अन्य

रमणीय इलाम घुम्नुस् है !

श्रीना नेपाल

हाम्रो देश नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँका हरियो वनजङ्गल, पशुपक्षी, नदीनाला, छङछङ गर्दै झर्ने झरना, चाँदीजस्तै टल्किने हिमाल, पहाडी लेकबेंसी र सम्म परेको तराईदेखि विदेशी पर्यटकहरू आकर्षित छन्। हाम्रो देशका विभिन्न ठाउँमध्ये १ नं. प्रदेशमा रहेको इलाम जिल्ला पनि नेपालको शोभनीय ठाउँ हो।

साथीहरू, हामी पढाइलेखाइको साथै विभिन्न विषयमा पनि चासो राख्नुपर्छ। म तपाईहरूलाई रमणीय इलामको बारेमा बताउँदै छु। लिम्बु भाषाको ‘इ’ अर्थात् घुमौरो र ‘लाम’ अर्थात् बाटो, यी दुई शब्दबाट बनाइएको नाम हो इलाम। यहाँको स्थान निरूपणले यस नामलाई सार्थक तुल्याएको छ। नेपाल एकीकरण हुनुअघि लिम्बुवान्को स्वशासन राज्य थियो इलाम।

करिब २,९०,२५४ जनसंख्या भएको यस ठाउँमा विशेष गरी लिम्बु, राई, सुनुवार, गुरुङ र ब्राम्हणको बढी मात्रामा रासोबासो रहेको देख्न सकिन्छ। मिहिनेत, लगनशीलता र मनुष्य स्वभाव यस ठाउँका मानिसहरूका विशेषता हुन्।
स्थानीय सरकार बनिसकेपछि सूर्योदय नगरपालिका देशकै सबैभन्दा छिटो विकास भएको नगरपालिकाको नाममा सूचीकृत गरिएको थियो। यस ठाउँलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ।

पर्यटकस्थलको दृष्टिकोणले हेर्दा यस ठाउँको अलौकिक वातावरणले औधी मनोरञ्जन दिलाउँछ। हरिया डाँडापाखा र स्वच्छ हावापानीले हार्दिकतापूर्वक सन्तोष प्रदान गर्छ।
 यहाँ घुम्ने ठाँउहरू निकै छन्। तीमध्ये विशेष ठाउँहरू:

अन्तुडाँडा:
२,३२३ मिटर उचाइ भएको यस डाँडाबाट अत्यन्तै मनोरम सूर्योदय, सूर्यास्त र  हिमशृङ्खलाको दृश्यावलोकन गर्ने अवसर पाइन्छ। यहाँबाट मिरिक र दार्जिलिङको अत्यन्तै मनोरम दृश्य पनि देख्न सकिन्छ। फिक्कलबाट करिब आधा घन्टा, पशुपतिनगरबाट करिब एक घन्टा र इलाम बजारबाट करिब तीन घन्टाको बस– यात्रापछि अन्तुडाँडा पुग्न सकिन्छ जहाँ रिसोर्ट, होटल र होमस्टेको पनि व्यवस्था छ।

माईपोखरी:
घना जङ्गलको बीचमा स्वच्छ माईपोखरीको मनमोहक दृश्य देख्न सकिन्छ। यस जङ्गलमा अनेक खाले वनस्पति तथा पशुपक्षी भेटिन्छन्। माईपोखरीमा माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गर्छ। भगवान् भगवतीको बासस्थान रहेको मान्यता भएको माईपोखरी इलाम बजारबाट आधा घन्टाको दुरीमा रहेको छ।

सन्दकपुर:
नेपाल–भारतको सिमानामा ३,६३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु र सगरमाथा हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ। यहाँको जंगलमा विस्मयकर वनस्पति पनि पाइन्छ। माईपोखरी, मझुवा, खोर्सानीटार हुँदै ५ घन्टाको पैदल यात्रापछि सन्दकपुर पुगिन्छ।

कन्याम र फिक्कल:
 १४० वर्षदेखि चियाको लागि राष्ट्र तथा अन्तर्राष्ट्रिय जगत्मा नाम राख्न सफल र सुन्दर ठाउँ हो इलामका कन्याम र फिक्कल। भ्रमण गर्न, चिया बगानको मनोरम दृश्य हेर्न र सुन्दर फोटो खिच्न अत्यन्त शोभनीय ठाउँ मानिन्छ कन्याम। फिक्कललाई भने इलामको एक प्रमुख व्यापारिक केन्द्र मानिन्छ।

सिद्धिथुम्का:
सिद्धिथुम्का १८०० मिटरको उचाइमा रहेको छ। यो ठाउँ पनि सूर्यास्तका लागि निकै चर्चित छ। इलाम बजारबाट ३ घन्टाको पैदल यात्रापछि यस ठाउँमा पुग्न सकिन्छ, जहाँबाट महाभारत हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्ने शौभाग्य प्राप्त हुन्छ।

सानो पाथिभरा:
कुटिडाँडामा अवस्थित सानो पाथिभरा देवीको मन्दिर हो। ताप्लेजुङमा अवस्थित ठूलो पाथिभरा जानुअघि यस सानो पाथिभराको दर्शन गर्नुपर्छ भन्ने रहेको छ। अन्यथा मागेको इच्छा पूरा नहुने जनविश्वास छ।

माईबेनी:
माईखोला र जोगमाई खोलाको सङ्गममा रहेको माईबेनी महादेव शिवका मन्दिर हो। माईबेनी इलाम बजारबाट ३ किलोमिटर यात्रापछि पुगिन्छ। यस ठाउँमा बर्सेनि माघे सङ्क्रान्तिमा हजारौं दर्शनार्थीहरूको भीड लग्ने गर्छ।

गोर्खे:
फिक्कलदेखि करिब १५ किमिको दुरीमा रहेको गोर्खे बजारले पुरातात्विक कृति बोकेको छ। बौद्ध धर्मका मानिसहरूको बढी मात्रामा बसोबास रहेको यस ठाउँ राई, लिम्बु, शेर्पा, तामाङ, गेल्बु, मगर र लेप्चा समुदायले बढी क्षेत्रफल ओगटेको पाइन्छ। इलाम जिल्लाकै पुरानो व्यापारिक केन्द्र मानिएको गोर्खेमा विश्वमै लोप हुन लागेको हाब्रे अर्थात् रेड पान्डाको विशेष अवलोकन गर्ने अवसर पाइन्छ।

यसरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण इलाममा पाइला राख्नेबित्तिकै स्वर्गीय आनन्द प्राप्त हुन्छ। भ्रमण मात्र नभई विभिन्न अद्वितीय र असाधारण वनस्पति साथै जन्तुहरूको अनुसन्धान गर्नका लागि महत्वपूर्ण ठाउँ हो इलाम। साथी, तपाईहरू पनि एकचोटि यति रमणीय इलाम घुम्नुस् है।

काठमाडौं स्कुल अफ ल।

प्रकाशित: १४ मंसिर २०७६ ०५:०४ शनिबार

इलाम घुम्नुस्