मलाई गीतार बजाउन र स्कुटर चलाउन जान्दिनँ । सिक्न बाँकी अधुरो काम यही हो । स्कुटर किनेर ल्याएको दुई वर्ष भइसक्यो तर चलाएकै छैन ।
आफ्नो कमजोरी के हो जस्तो लाग्छ ?
म सबैसँग छिटो घुलमिल हुन सक्दिनँ ।
आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
मन र इच्छाशक्ति नै हो । कसैको ढिपीले मलाई हुँदैन । काम गर्नको लागि भित्रैबाट जाँगर चलेर आएको हुनुपर्छ ।
आफ्नो आफैँलाई मनपर्ने बानी ?
म हत्तपत्त कसैसँग रिसाउँदिन ।
सबैभन्दा धेरै रोएको क्षण ?
नेपाली तारा पहिलोमा टप १४ मा पुगेर आउट भएँ । यो क्षण मैले हारेको भनेर भक्कानिदै धेरै बेरसम्म रोएकी थिएँ । टप टेनमा पुग्न लागेको बेला फालिँदा नमज्जा लाग्दोरहेछ ।
प्रकाशित: १० पुस २०७६ ०९:१७ बिहीबार