संसारका सबै धर्म–संस्कृतिमा सफासुग्घर हुने कलाका बारेमा सिकाइएको छ । कारण के भने, फोहोरका कारण त्यो बेला अत्यधिक मानिसहरु मर्ने गर्थे । मृत्यु रोक्ने सबैभन्दा उत्तम उपाय सरसफाइ नै थियो । हिन्दुहरुको संस्कार नै बिहान सबेरै नुहाउनु अनिवार्य मानिन्थ्यो । मुस्लिमहरुले हरेक दिन चारपटक नमाज पढ्नुअघि हातगोडा मज्जाले धुनु अनिवार्य मानिन्छ ।
डाक्टरहरु पनि न त आफ्नो हात धुन्थे न त उपचार गर्ने उपकरणहरु सफा गर्थे । अपरेसन गर्ने कोठाहरु र त्यसमा काम गर्ने सर्जन र सामग्री पनि फोहोर र दुर्गन्धित हुन्थे ।
सरसफाइको महत्वका कारण नै धर्मसँग यस्ता कुरा जोडिएको हो । तर कतिपय अन्धविश्वासका कारण आधुनिक समयमा अस्पताल लैजाने कुरालाई नराम्रो मानिन्थ्यो । मानिस रोगले थलिन्थ्यो तर अस्पताल जान मान्दैनथ्यो । यो नेपालमा मात्र नभएर संसारका सबैजसो ठाउँको समस्या थियो । अस्पताल जानु भनेको मृत्यु निकट ल्याउनु भन्ने विश्वास गर्नेहरु पनि उत्तिकै थिए ।
१९ औँ शताब्दीसम्म आइपुग्दा अस्पतालको लोकप्रियता बढ्न त थाल्यो तर तिनमा सामान्य किसिमको सुविधा मात्र हुन्थ्यो । घरैमा उपचार गराउनुभन्दा अस्पतालमा उपचार गराउँदाको मृत्युको तुलना पाँच गुणा बढी थियो । त्यसैले अस्पताल मृत्युको घर ठानिन्थ्यो । अस्पतालमा सरसफाईको महत्व नबुझिएका कारण पिसाब, छाद र अन्य दुर्गन्धले वातावरण नै विषाक्त हुन्थ्यो । यो दुर्गन्ध यति तीखो हुन्थ्यो कि अस्पतालका कर्मचारीहरु नाकमा रुमाल राखेर हिँड्थे ।
यी सबैका कारण अस्पतालमा उपचार गरिए पनि प्रभावकारी भएको थिएन । त्यो जमानामा जीवाणुका कारण रोग लाग्ने र सरसफाईको महत्वका बारेमा उति धेरै जानकारी नभएका कारण यस्तो भएकोतर्फ कसैको ध्यान जान सकेको थिएन ।
यस्तोमा सन् १८४० मा हंगेरीका एक चिकित्सक इग्नाज सेमेल्भिसले अस्पतालका सबै कर्मचारीहरुले अनिवार्य रुपमा कुनै काम शुरु गर्नुअघि हात धुने चलन चलाए । यसले प्रसूति वार्डमा हुने मृत्युमा आश्चर्यजनक रुपमा कमी हुन थाल्यो ।
यो एउटा महत्वपूर्ण प्रयास थियो तर सफल हुन पाएन । किनभने त्यो बेला डाक्टरका सहयोगीहरुले नै उनलाई साथ दिएनन् । त्यतिञ्जेलसम्म इग्नाज नवजात शिशु जन्माउने आमाहरु बचाउने महत्वपूर्ण चिकित्सकको रुपमा पहिचान बनाउन सफल भइसकेका थिए ।
जीवाणुका बारे थाहा थिएन
सेमेल्भिस त्यो बेला भियनाको जनरल अस्पतालमा काम गर्थे । त्यो अस्पतालमा पनि नियमित रुपमा अन्य अस्पतालमा जस्तै रोगीहरुको मृत्यु हुन्थ्यो । १९ औँ शताब्दीसम्म संसारभर नै कीटाणुका बारेमा थाहा थिएन । त्यसैले फोहोरको संक्रमणमा ती कीटाणुको भूमिका हुन्छ भन्नेबारे तिनलाई थाहा हुने कुरै भएन ।
न्युयोर्क विश्वविद्यालयमा हिस्ट्री अफ मेडिसिनका विज्ञ ब्यारोन एच. लर्नर भन्छन्, ‘हामीलाई यतिबेला ब्याक्टेरिया र भाइरसका बारेमा यति धेरै जानकारी छ कि त्यो बेला हामी रोगमा तिनको भूमिका हुन्छ भन्ने थाहा थिएन भन्दा आश्चर्य मान्छाैं ।’ त्यो बेला विज्ञहरुलाई पनि रोगको मुख्य कारण विषाक्त वायु हो र ती वायुमा रहेका हानिकारक कणका कारण संक्रमण हुन्छ भन्ने ठानिन्थ्यो ।
त्यो बेला नवजात शिशु जन्माउने गर्भिणी स्त्रीहरु सबैभन्दा बढी खतरामा हुन्थे । त्यो बेला नै सन्तान जन्माउनका लागि चिरफार गरिन्थ्यो । चिरफारका कारण हुने घाउमा तुरुन्तै ब्याक्टेरियाले घर बनाउँथे । र, जुन औजारले चिरफार गरिन्थ्यो, त्यो सामग्री नै फोहोर हुन्थ्यो । फोहोर ठाउँमा ब्याक्टेरियाको घर हुन्थ्यो । यही घरबाट ती ब्याक्टेरिया सर्ने गर्थे ।
सेमेल्भिसले आफू काम गर्ने वार्डमा यस्ता चिरफार गर्ने सामग्रीलाई सरसफाई गर्न थाले । यसले प्रसूति वार्डमा हुने मृत्युको संख्या पहिलाको तुलनामा घटेको मात्र होइन, अन्य अस्पतालको तुलनामा कम रहेको बुझे । जुन ठाउँमा पुरुष मेडिकल छात्रहरु थिए, त्यहाँ मृत्युको प्रतिशत ९८ प्रतिशतभन्दा बढी थियो भने धाईहरुको जिम्मामा भएका प्रसूति केन्द्रमा मृत्यु ३६.२ प्रतिशत मात्र थियो । यत्तिका विधि फरक कसरी पर्यो ? अध्ययन गर्दै जाँदा पत्ता लाग्यो, पुरुष मेडिकल छात्रहरुले स्त्रीहरुको संवेदना बुझ्दैनथे । उनीहरुले रुखो तरिकाले व्यवहार गर्थे ।
तर रुखो व्यवहार मात्र प्रसूति गृहमा हुने मृत्युको कारण हो भन्ने मान्न सेमेल्भिस तयार थिएनन् । यही समयमा उनका एक जना सहयोगीको मृत्यु भयो । खासमा प्रसूतिका क्रममा औजार चलाउँदा औँला काटिएको थियो । त्यो घाउ यति बढ्यो कि उनको मृत्यु हुन पुग्यो । सेमेल्भिसलाई लाग्यो, ‘यो घाउ हुँदा किन मृत्यु भयो त ? के कारणले यस्तो भएको हुनसक्छ ?’
त्यो बेलामा शरीरको कुनै भाग काटिदा शारीरिक जोखिम त बढ्थ्यो नै त्यो ज्यान लिने किसिमको घातक पनि हुन्थ्यो ।
उदाहरणका लागि, चाल्र्स डार्बिनका काका (उनको नाम पनि चाल्र्स डार्बिन नै थियो)को मृत्यु १७७८ मा भएको थियो । उनी चिकित्सक थिए । उनले पनि एक बालकको शरीर चिरफार गर्दा आफ्नै हातमा घाउ बनाए र यही घाउका कारण मृत्यु हुन पुग्यो ।
यता भियनामा पनि आफ्ना सहकर्मीको मृत्युपछि सेमेल्भिसले पनि एउटा कुरा ख्याल गरे । मृत्यु भएका सहकर्मीको पनि त्यही लक्षण थियो जुन प्रशवका क्रममा मृत्यु हुने महिलाको लक्षण थियो ।
उनको मनमा उठ्यो, के उसो भए चिरफार गर्दा शवको कण डाक्टरको प्रशूति कक्षसम्म आइपुग्यो त ? त्यो बेला डाक्टरको हातमा पञ्जा लगाइदैनथ्यो । त्यस्तै अन्य किसिमका सुरक्षात्मक उपकरणहरु पनि थिएनन् । यस्तो अवस्थामा मेडिकलका विद्यार्थीका कपडामा मासुका टुक्रा टाँसिनु सामान्य कुरा थियो ।
मृत्युमा अंकुश
त्यो बेला कीटाणु वा विषाणुका बारेमा थाहा थिएन । यस्तो अवस्थामा अस्पतालमा फैलिएको फोहोर र विषाक्तता हटाउनु ज्यादै गाह्रो थियो । प्रसूति चिकित्सक जेम्स वाई सिम्पसन (१८११–१८७०) पहिो यस्ता फिजिसियन थिए, जसले मानिसमा क्लोफोफमबाट बेहोस गर्ने गुणलाई प्रयोग गरेका थिए । उनको धारणा थियो, फोहोरका कारण फैलिने संक्रमणलाई नियन्त्रित गर्न सकिदैन भने बेलाबेलामा अस्पताललाई पूर्ण रुपमा सफा गर्ने पद्धति अपनाउनु पर्छ ।
१९ औँ शताब्दीको सबैभन्दा चर्चित सर्जन र साइन्स एन्ड आर्ट अफ सर्जरी (१८५३) का लेखक जोन एरिक एरिक्सनले यसमा सहमति व्यक्त गर्दै लेखेका थिए, ‘एक पटक अस्पताल नै पूर्ण रुपमा दूषित ब्याक्टेरियाबाट संक्रमित भयो भने त्यसलाई कसैगरी स्वच्छ बनाउन सकिदैन ।’
सेमेल्भिसलाई भने उनको यो कुरा ज्यादै कठोर लाग्यो । पूरै अस्पताललाई पूर्ण रुपमा स्वच्छ बनाउने कुरा त्यो बेला अप्ठेरो नै थियो । बरु यसको साटो अलि सजिलो बाटो के हुन सक्छ भन्नेतर्फ सोच्न थाले । उनलाई लाग्यो, पहिल्यै मृत्यु भएका शवमा संक्रमित ब्याक्टेरिया या भाइरसहरु हुन्छन् । तिनबाट विभिन्न माध्यमबाट रोग सरिरहेको छ भन्ने उनले बुझे । तसर्थ उनले एउटा हातको सफाईका लागि एउटा धारा जडान गरे र त्यहाँ छेउमा चुनाको घोल राखे ।
शव चिरफार गर्ने कोठामा जानुअघि वा आएपछि यो चुनाको घोलमा हात अनिवार्य रुपमा धुनुपर्ने नियम बसाले ।
पछि अध्ययन गर्दा थाहा भयो, मृत्युदर घटेर १२.७ प्रतिशतमा झर्यो । पहिला त्यही वार्डमा ९८ प्रतिशतभन्दा बढी मृत्यु हुन्थ्यो । यो १८४८ को कुरा हो ।
सम्मान पाएनन्
मृत्यु घट्यो र पनि सेमेल्भिसको कुरा उनका सहकर्मीहरुले पत्याएनन् । डाक्टरहरुलाई लाग्थ्यो, संक्रमण फैलिनुको कारण अरु नै केही हो ।
प्रसूति केन्द्रमा हुने संक्रमण रोक्नका लागि साबुनको प्रयोग त १८८० को दशकमा मात्र सुरु भएको थियो ।
यही विषयमा सेमेल्भिसले एउटा किताब लेखेका थिए, तर उनका विरोधीले यो किताबलाई नराम्ररी समीक्षा गरेका थिए । यसबाट उनी समीक्षकहरुसँग नराम्रोसँग रिसाए । किताबमा हात नधुने चिकित्सकलाई हत्यारो भनी लेखेका थिए । अब यस्तो कुरा त्यो बेलाको समाजले कसरी पचाओस् ? अस्ट्रियामा सेमेल्भिसले काम गरिरहेका थिए र उनको पुस्तकको आलोचना भएपछि अस्ट्रियाले उनको अनुबन्ध बढाएन । यसपछि उनी आफ्नै देश हंगेरी फर्किए ।
हंगेरी फर्किएपछि सेमेल्भिसले राजधानी बुडापेस्टको एउटा सानो अस्पताल सेजेन्ट रक्समा प्रसूति वार्डमा बिना पैसा काम गर्न थाले । पछि उनले बुडापेस्ट विश्वविद्यालयको प्रसूति क्लिनिकमा पढाउन थाले र आफूले सिकेको सरसफाईसम्बन्धी ज्ञानका कारण मृत्यु पूर्ण रुपमा नियन्त्रण गर्न सफल भए ।
तर उनको सिद्धान्तको आलोचना रोकिएन । उनका साथीहरु पनि सेमेल्भिसका कुरा मान्न तयार थिएनन् । आफ्नो ज्ञानलाई अस्वीकार गर्ने सहकर्मीप्रति उनी क्रूद्ध थिए । उनको अत्यधिक क्रोधका कारण १८६१ सम्म आइपुग्दा उनलाई पागलखाना पुर्याइयो । उनका एक जना सहयोगीले उनलाई नयाँ मेडिकल इन्स्टिच्युट देखाउने भनेर बहाना बनाउँदै पागलखाना पुर्यायो ।
जब उनी आफू पागलखाना पुगेको महसुस भयो, उनी निस्कने प्रयास गर्न थाले । उनको प्रयासको नमीठो अन्त्य भयो । उनलाई त्यहाँका सुरक्षागार्डले नराम्रोसँग पिटे, साङ्लाले बाँधे र अँध्यारो कोठामा थुनिदिए । यसको दुई सातापछि उनको दायाँ हातमा फैलिएको संक्रमणका कारण मृत्यु हुन पुग्यो । त्यो बेला उनको उमेर जम्मा ४७ वर्षको थियो ।
चिकित्सा विज्ञानमा लुई पाश्चर, जोसेफ लिस्टर र रोबर्ट कोच जसरी परिवर्तनको वाहक बन्न पुगे, त्यसमा सेमेल्भिसलाई सहयोग नहुँदा कुहिएर मर्नुपर्यो ।
हुन त पछिल्लो समय सेमेल्भिसको योगदानको चर्चा हुन थालेको छ । हातको सरसफाईको महत्व के हो भन्ने भर्खर बुझ्न थालिएको छ तर यही कुरा सय वर्षअघिसम्म कति टाढाको कुरा रहेछ त !
प्रकाशित: २६ मंसिर २०७६ ०७:५० बिहीबार