अन्य

बिमा रकमको लागि यहाँसम्मको अपराध

लक्ष्मीदेवी यादव
बिमा गरिएको रकम २५ लाख
हत्या गरिएको मितिः १७ असार २०७६
लक्ष्मी नेपाली
बिमा गरिएको रकम १ करोड
हत्या गरिएको मितिः १ असार २०७६

गत असारमा घरपरिवारमै दुईवटा अत्यन्त क्रुर आपराधिक कार्य भए । रौतहट र कास्कीमा भएको दुई आपराधिक कार्यले नेपाली समाजलाई धन सम्पत्ति र लोभ लालचले कता लैजाँदा छ प्रश्न उठायो । रौटहटमा आफ्नै बाबुले २५ लाख हात पार्ने योजनामा ४ वर्षीया छोरीको हत्या गरिदिए भने कास्कीमा १ करोड हात पार्ने योजनामा श्रीमतीको हत्या भयो ।

२५ लाखको लोभमा छोरी हत्या गर्ने बाबु
गत असार १७ गते बिहान बाबु रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादव आमासँग सुतेकै अवस्थामा लगेर हत्या गरी पोखरीमा फ्याँकिदिएका थिए । उनले बिमाबापत पाउने रकमको लोभमा आफ्नी चार वर्षीया छोरीको हत्या गरेको रहस्य खुलेको थियो ।

रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले असार १७ राति १ बजेतिर आमासँग सुतेकी छोरीलाई थुतेर हत्या गरेका हुन् । राति नै लक्ष्मीको घाँटी थिचेर हत्या गरेको र पोखरीमा फ्याँकेको अवस्थामा १७ गते शव फेला परेको थियो । लक्ष्मीका बाबु रामकिशोर यादवले जिल्लाकै गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठ २०७६ मा छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए । हत्या गरी बीमाको रकम निकाल्ने योजनाअनुरुप नै यादवले छोरीको बिमा गराएको र बिमाको २९ औं दिनमा छोरीको हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहट सो घटनाको सम्बन्धमा डिएसपी नवीन कार्कीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गर्दा बाबुले नै छोरीको हत्या गरेको खुलेको थियो । ‘राति आमासँगै घरमा सुतिरहेकी छोरीलाई बोकेर पोखरीको डिलमा लगेर नाक मुख थुनी हत्या गरी पोखरीमा फालेका रहेछन्’, रौतहटका एसपी भूपेन्द्र खत्रीले बताए ।

बिमा गरेको एक महिनाभित्रमा बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले उनले बिमा गराएको एक महिना नपुग्दै छोरीको हत्या गरेका थिए । ‘२५ लाख बीमा रहेछ एक महिना नपुग्दै बीमा गरेको व्यक्ति मरेमा त्यसको डबल अर्थात् ५० लाख पाउने भएपछि छोरी हत्या गरेको बाबु आफैँले बयानमा स्वीकार गरेका छन्’, एसपी खत्रीले भने ‘यस्ता घटना समाजमा निकै विरलै मात्र घट्ने गर्छन् ।’

बिमा रकम लिनका लागि छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेपछि प्रहरीले उनको आर्थिक अवस्थाबारे पनि अनुसन्धान गरेको थियो । ‘आफ्नै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरी पोखरीमा फालेको खुलेपछि बाबुलाई नियन्त्रणमा लिएर उनको आर्थिक अवस्थाबारे अनुसन्धान गरेका थियौँ, बिमा गरेको रकम तिर्न सक्ने हैसियत हो कि होइन भन्ने बारेमा हाम्रो अनुसन्धान केन्द्रित हुँदा आर्थिक अवस्था कमजोर रहेको र डबल पैसा पाउने लोभमा हत्या गरेको देखिन्छ’, डिएसपी कार्कीले भने ।

उनको आर्थिक अवस्था कमजोर भएको र धेरै पैसा एकै पटक कमाउने योजनामा छोरीको बिमा गरेका थिए ।  बिमाबापतको प्रथम किस्ता करिब पौने २ लाख यादवले बैंकमा जम्मा गरेका थिए । पहिलो किस्ता पनि ऋण खोजेर बुझाएका थिए ।

रामकिशोरकी कान्छी छोरी हुन् लक्ष्मी । उनले छोरीको सुरक्षित भविष्यका लागि बिमा गराएका थिए । उनलाई कोही कसैले बिमा गरेको एक महिनामै  बिमकको मृत्यु भएमा डबल पैसा फिर्ता पाइन्छ भन्ने सुनायो, त्यसपछि उनमा छोटो समयमै धेरै पैसा कमाउने लोभ जाग्यो । रामकिशोरले पैसाको लोभमा बिमा गराएको २९ औं दिनमा छोरीको हत्या गरे । उनले छोरीलाई घरमै कुटपिट गरी हत्या गरेको र हत्यापछि शव पोखरीमा फालेर आफँै छोरी हराएको भन्दै प्रहरीलाई खबर गर्न पुगेका थिए । प्रहरीका अनुसार गत जेठ १९ गते छोरीको प्रभू लाइफ बिमा कम्पनीमा ३० लाखको बिमा गराउन खोजेका थिए ।  तर कम्पनीले ३० लाखको बिमा गर्न नमानेपछि उनले सोही कम्पनीमा छोरीको २५ लाखको बिमा गरेका हुन् ।

उनको आर्थिक अवस्था कमजोर भएकै कारण उनी तत्कालिन माओवादीले गरेको सशस्त्र द्वन्द्वमा समेत सामेल भएका थिए । द्वन्द्वकै क्रममा उनले विभिन्न मुद्दामा तीन वर्ष जेल सजाय समेत भोगेका  थिए । मुलुकमा द्वन्द्व सकिएपछि सामान्य जीवनयापन गर्दै आएका रामकिशोर यादवले छोरी हत्या गर्नुको प्रमुख कारण नै छिटो पैसा कमाउनु रहेको छ । हाल उनी मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत थुनामा रहेका छन् ।

एक करोड पाउने लोभमा श्रीमतीको हत्या गर्ने श्रीमान
गत असारमा पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल हराएको २५ दिनपछि नजिकैको जंगलमा फेला पर्‍यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय पुगेका लक्ष्मीका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए।

केही समय अघि रमेशले श्रीमती लक्ष्मीको नाममा युनियन लाइफ इन्सुरेन्समा १ करोडको जीवन बिमा गरेका थिए । त्यही रकम हात पार्ने र नातामा साली पर्नेसँग बिहे गर्ने सोचका साथ उनले कन्ट्याक्ट किलरमार्फत श्रीमतीको हत्या गराए ।

कास्की प्रहरीले सो घटनाको अनुसन्धान गर्दा रमेशले नै लक्ष्मीको योजनाबद्ध हत्या गरेको र जीवन बिमामार्फत एक करोड लिएर सालीसँग बिहे गर्ने योजना रहेको रहस्य खुलेको थियो । श्रीमतीको हत्या गर्नु चार महिना अघि मात्रै जीवन बिमा गराएका थिए । रमेश सालीसँग नजिक भएका थिए त्यसयता उनले श्रीमतीको जीवन बिमा गराएका थिए । कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार हत्या हुनु चार महिना अघि मात्रै करोडको जीवन बिमा गराएर त्यो पैसा लिने दाउमा रहेका थिए । तर उनको आर्थिक अवस्था हेर्दा एक करोडको बिमा रमक जम्मा गर्ने हैसियत थिएन । प्रहरीले यी सबै तथ्य विश्लेषण गरेर अनुसन्धानको पाटो रमेशतिरै सोझ्याएको थियो ।

यसरी भएको थियो हत्या
रमेश पोखराको रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै सामान्य मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीया लक्ष्मी गृहणी थिइन् । श्रीमान्लाई हरेक बिहान पसलमै खाना पुर्‍याउने उनको दैनिकी थियो । लक्ष्मीलाई छालाको एलर्जी थियो

छालाको एलर्जी भएपछि उनीहरु उपचारका लागि धेरै ठाउँ धाएका थिए । योजनाबमोजिम असार १ मा छालाको एलर्जी उपचारका लागि रमेश दम्पती नजिकैको जंगलमा जडिबुटी खोज्न गए । त्यही जंगलमा रमेशले श्रीमतीको हत्या गराए ।

हत्यापछि रमेशले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजतलास गरिदिन निवेदन दिए । उनले उक्त दिन श्रीमतीलाई पसल कुर्न भनी कालिकाचोकमा छोडेर आफू मोबाइलसम्बन्धी कामले साथी भेट्न गएको प्रहरीलाई बताएका थिए । डेढ लाख रुपैयाँसमेत श्रीमतीको साथमा भएको उनले जानकारी दिए ।

एसपी कार्कीका अनुसार श्रीमती खोजिदिन प्रहरीलाई पटक–पटक आग्रह गरिरहे । एसपी कार्कीले पनि डिएसपी राजकुमार केसीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान जारी राखे । असार ११ मा लक्ष्मीकी आमा पिठुमाया परियारले पनि खोजतलास गरिदिन प्रहरीमा निवेदन दिइन् । लक्ष्मीको माइती पक्ष, श्रीमान् र प्रहरी मिलेर लक्ष्मीको खोजी गरिरहे पनि कतै पत्ता लागेन ।  

तर अनुसन्धान अधिकृत डिएसपी राजकुमार केसीले रमेशको हिमचिम गोरखा घर भएकी अनुपरियारसँग रहेको पत्ता लगाए । त्यसपछि उनले अनुसन्धानको तिर रमेशतिरै सोझ्याएका थिए । ‘केही समयदेखि रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको पत्ता लाग्यो । अनुसँगको सम्बन्धबारे वर्षदिन अघि लक्ष्मीले चाल पाएपछि त्यसैमा घरझगडा भएको माइती पक्षले बयान दिए । त्यतिबेला लक्ष्मीले बहिनीलाई झपारेको कुरा पत्ता लाग्यो,’ डिएसपी केसीले भने ।

एक वर्षदेखि रमेशले श्रीमती हत्याको तानाबाना बुनेका थिए । ‘लक्ष्मीले आफ्नो बदनाम गरेको अनुले ठानिन्,’ कास्कीका डिएसपी केसीले भने, ‘अनुले दिदीलाई साइड लगाइदिनुस् भनेर रमेशलाई भनेपछि हत्याको योजना बनेको देखिन्छ ।’ गोरखाको गण्डकी–७, घ्याल्चोककी १९ वर्षीया अनु र रमेशबीच अन्तरंग सम्बन्ध रहेको र रमेशले पटक–पटक पैसा पठाएको अनुसन्धानक्रममा देखिएको थियो ।
हत्यामा ‘कन्ट्याक्ट किलर’

कास्की प्रहरीका अनुसार रमेशले भोजपुर नगरपालिका–५, बैंकरोड घर भई पोखराको महेन्द्रपुलमा मोबाइल पसल चलाउने सञ्जय शर्मालाई ‘एकजना महिलाको हत्या गर्नुपर्ने र त्यसबापत राम्रो रकम आउने’ बताए । अर्का साथी सर्लाही ईश्वरपुर–३, तीनघरिया घर भई पोखरा पृथ्वीचोकमा मोबाइल पसल गर्ने चित्तरञ्जन साहसँग पनि सल्लाह गरे । साहले १० लाख रुपैयाँमा भारतबाट मान्छे झिकाउने उनीहरुले हत्या गर्ने बताए ।  उनैले भारतस्थित आफ्नो मावलीतिरबाट ३ पेसेवर हत्यारालाई नेपाल झिकाए । जेठ ३० मा ३ भारतीय ‘कन्ट्याक्ट किलर’ पोखराको पृथ्वीचोकस्थित कोसी होटलमा बसे । होटलले उनीहरूको विवरण राखेन । त्यहाँ बस्ने व्यवस्था सञ्जय र चित्तरञ्जनले मिलाए ।

जेठ ३१ मा रमेशले सञ्जयलाई एक लाख रुपैयाँ दिए । उक्त दिन हत्या गर्ने ठाउँ रोज्न पोखरा–२२ पुम्दीभुम्दीको कर्कले जंगलमा रमेश, सञ्जय, चित्तरञ्जन र ३ भारतीय पुगे । सिद्धार्थ राजमार्गछेउको उक्त जंगलमा हत्या गर्ने योजना बनाएर फर्किए ।

असार १ को बिहान रमेश र सञ्जयले लेकसाइडबाट ग११प ८००३ नम्बरको स्कुटर भाडामा लिए । रमेश स्कुटर लिएर पसल पुगे । सञ्जयले नयाँबजारबाट ग१च २३६३ नम्बरको कार भाडामा लिए । चित्तरञ्जन र ३ भारतीयलाई गाडीमा राखेर कर्कलेको जंगलतिर गए ।

रमेशले पनि पसलमा गएर श्रीमतीलाई खुट्टामा भएको एलर्जी निको पार्ने जडिबुटी खोज्न जंगलतिर जाने भन्दै लगे । कर्कले पुगेर केहीबेर दुवैले जडिबुटी पनि खोजे । खोज्दाखोज्दै रमेशले आफूलाई पिसाब लागेको बताएर आफू छलिए । रमेशकै योजनाबमोजिम पहिले नै जंगलमा पुगेका भारतीयले लक्ष्मीको मुख र आँखामा सल बाँधेर चक्कुले घाँटी रेटी हत्या गरे ।लासलाई जंगलमै छोडेर रमेश राजमार्गमा निस्किए । सञ्जयलाई ५ लाख रुपैयाँ दिए । बाँकी ४ लाख केही दिनपछि दिने वाचा गरे । हत्या गर्ने ३ भारतीय त्यही दिन भारततर्फ लागे । बाँकी रकम चित्तरञ्जनमार्फत पठाउने सहमति भयो । हत्याको केही समयपछि रमेशले आफ्नो घर र लक्ष्मीको माइतीतिर फोन गरेर श्रीमती हराएको जानकारी गराएका थिए । लक्ष्मीको हत्यापछि उनी बिमा रकम दाबी गर्न पुगेका थिए । श्रीमतीको मृत्यु भएको भन्दै रकम दाबी गर्न पुग्नुले पनि प्रहरीलाई उनीमाथि शंका गर्ने आधार बनेको थियो ।

१२ वर्ष अघि पनि यस्तै घटना
नेपाल लाइफ इन्सुरेन्समा १२ वर्षमा गोविन्द आचार्य भन्ने व्यक्तिले श्रीमतीको बीमा गरेपछि हत्या गरिदिए । आचार्यले विवाह गरेको केही दिनमै २५ लाख रुपैयाँको बीमा गरे । आचार्यले दुई पटक भुक्तानी गरेपछि श्रीमतीको हत्या गरी बीमा रकम दाबी गर्न गएका थिए ।

बीमा कम्पनीमा रकम दाबी गरेपछि माइती पक्षले मृत्युमा शंका गर्दै प्रहरीमा उजुरी हाले । प्रहरीमा उजुरी परेपछि बीमा कम्पनीले रकम दिएन । उजुरीसँगै प्रहरीले अनुसन्धान अघि बढायो । प्रहरीको अनुसन्धानबाट श्रीमानले एक वर्षदेखि नियमित रुपमा ब्लड प्रेसरको औषधी पिँधेर खुवाउने गरेको त्यसबाट नै श्रीमतीको हत्या भएको पत्ता लागेपछि आचार्यलाई पक्राउ गरिएको थियो ।

छिटो पैसा कमाउने मोजमस्ती गर्ने भोक


दानबहादुर कार्की
एसपी कास्की
लक्ष्मी नेपालीको हत्या भएको विषयमा निकै अनुसन्धान गरियो । डिएसपी राजकुमार केसी यसको अनुसन्धान अधिकृत हुन् । उनकै कमाण्डमा यसको सफल अनुसन्धान भएको हो । खास गरी लक्ष्मीका श्रीमान् रमेशले श्रीमतीको नाममा एक करोडको बिमा गरिएको पाइयो । श्रीमतीको हत्यापछि एक करोड लिने र त्यही पैसाले साली भिना विवाह गर्ने सोच रहेको देखिन्छ । एक वर्षअघि देखि उनको नातामा साली पर्नेसँग सम्बन्ध रहेको थाहा पाएपछि लक्ष्मीले बहिनी अनुलाई गाली गरेको र तर उनीहरुबीचको सम्बन्ध भने कायमै रहेको देखिन्छ । त्यो बीचमा उनले लक्ष्मीको नाममा जीवन बिमा गरिदिए ।

उनको सोचाइमा के रह्यो भने बीमाको रकम प्राप्त हुने र यो कुरा सहजै सल्टाउन सकिन्छ । तर परिस्थिति त्यस्तो देखिएन । यदि उनले श्रीमतीको नाममा एक करोडको बिमा गरेका थिएनन् भने पनि हत्या नहुन सक्थ्यो । बिमा कम्पनीले उनको आयस्रोत हेरेर बीमा गरिदिएको भए उनले २० देखि २५ लाखमो बीमा गर्न सक्थे होलान् तर कम्पनीले उनकै प्रस्तावमा एक करोडको बिमा गरिदियो । उनी सहजै पैसा आउने सपना देख्न थाले त्यससँगै सालीसँगको मायाप्रेम पनि उनका लागि लोभलाग्दो नै थियो । त्यसकारण उनले लक्ष्मीलाई पन्छाउन खोज्दा हत्यासम्मको बाटो रोजेका हुन सक्छन् ।

मलाई के लाग्छ भने यस्ता घटना एउटा त पैसाकै कारणले भएका हुन् भने अर्को चाहिँ श्रीमतीसँगको घर झगडा र त्यहाँ मिसिन आउने दोस्रो युवतीकै कारण यस्ता आपराधिक घटना हुने गरेका छन् । छिट्टै पैसा कमाउने लोभले मानिसलाई पारिवारिक अपराधको बाटोसम्म धकेल्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।

आफ्नै सन्तानको हत्या विरलै


भूपेन्द्र खत्री
एसपी रौतहट
आफ्नै सन्तानको हत्या सायद विरलै सुनिन्छ । भए पनि कतिपय सन्दर्भमा भवितव्यका रुपमा हुने गरेका छन् । बिमा रकम हात पार्नकै लागि भनेर कोही पनि बाबु आमाले आफ्ना सन्तानको हत्या गर्छन् भन्ने कुरा सोच्न पनि सकिन्न । तर रौतहटमा भएको यो घटना निकै आश्चर्यजनक रहेको छ । आमाकै काखबाट थुतेर घाँटी थिची हत्या गर्ने र अपहरणमा पर्‍यो भन्दै प्रहरी कार्यालयमा खबर गर्ने कस्तो बाबु होला ? त्यसकारण मानिस यस्तो अवस्थाका किन क्रुर बन्दै गएको छ अहिलेको समाज किन यस्तो क्रुर हुँदै गएको छ ? यो ज्वलन्त प्रश्न हो । आर्थिक अवस्था बलियो थियो भने यो अवस्था आउँदैनथ्यो कि ?

आफन्तबाटै ७ सय ४ जनाको हत्या
पछिल्ला चार वर्षमा आफन्तबाटै ७ सय ४ जनाको हत्या भएको छ । नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ७ सय ४ जनाको हत्या भएको देखाएको हो । जसअनुसार श्रीमान्ले श्रीमतीदेखि श्रीमतीले श्रीमान् र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासू ससुरासम्मको हत्या गरेका छन् ।
तथ्यांकअनुसार पछिल्ला चार वर्षमा श्रीमान्बाट २ सय ७५ जना श्रीमतीको हत्या भएको छ । यस्तै यसबीचमा श्रीमतीबाट ५८ जना श्रीमान् मारिएका छन् ।  ७९ प्रतिशत आफन्तबाटै भएको प्रहरी तथ्यांक छ ।

यस्तै, छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको, यस्तै, आमाले २४ जना वयस्क छोराछोरीको हत्या गरेको प्रहरीको विगत चार वर्षको तथ्यांकले देखाउँछ ।

 

 

प्रकाशित: ८ मंसिर २०७६ ०९:५६ आइतबार

बिमा रकम अपराध नागरिक परिवार