अन्य

बलियो बन्दै वत्सला

तीनवटा भूकम्पले लगातार भत्काएको भक्तपुर दरबार क्षेत्रको मुटुमा रहेको वत्सला मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। नृत्य वत्सला मन्दिरको रूपमा चिनिने यो ढुंगाबाट निर्मित मन्दिरको भित्री संरचनामा केही परिवर्तन गरेसँगै झनै मजबुत बन्ने भएको हो।

भक्तपुरका अन्य थुप्रै मन्दिर जोगिए पनि ढुंगाले बनेको यो मन्दिर १८९१, १९९० र २०७२ सालको भूकम्पले भत्काएको थियो। पछिल्लो भूकम्पमा पनि मन्दिरको भाग पूरै भत्किएपछि यसको बनावट वा जगबारे अध्ययन गरियो।

भक्तपुरस्थित ख्वप इन्जिनियररिङ कलेज र भक्तपुर नगरपालिकाले गरेको अध्ययनले यसमा रहेको मूल कमजोरी पत्ता लगाएको हो। ‘ढुंगैढुंगाबाट बनेको यो मन्दिरभित्र कुनै सपोर्ट नरहेको भेटियो,’ वास्तुशास्त्रकी जानकार समेत रहेकी उपमेयर रजनी जोशी भन्छिन्, ‘मन्दिरभित्र काठको फ्रेम राखेसँगै यो बलियो बन्न पुगेको छ।’  काठको फेम प्रयोग गर्दा यसको परम्परा र मौलिकपनमा कुनै असर नपु¥याइएको उनको भनाइ छ।

विगतका भूकम्पमा ढलेर पुनर्निर्माण हँुदा संरचनागत त्रुटि भएको हुन सक्छ,’ उनले भनिन् ‘काठको फ्रेम राखेसँगै सम्भवतः अब आउने भूकम्पमा यो मन्दिर विगतमा झैँ गल्यामगुर्लुम ढल्ने छैन।’ अहिले मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ।

‘नाचगानको यो सहरमा यो मन्दिरको ठूलो महत्व छ,’ उनले भनिन्, ‘यसको पुनर्निर्माण सम्पन्न भएसँगै सांस्कृतिक नगरीले थप जीवन्तता पाउनेछ।’ २०७३ कात्तिकबाट १ करोड २८ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सुरु भएको यस मन्दिरको करिब ९० प्रतिशत कार्य सम्पन्न भएको छ।

नगरपालिकाको पहलमा अन्य केही मन्दिरमा पनि विगतमा भएको संरचनागत त्रुटिलाई सच्याउँदै पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको नगरपालिका प्रशासकीय अधिकृत दामोदर सुवालले बताए। ‘हामीले पुनर्निर्माण मात्र होइन, मौलिक संरचनालाई खलल नपु¥याई थप कसरी बलियो पार्न सकिन्छ भन्नेतर्फ पनि ध्यान दिएका छौँ,’ उनले भने, ‘यसबाट पछिल्लो पिँढीका लागि पनि हाम्रा सम्पदा बलियो भएर उभिने विश्वास हामीले लिएका छौँ।’

के हो नृत्य वत्सला मन्दिर ?

संस्कृतिविद् ओम धौभडेलका अनुसार, भक्तपुरका राजा जितामित्र मल्लले ने.सं. ७९८ मा यो मन्दिर बनाउन लगाउँदा पाटनको प्रसिद्घ कृष्ण मन्दिरको शैली अपनाइएको थियो। नौवटा सुनको गजुरसहितको यो मन्दिरको मूल गर्भगृहमा पूर्णकलशमाथि श्रीयन्त्र कँुदिएको धौभडेल बताउँछन्।

मन्दिरमा ढुंगाका अत्यन्त राम्रा–राम्रा नवदुर्गा, अष्टमातृका एवं भैरवका मूर्ति चारैतिर देखिनुका साथै असल ढुंगाका खम्बा यस मन्दिरका आकर्षणका रूपमा रहेको उनले बताए।

‘तत्कालीन समयमा भक्तपुर अन्य कुरामा आत्मनिर्भर भए पनि ढुंगामा भने प्रायः पाटनकै भर पर्ने गथ्र्यो,’ उनले भने, ‘यसमा भने भक्तपुरको नगरकोट क्षेत्रमा रहेका ढुंगा प्रयोग भएको अभिलेखमा भेटिएको छ।’

प्रकाशित: २१ मंसिर २०७६ ०१:५६ शनिबार

वत्सला भूकम्प भक्तपुर_दरबार_क्षेत्र