अन्य

भक्तपुरमा कोसेली घर

युनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुर नगर क्षेत्र घुम्न बर्सेनी लाखौं पर्यटक आउँछन्। उनीहरू नेवार जीवनशैली र संस्कृतिमा रमाउँछन्। पुरातात्विक महत्वका दरबार क्षेत्र, न्यातापोल, दत्तात्रय क्षेत्र, पोटरी स्क्वायर लगायत सम्पदा घुम्छन्। नेवार संस्कृतिको खुल्ला संग्रहालय मानिन्छ भक्तपुर। 

क्यामेरामा, आँखामा र मनमा भक्तपुरलाई सजाएर फर्कनु अघि पर्यटक थप कोसेली पनि किन्छन्। उनीहरूको रोजाईमा हस्तकला पर्दछ। कोसेली किन्नका लागि नगरभरि छन् पसलहरू। भर्खरै भक्तपुर घरेलु तथा साना उद्योग संघले दत्तात्रय मन्दिर क्षेत्रमा एउटा कोसेली घर सञ्चालनमा ल्याएको छ। 

कोसेली घरमा काष्ठकला, माटो तथा सेरामिक्सका सामान, नेपाली कागजका कला, पश्मिना, भादगाउँले टोपी, बच्चाहरूको खेलौना, हाकुपटासी, भादगाउँले मसला, खुकुरी, मास्क, अचार, साबुन लगायत सामाग्री पाइन्छ।

संघले स्थानीय उद्यमीले उत्पादन गरेका सामान संकलन गरेर विक्रि गर्दै आएको छ। ‘विदेशी र नेपाली दुबै खाले पर्यटकका लागि कोसेली घर सञ्चालन गरेका हौं’, कोसेली घरको व्यवस्थापन हेर्दै आएका जयराम प्रजापति भन्छन्, ‘हामी विशेषतः भक्तपुरका मौलिक सामान प्रवद्र्धन गर्दै छौं।’
कोसेली घर बिहान ८ः३० देखि बेलुकी ८ बजेसम्म खुल्छ।

प्रकाशित: ७ भाद्र २०७६ ०८:४९ शनिबार

विश्व सम्पदा भक्तपुर