अन्य

‘श्रमजीवीलाई सम्मान गर्न सिकाउँछन्’

निनु चापागाईं

खोजेको पुस्तक
अहिलेसम्म म केही पुस्तक खोजिरहेको छु। त्यसमध्ये एक हो, रुसी माक्र्सवादी सौन्दर्यशास्त्री अभ्नेर जिसको पुस्तक ‘लेक्चर्स इन् माक्र्सिस–लेनिनिस्ट एस्थेटिक्स, भोल्युम–२’। यस पुस्तकका बारेमा मैले सन् १९७७ मा प्रकाशित उनकै अर्को पुस्तक ‘फाउन्डेसन्स् अफ् माक्र्सिस्ट एस्थेटिक्स’को ‘कभर फ्ल्याप’को दोस्रो पृष्ठबाट जानकारी पाएको थिएँ। उनले लेखेका पुस्तकको सूचीमा अन्यत्र पनि यस कृतिको उल्लेख भेटिन्छ। पुस्तक भने अहिलेसम्म कतै फेला परेको छैन।

कतिपय विषयमा आलोचनात्मक दृष्टिले अध्ययन गर्नुपर्ने भए पनि जिस माक्र्सवादी सौन्दर्यशास्त्रका सुपरिचित विद्वान् र आधिकारिक व्याख्याता समेत हुन्। उनी ‘अस्थेटिक्स एन्ड जनरल थ्यौरी अफ आर्ट अफ् द रसियन इन्स्टिच्युट अफ् आर्ट स्टडिज डेपार्टमेन्ट’का प्रमुख थिए, सन् १९७७ पछि। त्यस्तै, माक्र्सवादी विद्वान् जर्ज थम्सनले बकिङ्घममा दिएको कविता–कलासम्बन्धी व्याख्यानलाई ‘माक्र्सिजम् एन्ड पोयट्री– १९४६’ शीर्षकमा कृतिबद्ध गरिएको थियो, यसलाई पनि खोजेको धेरैपछि भारतको कलकत्ता सहरको एउटा पुस्तक पसलमा फेला पारेको थिएँ। मैले धेरै पहिलेदेखि खोजेको, तर फेला पार्न नसकेको एउटा कृति ‘ब्रेच्ट अन थियटर द डेभलपमेन्ट अफ् एन् अस्थेटिक्स–१९५७’ क्यानेडेली मित्र मेरी डेसेनले उपहार दिएपछि मात्र पाएको थिएँ।

सौन्दर्यशास्त्री जर्ज लुकाचका तीन कृति ‘राइटर एन्ड क्रिटिक एन्ड अदर एस्सेज्– १९७०’, ‘माक्र्सिजम् एन्ड ह्युमन एन्ड लिबरेसन– १९७३’ र ‘द मिनिङ अफ् कन्टेमपोररी रिअलिजम्– १९६३’ पनि निकै खोजबिनपछि मात्र पाएको थिएँ।
रमाइलो कुरो के छ भने, पछिल्लो किताब मैले थुप्रै ठाउँमा खोजेर फेला पारेँ, तर त्यसमा संलग्न तीनवटा लेख मैले पहिले नै अन्य स्रोतबाट पढिसकेको रहेछु।

पुस्तकप्रति रुचि
पुस्तकतिर कसरी आकर्षित भएँ भन्ने किटानका साथ भन्न सक्दिनँ। पठन संस्कृतितिर अलि बढी नै लहसिएको परिवारमा मेरो जन्म भयोे। आमाबुबा असाध्यै पठनप्रिय हुनुहुन्थ्यो। बुबा स्थानीय र जिल्ला तहकै प्रतिष्ठित विद्वान् र पण्डितका रूपमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले आफ्नो सम्पूर्ण जीवन शिक्षाको विकासमा समर्पित गर्नुभयो भन्दा अतिशयोक्ति हुनेछैन। धार्मिक क्रियाकलापबारे उठेका विवादमा उहाँको निर्णयलाई वरिपरिका कसैले काट्ने साहस गर्दैनथे।

छोराछोरी पढाइमा पछि नपरून्, त्यसमा अब्बल होऊन् र  घरमा पनि पढाइका लागि अनुकूल परिस्थिति पाऊन् भन्ने सोचले विद्यालयका गुरुलाई घरमै राखेर खानपानको व्यवस्था गरी पढाउने प्रबन्ध मिलाइएको थियो। सानैमा, सायद ४–५ कक्षातिर पढ्दादेखि नै हुनुपर्छ आमाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, माधव घिमिरेको ‘गौरी’ र जगन्नाथ उपाध्यायको ‘गुणरत्नमाला’ लगायत पुस्तक लय हालेर वाचन गर्न लगाउनुहुन्थ्यो र सुन्ने गर्नुहुन्थ्यो। ‘षडानन्द संस्कृत प्रधान पाठशाला’का प्रधानाध्यापक गुरु हरिप्रसाद काफ्ले हामीलाई पढाउन हाम्रै घरमा बस्नुहुन्थ्यो। उहाँले संस्कृत र हिन्दी साहित्यका नाम चलेका साहित्यकार र तिनका कृतिका बारेमा समेत चर्चा र व्याख्या गर्नुहुन्थ्यो। यी सब पारिवारिक वातावरणले नै पुस्तकतिर मेरो रुचि बढेको हुनुपर्छ।

मैले जीवनमा जे जति सकारात्मक कुराहरू सिकेको छु, निःसन्देह ती अधिकांश पुस्तकबाटै हासिल गरेको छु। अज्ञानता र असभ्यताको भासबाट मलाई एक सीमासम्म उकास्ने काम पनि पुस्तकहरूले नै गरेका हुन्। कतिपय अवस्थामा पुस्तकले मेरा सामु जीवनको अर्थ के हो, जीवनमा मानिसको स्थान के हो र कहाँनिर छ भन्ने कुराका बारेमा अन्तज्र्ञान गराउने काम गरिरहन्छन्।

उमेर र पुस्तक
मैले मनपराएका थुप्रै पुस्तक छन्। पुस्तक मनपराउनमा उमेरको पनि भूमिका देख्छु। जति उमेर पाक्तै गयो, त्यति नै पुस्तक मनपराइमा फेरबदल आउने रहेछ। बाल्यकालमा कुनै पुस्तकले बढी प्रभाव पारेको हुन्छ भने यौवनकालमा अरु कुनै पुस्तकले। उमेर अझ पाको हुँदै गएपछि अरु नै पुस्तकले प्रभाव पारेका हुन्छन्। विषयका दृष्टिले पनि प्रभाव पार्ने किताब फरक–फरक छन्। मेरा रुचिका विभिन्न विषय छन् र ती विषयका भिन्दाभिन्दै पुस्तक प्रभावकारी पनि छन्। दर्शनशास्त्र, सौन्दर्यशास्त्र, समालोचना, संस्कृति जस्ता विषयप्रति मेरो अलि बढी अभिरुचि छ। समाजशास्त्र, साहित्य पनि मेरो रुचिका विषयभित्र पर्छन्।

मलाई सबभन्दा पहिले र सबभन्दा बढी प्रभाव पारेको पुस्तक हो, ‘भोल्गा से गङ्गा’। महापण्डित राहुल सांस्कृत्यायनको प्रसिद्ध यस कृतिले भारोपेली मानव समाजको सभ्यताको विकासलाई अलि विस्तृत रूपमा चित्रण गर्छ। ६००० ईपूदेखि १९४२ सम्मको कालखण्डको मानव समाजको ऐतिहासिक, आर्थिक एवम् राजनीतिक अध्ययन यस पुस्तकमा प्रस्तुत गरिएको छ। २० वटा कहानीका माध्यमबाट मातृसत्तात्मक समाजमा महिलाको वर्चस्वलाई यस पुस्तकमा राम्ररी देखाइएको छ। सायद यो कृति लेख्तासम्म प्रामाणिक, वैज्ञानिक वस्तुगत तथ्य पर्याप्त मात्रामा आइनसकेको कारणले पनि हुनुपर्छ, अहिले आएर मलाई यो पुस्तक अलि बढी काल्पनिक हो कि भन्ने लागेको छ। तर समाज विकासको कथालाई यसले अति रोचक तरिकाले प्रस्तुत गरेको छ। यसले मलाई संसारलाई वस्तुवादी, भौतिकवादी र वैज्ञानिक रूपले हेर्नुपर्छ, अन्धविश्वासका आधारमा र धार्मिक दृष्टिकोणले होइन भन्ने गहन शिक्षा दियो।

मलाई असाध्यै प्रभाव पारेको अर्को कृति हो– महान् रुसी साहित्यकार गोर्कीको ‘आमा’ उपन्यास। कारखानाका क्रान्तिकारी मजदुरको कथा र रुसी क्रान्तिकारी आन्दोलनमा आधारित छ, यो उपन्यास। सन् १९०५ मा रुसको पहिलो क्रान्तिको पराजयपछि रुसी जनताको क्रान्तिकारी भावना र जोस कुण्ठित नहोस् र त्यसमा उत्साह थपियोस् भन्ने उद्देश्यले गोर्कीले सन् १९०६ मा यो उपन्यास लेखेका थिए। उपन्यास सन् १९०२ मा सोर्मोनो भन्ने ठाउँमा मई दिवसको प्रदर्शनका क्रममा घटेको वास्तविक घटनामा आधारित छ। यसमा नायक प्योत्र जालोमोभलाई जारका पुलिसले गिरफ्तार गरेपछि उनकी आमा अन्ना जालोमोभाले छोराको क्रान्तिकारी आन्दोलन र गतिविधिलाई अघि बढाउने उत्साहवद्र्धक काम गर्छिन्। यसले विश्वका लाखौं मानिसलाई क्रान्तिकारी गतिविधिमा लाग्न उत्प्रेरणा दिए जस्तै मलाई पनि सामाजिक विभेद र शोषण–उत्पीडनमा आधारित नेपाली समाजलाई परिवर्तन गरेर सामाजिक विभेद नभएको, शोषण–उत्पीडनहीन, सामाजिक न्यायमा आधारित समाज बनाउने अभियानमा लाग्न प्रेरित गरेको थियो।

कस्ता पुस्तक पढ्ने?
यो पुस्तक पढ्न हुन्छ र यो पढ्न हुँदैन भन्ने खालको सोच म राख्तिनँ। पुस्तक ज्ञानका स्रोत हुन्, कुनै पनि ज्ञान अनुपयोगी हुँदैन। त्यसलाई कसरी उपयोग गर्ने भन्ने कुरा हामी आफैँमा भर पर्छ। महान् साहित्यकार गोर्कीको भनाइमा इमानदारीका साथ लेखिएको, मानिसलाई माया गर्ने, असल आसय भएको कुनै पनि पुस्तक तपाईंकै विश्वासको प्रतिकूल छ भने पनि प्रशंसालायक हुन्छ।

तर, मेरो प्राथमिकतामा त्यस्ता किताब बढी पर्छन्, जसले पशुताबाट मानवतामा पाइला टेक्न, समुन्नत जीवनको समझदारीमा पुग्न र त्यो समुन्नत जीवन हासिल गर्नका लागि प्रेरित गर्छन्। अहिलेसम्मको अध्ययनबाट मैले पाएको ज्ञान के हो भने मानिसका सम्पूर्ण कामको उद्देश्य पुरानो संसारलाई बदलेर नयाँको निर्माण गर्नु हो। त्यसैले यसमा बल पु¥याउने पुस्तकहरू नै मेरो प्राथमिकतामा पर्छन्। सारमा भन्दा सामाजिक सरोकारका विषयवस्तुलाई महŒव दिने र सामाजिक महŒवका विषयलाई उद्घाटन गर्ने, वास्तविकताप्रति आलोचनात्मक दृष्टिकोण राख्ने, समाजका खराबीहरूको अनावरण गर्ने, पारिवारिक संस्कार र धार्मिक जडता वा कानुनी दाउपेचहरूको बन्धनबाट मुक्तिको बाटो देखाउने पुस्तकलाई म बढी मन पराउँछु।

पुस्तकको उज्यालो
गहन विषयवस्तुलाई कलात्मक सरलताका साथ प्रस्तुत गर्ने कृतिले नै समाजलाई सहज रूपले बढी प्रभाव पार्न सक्छ। आम जनताको सरोकारसित गाँसिएको, युगको आवश्यकतालाई आत्मसात् गरेको र सामाजिक उपादेयतालाई ख्याल गरेर लेखिएको पुस्तक नै बढी प्रभावकारी होला भन्ने म ठान्छु।

१८औं शताब्दी यताको मानव समाज विशेषतः समाजवादी चिन्तनको वरिपरि घुमिरहेको पाइन्छ। स्वतन्त्रता, समानता र भ्रातृत्वको नारासहित अघि आएको समाजवादी चिन्तन परिमार्जित हुँदै वैज्ञानिक समाजवादसम्म आइपुगेको छ। आजको विश्व यही वैज्ञानिक समाजवाद र काल्पनिक समाजवादको शिविरमा विभाजित छ। यहाँ मैले काल्पनिक समाजवाद पारिभाषिक अर्थमा मात्र प्रयोग गरेको छैन। समाजवादको कुरा गर्दागर्दै पनि वैज्ञानिक समाजवादलाई अस्वीकार गर्ने, सम्पूर्ण सामाजिक असमानताको कारक निजी सम्पत्तिलाई जोगाएर शोषणलाई यथावत राख्न खोज्ने समाजवादका अन्य सबै धारालाई मैले यसभित्र समावेश गरेको छु। समाजवादप्रति वैरभाव राख्ने पुँजीवादी–साम्राज्यवादी चिन्तन समाजवादको प्रतिषेध मात्र हो। बेला–बेला अघि आउने उत्तरवादी जस्ता चिन्तन पनि वैज्ञानिक समाजवादकै भयबाट ग्रस्त छन् र पुँजीवादलाई स्थायित्व प्रदान गर्न चिन्तातुर देखिन्छन्। तर, आफ्नै आन्तरिक संकटका कारण त्यसले स्थायित्व प्राप्त गर्न सक्ने कुरामा पुँजीवादी चिन्तकहरू आफैँ पनि विश्वस्त हुन सकिरहेका छैनन्।

मेरा निम्ति पुस्तक ज्ञानको मात्र स्रोत नभएर आनन्दको समेत हो। मनलाई अनुशासित बनाउन, जीवनको अवबोधन र संज्ञानलाई विकसित गर्न र जीवनको ज्ञानबाट समृद्ध बनाउन पुस्तकहरूको असाधारण महत्व छ। जीवनका अप्ठेरा मोडमा आफ्नो उद्देश्यमा अडिग रहन हौसला र प्रेरणा दिने, जीवनलाई सहज रूपबाट जिउन सिकाउने र अन्योलको अवस्थामा मार्ग निर्देशन गर्ने मेरा लागि अन्तरंग मित्र समेत हुन्, पुस्तकहरू। मैले जीवनमा जे जति सकारात्मक कुराहरू सिकेको छु, निःसन्देह ती अधिकांश पुस्तकबाटै हासिल गरेको छु।

यद्यपि मेरो पारिवारिक सांस्कृतिक उत्तरदानले पनि त्यसमा केही भूमिका खेलेको हुनुपर्छ। अज्ञानता र असभ्यताको भासबाट मलाई एक सीमासम्म उकास्ने काम पनि पुस्तकहरूले नै गरेका हुन्। कतिपय अवस्थामा पुस्तकले मेरा सामु जीवनको अर्थ के हो, जीवनमा मानिसको स्थान के हो र कहाँनिर छ भन्ने कुराका बारेमा अन्तज्र्ञान गराउने काम गरिरहन्छन्। मेरो संसारको सीमालाई कता हो कता विस्तृत र व्यापक बनाएर समुन्नत जीवन प्राप्त गर्न सारा मानिसले गरेका प्रयत्नको महत्ता र सौन्दर्यका बारेमा, मानिसले हासिल गरेको उपलब्धिको महत्वका बारेमा, तिनलाई प्राप्त गर्न मानिसले भोगेका भयावह दुःखकष्टहरू र अति चर्को मूल्यका बारेमा जानकारी दिएर श्रम र संसारभरका श्रमजीवी जनतालाई माया र आदर सम्मान गर्न सिकाएका छन्, तिनको अनवरत र उच्च प्रयत्नले हासिल गरेका अति राम्रा उपलब्धिका लागि हार्दिक रूपले प्रशंसा गर्न सिकाएका छन्। पुस्तक अध्ययन सबै युगका महान् मनहरू र जनतासँगको घुलनको रहस्यमय प्रक्रिया हो भन्ने गोर्कीको धारणा एकदमै सही छ।

पछिल्लोपटक मैले अलि गम्भीर भएर पढेको पुस्तक हो, मई २०१९ मा परिकल्पना प्रकाशनबाट प्रकाशित भारतीय युवा कवि कविता कृष्णपल्लवीको कृति ‘नगर में बर्बर ः अँधेरे समय की कुछ कविताएँ और कुछ किस्से।’ भारतमा मौलाउँदै गएको फासीवाद, समाज रूपान्तरणका कुरा गर्ने एकथरी बौद्धिकहरूको बौद्धिक दरिद्रता, तिनको सत्तासँगको साँठगाँठ, वामपन्थी भनिने बौद्धिकहरूमा देखापरेको वैचारिक विचलन, निजी स्वार्थलाई महत्व दिने प्रवृत्ति आदिलाई उनले यसमा चित्रण गरेकी छन्, अँध्यारो समय भनेर यस्ता प्रवृत्तिलाई नै उनले संकेत गरेकी छन् र तिनको कटु आलोचना गरेकी छन्।

धर्मग्रन्थको प्रभाव
अन्धविश्वास, धार्मिक कट्टरता, रूढीवादजस्ता कुराको प्रभुत्व पूर्वीय समाजमा रहनु र वैज्ञानिक विषयले आवश्यक मात्रामा महत्व नपाउनुको कारण यस्तो भएको हुनुपर्छ। सामन्ती चिन्तनको जरो धर्म हो र यही धर्मको अत्यधिक बोलबाला भएका कारण उल्लिखित धार्मिक पुस्तकले बढी महत्व पाएका हुन्।

नेपाली समाजमा विशेष गरी हिन्दू समाजमा धर्मग्रन्थको प्रभाव अति गहिरो गरी जमेर बसेको छ। वास्तवमा यो प्रभाव समाजको प्रगतिको बाटोमा सबभन्दा दरिलो व्यवधानका रूपमा छ। मेरो दृष्टिमा सबै समर्पण वा सहिष्णुता खराब हो, किनभने यसले खराबीलाई बलियो बनाउँछ। अनि समर्पण वा आत्मसमर्पणका सम्पूर्ण नियमको स्रोत धर्मशास्त्र नै हो। यसका विपरीत स्वतन्त्रताका नियम सबै विज्ञानबाट निस्कन्छन्, अर्थात् मानिसको मस्तिष्कबाट। मानवशास्त्री डोरबहादुर बिस्टले भाग्यवादी प्रवृत्तिले गर्दा नेपाली समाजमा पुनर्जागरण हुन पाएन, समाजलाई अकर्मण्य र पलायनवादी बनायो भनेर लेख्नुका पछाडि यही कारण छ। आधुनिकीकरणको बाधक भाग्यवाद हो भनेर उनले आफ्नो पुस्तक ‘फेटालिजम् एन्ड डेभलपमेन्ट ः नेपाल्स् स्ट्रगल फर मोर्डनाइजेसन’मा गहन विश्लेषण गरेका छन्।

धर्मले पुरानो संसारको पक्षपोषण गर्छ, सामन्ती समाजलाई भरथेग गर्दछ। यसले प्राचीन चिन्तनको पक्षमा आधुनिक चिन्तनको डटेर मुकाबिला गर्छ। त्यसैले धार्मिक पुस्तकले सामाजिक न्यायमा सकारात्मक होइन, नकारात्मक प्रभाव पार्छन्। चार वर्णको हिन्दू चिन्तनलाई प्रश्रय दिनु, पुनर्जन्मवाद, भाग्यवाद, कर्मवाद, ईश्वरवाद आदिको पक्षपोषण गर्नु यसको काम र उद्देश्य हो। यसले सामाजिक न्यायको पक्ष लिँदैन, बरु त्यसको विरोध गर्छ। त्यसैले सम्पूर्ण विपक्षी मतहरू धर्मग्रन्थका विरुद्ध निर्देशित हुनैपर्छ। अनि मात्र वैज्ञानिक, प्रगतिशील र लोकतान्त्रिक चिन्तनले प्रश्रय पाउन सक्छ।

पुरस्कार
पुरस्कार पाएकै आधारमा तिनलाई नपढी हुँदैन भन्ने खालको पूर्वाग्रह ममा छैन। पुरस्कृत पुस्तक अध्ययनको साधारण प्रक्रियाकै क्रममा प्रशस्त पढेको छु, पढ्छु पनि। स्रष्टाको मिहिनेत, विषयवस्तुको महत्ता र सामाजिक योगदानको कदरस्वरूप पुरस्कार दिनु नराम्रो होइन। तर, पुरस्कारहरू प्रायः त्यसरी दिइएको भने देखिन्न। नोबेल पुरस्कारजस्ता नाम चलेका पुरस्कार समेत पुस्तकको महत्व, उपादेयता र योगदानका आधारमा भन्दा अरू कुराबाट सञ्चालित भनी पटकपटक सार्वजनिक भइरहेकै हुन्। कृतिको विशिष्टतालाई र महत्वलाई महत्व नदिई राजनीतिक, पारिवारिक वा कुनै अन्य आधारमा पुरस्कार दिइने परिपाटी व्यापक भएको हालको अवस्थामा पुरस्कारले कृतिको महत्तालाई कति पुष्टि गर्न सक्ला मलाई संशय छ। यसले त पुरस्कारकै बारेमा नकारात्मक सोच बढाउने काम गरेको म देख्छु।

पुस्तकालय
मैले विद्यालयीय पढाइताका पुस्तकालयको प्रयोग गर्न पाइनँ। २०२० सालमा काठमाडौं आएपछि मात्र मैले पुस्तकालय सदुपयोग गर्न सिकेँ। मैले सबैभन्दा पहिले र सबैभन्दा बढी उपयोगमा ल्याएको पुस्तकालय हो, रानीपोखरी संस्कृत छात्रावासको पुस्तकालय। त्यतिखेर राम्रै पुस्तकालयमा यसको गणना हुन्थ्यो। साहित्य–संस्कृति, दर्शनशास्त्र, राजनीतिशास्त्रका प्रारम्भिक चरणका अधिकांश पुस्तकहरू मैले यहीँ नै पढेको हुँ। त्यसपछि मैले नेपाल–भारत–मैत्री पुस्तकालय, त्रिवि केन्द्रीय पुस्तकालय र ब्रिटिस लाइब्रेरीको उपयोग गरेको हुँ।

प्रकाशित: ७ मंसिर २०७६ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App