अन्य

सम्पादनमा मानव जाति

सरकारको प्राथमिकताका बाबजुद नेपालमा आधारभूत स्वास्थ्य सेवाको स्थिति सुधार हुन सकिरहेको छैन। पछिल्लो समय सरकारले सर्वसाधारणको स्वास्थ्य बीमासम्बन्धी पाइलट प्रोजेक्ट केही जिल्लामा शुरु गरिसकेको छ। यो व्यवस्थाले रोगको उपचार गर्न अक्षम सर्वसाधारणले घरमै पीडा सहेर बस्नुभन्दा थोरै रकमको बीमामै कतिपय रोगको उपचार कम रकम वा सित्तैमा गर्न सक्ने आशा दिलाएको छ।

हामीले जसै स–साना स्वास्थ्य सेवाका समस्यामा जुझिरहेका छौँ, संसार भने जिन सम्पादनको तहमा पुगिसकेको छ। सिकल–सेल तथा होमियोफिलिया जस्ता रोगको सन्तान जन्मनुअघि नै पहिचान गर्ने र ती रोगको सुरुमै उपचार गरेर सन्तान जन्माउने प्रविधि संसारमा प्रयोगमा आइसकेको छ। यसका लागि क्रिस्पर नामक नयाँ जिन सम्पादन प्रविधि सहजताको अवस्थामा पुग्न लागेको छ। यसका लागि त्यहाँ यो प्रविधिको निकै प्रचारप्रसार हुन थालेको छ। सरकारले पनि पहिला जिन सम्पादनजस्ता दुरुह कुरालाई उति प्रोत्साहित गरेको थिएन तर पछिल्लो समय यसलाई खुकुल्याउँदै आएको पनि थियो।
यस किसिमको उपचारको सहजतासँगै दुसाध्य रोगलाई पहिल्यै जिनमै उपचार गरेर सन्तान जन्माउन सकिने प्रविधिको विकास सम्भव तुल्याएको छ। यसले मानव जातिमा नयाँ आशासमेत दिलाएको छ।

नेपालजस्तो मुलुकमा यस्तो उपचार अझै पनि सपना नै भए पनि विदेशमा परिपक्व भएका र पछि सर्वसुलभ हुन थाले ती प्रविधि विस्तारै  भित्रने आशा गर्न सकिन्छ। यो क्रमिक विकासको एउटा चरण पनि हो। यस्तो उपचार पद्धतिको विकास र विस्तार भए मानव जातिको इतिहास नयाँ चरणमा प्रवेश गर्नेछ, औषधोपचारका मामिलामा। कतिपय मुलुकले यस्तो प्रणालीलाई खासै महत्व र प्राथमिकता भने दिएका छैनन्। कतिपय मुलुकले त अघोषित रुपमा प्रतिबन्ध नै लगाएका छन्।

त्यसो त लामो परीक्षण र खासगरी पशुपक्षीमाथि गरिएको लामो प्रयोग र त्यसको निष्कर्षपछि यस्ता उपचार बजारमा आउने हुन्। बिना परीक्षण व्यापक प्रयोगमा आउने पनि होइन।

यस पटक हामीले एउटा अग्रलेखका रुपमा जिन सम्पादन र यसको क्रमिक विकासमा विभिन्न चिकित्सकीय समुदायले खेलेको भूमिकाबारे प्रकाश पार्ने प्रयास गरेका छौँ। यस किसिमका नयाँ खोज, अनुसन्धान र विकासले नेपालमा पनि ढिलोचाँडो प्रभाव पार्ने नै छ। नयाँ खोज र अनुसन्धानका बारेमा नेपाली मिडियामा उति धेरै चर्चा हुने गरेको छैन। खासगरी जैविक–शारीरिक खोजका कयौँ पक्षबारे नेपालको चिकित्सकीय समुदायबाहेकको ठूलो समुदाय प्रायः अञ्जान नै हुन्छन्। यसको मूल कारण मिडियाले ती विषयलाई महŒव नदिएको त हो नै साथमा सरकारी प्राथमिकता पनि यस्ता विषयमा कमै पर्छन्।

हुन त यस्ता खोजको वातावरण नेपालमै हुनुपर्ने हो। नभए पनि संसारभर भइरहेका खोजका विषयमा सम्बन्धित पक्षले व्यापक प्रसार गरेर चासो बढाउनु पर्ने हो। जति बढी चासो जगाउन सक्यो, आउँदो पुस्ता यस्ता विषय उति नै बढी जानकार र यसप्रति प्रतिबद्ध हुन्छ। त्यसको एउटा सानो भूमिका हामीले निभाउने प्रयासस्वरुप यो नवीनतम् खोजका बारेमा केही सामग्री प्रकाशित गरेका हौँ। यसका लागि विविध अनुसन्धानात्मक जर्नल र पत्रिकाहरुको उपयोग गरिएको छ।

यसबाहेक हामीले नियमित आलेख, रोचक कथा, स्मरणलायक व्यक्तित्वका फिचर प्रस्तुत गरेका छौँ। त्यस्तै स्वास्थ्यका बारेमा हाम्रो पछिल्लो समयमा रहेको सचेतना र चासोलाई सम्बोधन गर्ने किसिमका लेखहरुलाई पनि ठाउँ दिएका छौँ। आशा छ, प्रस्तुत सामग्रीहरु तपाईंका लागि रोचक, ज्ञानवद्र्धक र पठनीय हुनेछन्।

प्रकाशित: ९ असार २०७६ ०८:०७ सोमबार

सम्पादकीय सम्पादन नागरिक परिवार