सुयोगमानसिंह बस्न्यात
यही मंसिर ६ गते पशुपतिनाथबाट सुरु भएको साइकलयात्रा मंसिर ८ गते जनकपुर राम मन्दिरमा पुगेर टुङ्गियो। यात्रा २५० किमिको थियो। यात्रामा साइकलयात्री र स्वयंसेवक गरी २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो। उदयपुर, गाईघाटको ९ वर्षको भाइ शुभम श्रेष्ठ, सिन्धुलीको १३ वर्षको दादा आदित्य श्रेष्ठ र काठमाडौंको १० वर्षको म सबैभन्दा साना साइकलयात्री थियौं। काठमाडौंदेखि जनकपुरसम्मको यात्रामा ६६ वर्षीय सोनाम अंकल सबैभन्दा जेठा हुनुहुन्थ्यो। शुभम भाइ र आदित्य दादाको काठमाडौं–जनकपुर साइकलयात्रा पहिलो र मेरो दोस्रो थियो।
हामीले नास्ता खाँदै माननीय पर्यटन मन्त्री योगेश भट्टराईको भाषण सुन्यौ। भाषणपछि मलाई र पुष्कर अंकलाई राष्ट्रिय झन्डा र ठूलाबा देवेन्द्र र एक जना दिदीलाई सिन्धुलीको झन्डा दिनुभयो। सानसँग झन्डा फहराएर हामीले यात्रा सुरु ग¥यौं । मामु र स्वयमसेवकहरू मोटरमा यात्रा गर्नुभयो। बाबा र म पनि अरू साइकलयात्रीहरू जस्तै यात्राको नेतृत्व गर्नुहुने सुदिप र गोपाल अंकलको अघिपछि लाग्यौं।
रेडक्रस मेडिसिटि अस्पतालको मोबाइल क्लिनिक भ्यान र अन्य सवारी साधनको स्कटिङसँगै ठाउँठाउँको स्वागतमा लगाएको माला, रुद्राक्ष, खादा, सत्कारमा दिएको सेल, चना, जेरी, स्याउ, पुु्रmटी, अन्डा लिँदैै धुलोधुवाँ, खाल्डाखुल्डी र उकालीओराली पार गरियो। हामीलाई भकुण्डेमा पाल टाँगेर हेल्थ क्याम्पमा बसेका नेपाली सेनाले जीवनजल पानी बाँडे। यो देख्दा मलाई साइकल चढेर ठूलै काम पो गरेछु भन्ने लाग्यो।
दिउँसोको खाना कुशेश्वर महादेवस्थान नजिकै खुवाइयो। म र बाबा खाना खाएर कुशेश्वर मन्दिर दर्शन गर्न गयौं। त्यहाँबाट फर्किँदा हजुरबुवा उमेरको एकजना मान्छे घोडा चढेर आउनुभएको रहेछ। मैले उहाँसँगै बसेर घोडा चढें। मलाई रमाइलो लाग्यो। त्यसपछि हामी मुलकोटतिर लाग्यौं। झाँगाझोलीको पुरानो बजारमा एकछिन स्वागतसत्कार र नाचगान भयो। त्यो कार्यक्रमपछि खेतका आली र कान्ला साइकल कुदाउँदै हामी साँझपख मुलकोट पुग्यौं। त्यहाँ पनि भव्य स्वागत र नाचगान भयो। बाबामामु र म कार्यक्रम चल्दाचल्दै होटेलतिर लाग्यौं। हाम्रो त्यो दिनको बास मुलकोटमै थियो। यात्रीका समूहअनुसार होटल फरक थियो। हामी तीन जनालाई रातको बास, खाना र भोलिपल्टको नास्ताको व्यवस्था नमस्ते होटलमा गरिएको थियो। हामी खाना खाएर सुत्न गयौं। पहिलो रात हामीले त्यहाँ लाम्खुट्टेको टोकाइ सहँदै बितायौं।
दोस्रो दिन बिहान हामी नास्ता गरेपछि साइकल सरसफाइमा जुट्यौं र उकालीओराली गर्दै खुर्काेट पुग्यौं। त्यहाँ हामीले सामुहिक रूपमा खाजा खायौं। यात्राको सबैभन्दा कठिन भनेकै मुलकोटदेखि गढीसम्मको यात्रा हो। केही अंकल, आन्टी र दिदीले मलाई यो बाबुले साइकल चलाउन सक्छ भनेर सोध्नुभयो। पछिल्लो समयमा उहाँहरू नै साइकल चलाउन नसकेर गाडी चढ्नुभयो। सुभम भाइले त पहिलो दिनै गाडीभित्र साइक्लिङ गरेको देखें। आदित्य दादाको पनि पहिलो दिन साइकल बिग्रेर केहीबेर गाडीमा बस्नुभयो। मैलेचाहिँ साइकल चढेर पूरै उकालो पार गरें। म र बाबालाई खुर्कोटबाट गढी पुग्न पाँच घन्टा जति लाग्यो। २५० किमि पूरा गर्ने सबैभन्दा सानो मान्छेमा म मात्र थिएँ।
हामीले गढी फेदीमा बसेर दिउँसोको खाना खायौं। त्यसपछि गढी गएर सामूहिक फोटो खिच्यौं। ‘कान्तिपुर’ पत्रिकाका राजकुमार अंकलले मसित अन्तर्वार्ता लिएर फोटो खिच्नुभयो। हामी माढीतिर जाँदा भव्य स्वागत भयो। यसपल्ट पनि गत सालजस्तै सांस्कृतिक कार्यक्रम भयो। म पनि एकछिन नाचें। कार्यक्रम चलिरहेकै बेला बाबा, मामु र मचाहिँ होटल सिन्धुइनतिर बस्न गयौं। बाबाका साथीहरू रोशनलाल चित्रकार र निरज अंकलको पनि त्यहीँ बस्ने व्यवस्था रहेछ। हामी सबैले त्यहाँ खाना खाएर आआफ्नो कोठातिर लाग्यौं।
तेस्रो दिन बिहानै हामी माढी चौरमा जम्मा भयौं। हामीले साइकल सरसफाइपछि खाजा खायौं। सुदिप अंकलले सबै साइकलयात्रीलाई एकछिन वामअप गराउनुभयो। सबै जुटेर फोहोर चौर सफा ग¥यौं। त्यसैबेला हाइलाइट्स टुरिजमको लाला गुरुङ अंकलले म, आदित्य दादा र शुभम भाइको अन्तर्वार्ता लिनुभयो। ‘कान्तिपुर’ पत्रिकाले मेरो छुट्टै अन्तर्वार्ता लियो। त्यसपछिको यात्रा जनकपुरतिर बढ्यो। हामीले बर्दिबासमा दिउँसोको खाना खायौं। हामी धनुषाधाम हुँदै जनकपुर राममन्दिर पुग्दा झमक्क साँझ परेको थियो। जनकपुरको साइकलयात्री रञ्जितकुमार शाह हाम्रो स्वागत गर्न बस्नुभएको थियो।
भाषण र नाचगानपछि बेलुकाको खाना सामुहिक रूपमा खायौं। हामीलाई मैथिली संस्कार अनुरूप विशिष्ट पाहुनालाई खुवाउने खाना खुवाइयो। मलाई त यो ठ््याक्कै नेवारी भोज जस्तै लाग्यो। खानपिनसँगै नाचगान पनि चल्यो। खानापछि बाबा, मामु र म होटलतिर लाग्यौं। हाम्रो बासको प्रबन्ध मानकी होटलमा रहेछ। चौथौ दिन बिहानको नास्तापछि भाषण र स्वागत कार्यक्रम भयो। हामी सबैको प्रमाणपत्र आदित्य दादा र मलाई संयुक्त रूपमा हस्तान्तरण गरियो अनि स्थानीय पाँच÷सात सय साइकलयात्रीहरूसँगै मिलेर हामीले सहरको परिक्रमा ग-यौं। दिउँसोको खानापछि गाडीमा साइकल राखेर दिउँसोको दुई बजेतिर काठमाडौं फर्कियौं। हामी घर पुग्दा रातको ११ बजेको थियो।
यसपल्ट आरम्भ, शुभम, आदित्य दादा र मेरो खुब दोस्ती जम्यो। हामीले खुब मस्ती ग-यौं। यसपल्ट आयोजकले मलाई निःशुल्क रूपमा साइकलयात्रामा सहभागी गराउनुभयो र यात्रा सुरु गर्नुअघि राष्ट्रिय झण्डा फहराउने मौका पनि दिनुभयो। आयोजक समूहलाई धन्यवाद ! जय नेपाल ! जय साइकल !
प्रकाशित: ५ पुस २०७६ ०२:५१ शनिबार