अन्य

मट्टितेल अर्थतन्त्रमा हाम्रो शिक्षा

  भैरव रिसाल

चियायो ‘मीनपचास’ ले। मीनपचास भनेको जलवासी माछालाई पनि जाडो हुने पचास दिन ! त्यसैले यस यामको नाम नै मीनपचास भएछ। मंसीर २० गतेबाट लाग्छ मीनपचास। १० माघबाट मीनपचास सकिन्छ। पानीमै जन्मने, पानीमै हुर्कने, पानीमै यावत् जीवन लीला गर्ने र पानीमै अन्त हुने माछालाई समेत चिसो हुने प्रकृतिको कस्तो प्रक्रिया ! त्यस्तो औधी चिसो मात्र पचास दिन हुँदो रहेछ र नै त मीनपचास भनिएको रहेछ। मंसिर २० गते र २१ गतेमा त्यस्तै माघ १० र ११ गतेमा पानीमा चिसोपन र तातोपनमा तात्विक रूपमा कति मात्रामा फरक पर्छ।

त्यो सूक्ष्मातिसूक्ष्म भेद हाम्रो छालाले थाहा पाउँदैन। यो पानीको अत्यधिक चिसोको काल विभाजन (५० दिन) वैज्ञानिक विश्लेषण गरेरै पत्ता लगाइएको होला। मैले स्कुल÷कलेज पढ्दासम्म साह्रै जाडो हुने भनेर शिक्षण संस्था ५० दिन बिदा हुन्थे। मीनपचासको छुट्टी भनेपछि हामी विद्यार्थी त दंग पर्नु स्वाभाविकै भयो। गुरुहरू शिक्षकहरू झन बढी दंग पर्ने। बिदा, लगातार ५० दिन बिदा। तलव भने पूरै आउने। क्या मजाका दिन ती मीनपचास बिदाका ! त्यतिबेला म ललितपुरको लुभू भाषा पाठशालामा पढ्थेँ। देवशमशेर जंगबहादुर राणा श्री ३ महाराज भएको बेला एकै पल्ट सयभन्दा बढी पाठशाला खोल्दा वि.सं. १९५८ मा खुलेको रहेछ, लुभूको भाषा पाठशाला। पाठशालाको आफ्नो भवन थिएन। लुभूको तल्लो लाछीको लामो पाटीमा पढाइ हुन्थ्यो। सार्वजनिक पाटी नै हाम्रो पाठशाला। हाम्रा पुर्खाहरू बिछट्टै बाठा। कति सिपालु सार्वजनिक ठाउँमा पढायो पाठशाला भवन बनाउने लठ्ठो नै नपर्ने।

गोडामै ढोग्नु पर्ने
त्यो पाटीको दक्षिणपट्टि सडक। पाटी खुला। फलेक छापिएको भुइँमा परालको लामो सुकुल ओछ्याउने। गुरु–शिक्षकलाई गुरु भनी सम्मान थियो। गुरु पनि त्यही पाटीको दक्षिणपट्टि सुकुल माथि एउटा सुकिलो चकलामा बस्नु हुन्थ्यो। त्यसरी चकलामा बस्ता जुत्ता फुकाल्नु हुन्थ्यो। गुरुको हातमा एउटा छोटो लट्ठी (छडी) सधैं हुन्थ्यो। र, उहाँ त्यही छडीले विद्यार्थी कुट्नु हुन्थ्यो। हामीलाई कि गुरुले पढाउनु हुन्थ्यो कि छडीले पढाउथ्यो !

प्रतिभाशाली विद्यार्थीलाई त शतप्रतिशत नै गुरुले पढाउनु हुन्थ्यो। तर, मजस्ता सामान्य विद्यार्थीलाई आधा गुरुले र आधा त्यही लठ्ठीले पढाउने ! अझ मन्द बुद्धिकालाई त ८०/८५ प्रतिशत त्यही छडीले पढाउथ्यो जस्तो लाग्छ। गुरु आउनासाथ गुरुको गोडामा ढोग्नुपथ्र्यो। गुरु फर्कदा पनि गोडामै ढोग्नु पर्ने। छोरा मान्छेमात्र पढ्ने त्यसबेलाको पाठशालामा छोरी मान्छे एकजना पनि नहुने। प्रायः विद्यार्थी नांगा खुट्टै आउँथे। त्यतिबेला अर्थात् २००० साल अघिसम्म जुत्तालाई आवश्यकताको जिनिस मानिदैनथ्यो। बिलासी वस्तुको हैसियतमा हुन्थ्यो जुत्ता। कुनै विद्यार्थी जुत्ता लाएर आए भने सबै विद्यार्थीका आँखा त्यही जुत्तामा पर्थे। कतिले उसलाई सोध्थे– कस्तो हुन्छ जुत्ता लाउँदा ?

मैले पढ्ने बेलामा गाउँमा बिजुली थिएन। मट्टितेलको टुकी बत्तीको उज्यालोमा पढ्नु पर्ने। एउटा बत्ती हुन्थ्यो घरभरिमा। त्यसले चुल्हो, भान्छा, मूल ओछ्यान, अगेनु सबैतिर उज्यालो पार्नु पर्ने। बेलुकीको खाना खाई भाडा चुल्हो सबै सफा गरी सकेपछि बल्ल पढ्नका लागि बत्ती पाइने।

विद्यार्थीले विद्यार्थीलाई नै

कक्षा १ देखि ८ सम्म पढाउनु पर्ने। शिक्षक जम्मा एक जना, टहलुवा एक जना। टहलुवालाई पालेदाई भनी आदरपूर्वक सम्बोधन गर्ने परिपाटी बसालिएको रहेछ। उनी गुरुभन्दा पनि पाका थिए। विद्यार्थीहरूलाई पानी खुवाउने जिम्मा पनि पाले दाइको थियो। पानी एउटा माटाको गाग्रोमा ल्याउथे लुभूको तल्लो भेगको ढुंगेधारा (कालधारा)बाट पालेदाइले नै। एउटा सिलेवरको अम्खोरा थियो। त्यसैले पानी खुवाउँथे। पाठ्यक्रम मिलाइएको हुन्थ्यो। अंग्रेजी स्कुलमा शनिबार साप्ताहिक बिदा हुने तर भाषा पाठशालाहरूमा प्रतिपदा र अष्टमी तिथि अनुसार बिदा हुने गथ्र्यो। मंसिरको पहिलो साता वार्षिक परीक्षा हुने। मंसिर १५ सम्ममा रिजल्ट भइसक्ने। कक्षा ७ सम्म नै वार्षिक परीक्षा लिखित होइन, मौखिकै हुने। कक्षा ५ देखि माथिका विद्यार्थीको जाँच लिन अरु पाठशालाका गुरु आउने। वर्ष दिनको पढाइको क्रम मंसिर १५ सम्म सकिने। त्यतिबेला मंसिर २१ देखि माघ ११ गतेसम्म मिनपचासको ५० दिने बिदा हुन्थ्यो।
गुरुले १–८ कक्षामा पढाउन नभ्याउने हुँदा कक्षा ५ को चलाख विद्यार्थीले कक्षा १ लाई, ६ कोले २ लाई, ७ कोले ३ लाई र ८ कोले ४ लाई पढाउने गरिन्थ्यो। अब गुरुले ५ र ८ कक्षालाई पढाए पुग्ने। यसो गरिँदा विद्यार्थी कालमै पढाउने कला विकास हुने।

सरस्वती पूजामा गाँजा ?
कक्षा ८ को जाँच दिन नेपाल राजकीय संस्कृत प्रधान पाठशाला रानीपोखरीमा आउनु पर्ने काठमाडौँ खाल्डोका सबै पाठशालाका विद्यार्थी। मीनपचासको बिदामा ७ र ८ कक्षाका विद्यार्थीलाई गुरुले आफ्नो घर किटिनी गोदामचौर पारी बडीखेलमा निःशुल्क पढाइदिनु हुन्थ्यो। कक्षा ८ मा जति धेरै विद्यार्थी पास गराउन सक्यो त्यही अनुसार शिक्षकको मूल्यांकन हुने हुँदा मीनचासको बिदामा पनि पढाउने गर्नुहुन्थ्यो गुरु तोयनाथ न्यौपाने। म दधिकोटदेखि त्यति परसम्म पनि पढ्न जान्थेँ। पैदल हिँड्ने बाहेक विकल्प थिएन। मेरो विचारमा दधिकोट–बडिखेल ९ किलोमिटर भन्दा कम थिएन। तसर्थ, म दैनिक १८ किलोमिटर हिँडेर पढ्न जान्थेँ मीनपचासमा गुरुको घरमा। त्यतिका बाटो हिँडेर के कति पढिन्थ्यो। थकाइ पनि लाग्दो हो। यो क्रम मभन्दा अघि पनि रहेछ। पछि कतिसम्म रह्यो खोजीनीति गरिएन। मेरो पालामा ६ जनाले प्रथम परीक्षा दिएकोमा ३ जना सफल भएर नाक ठाडो पा¥यौँ। यो २००३ सालको कुरो हो। माघ ११ गतेबाट पाठशाला खुले पनि प्रायः पढाइ हुँदैनथ्यो तत्काल। त्यो बेला सरस्वती पूजा गरिन्थ्यो। यो पूजा फागुन ५ गते वा श्रीपञ्चमीको आसपास गरिन्थ्यो। सरस्वती पूजामा खाने कुरामा गाँजा मिसाइदो रहेछ। त्यो खाना खाएपछि गाँजा लागेर छुट्टी। अनि पढाई सुरु हुने। मेरो जुगको प्रारम्भिक तहको पढाइको र मीनपचासको कहानी हो यो।

ट्युसनबिनाको पढाइ
यतिबेलाको पढाइ भनेको ट्युसनको चलन थिएन। अझ गाउँघरमा त ट्युसन न स्युसन। बरु सहअध्ययन गर्ने गरिन्थ्यो। बिहान पढ्न पाइँदैनथ्यो। घरको काम गर्नु पर्ने। छोराछोरी धेरै पाउने चलन। अनि भाइबहिनी हेर्नु पर्ने नभए गाई–भैँसी चराउन, पानी खुवाउन चौर र पोखरीतिर लानु पर्ने। जाडो–गर्मीको मौसम अनुसार घरमा पढ्ने भनेको बेलुकी मात्र हो। मैले पढ्ने बेलामा गाउँमा बिजुली थिएन। मट्टितेलको टुकी बत्तीको उज्यालोमा पढ्नु पर्ने। एउटा बत्ती हुन्थ्यो घरभरिमा। त्यसले चुल्हो, भान्छा, मूल ओछ्यान, अगेनु सबैतिर उज्यालो पार्नु पर्ने। बेलुकीको खाना खाई भाडा चुल्हो सबै सफा गरी सकेपछि बल्ल पढ्नका लागि बत्ती पाइने। त्यसअघि भान्छानिर बसी पढ्नु पर्ने। 

सबै घरधन्दा सकेपछि माथिल्लो कोठामा गई पढ्न थाल्यो। अलि बेरपछि बा भन्नुहुन्थ्यो सुत बाबु सुत। कति पढिरहेको ? बाको त्यो कुराको चुरो बुझ्दोे रहिनछु म त्यतिबेला। बाले त्यसो भन्नुको अर्थ त धेरैबेर बत्ती बालेर पढे मट्टितेल धेरै बल्छ भनेर पो रहेछ। एक बोतल (टुकुनी) मट्टितेलले एक महिना धान्नु पर्ने अर्थतन्त्र रहेछ हाम्रो घरको। बाले सुत भन्नु भएको त मेरोभन्दा पनि मट्टितेलको मायाले पो रहेछ। पछि बल्ल अर्थ बुझेँ। हामी गृहस्थको घरेलु अर्थतन्त्र त्यो तहको थियो। मट्टितेल अर्थतन्त्र। पछि सात कक्षा पुगेपछि बल्ल बढी समय पढ्न पाइयो।

बाले पनि चाँडो सुत भन्न छोड्नु भयो। जगन्नाथ घिमिरे र म सहपाठी थियौँ। सात–सात दिनको पालो बाधेर हामी बेलुकी सँगै पढ्थ्यौँ। उहाँको र मेरो घरमा। ती दिन सम्झदा यहाँसम्म कसरी आइपुगियो अचम्म लाग्छ। हाम्रो पठनपाठनको चलन यस्तो थियो। एउटाले पढेको पुस्तक अर्कोले, अनि अर्कोले पढ्ने चलन थियो। काठमाडौँ खाल्डोभर दुइटा मात्र पुस्तक पसल थिए। एउटा भोटाहिटीमा र अर्को मखनमा। पढाइ कति सीमित थियो, त्यसले पनि पुष्टि गर्छ। मीनपचासको प्रसंग कोट्याउदा त्यतिबेलाको सग्लो चित्र पष्ट पार्छ। त्यस्तो पढाइका हामी !

प्रकाशित: १८ जेष्ठ २०७६ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App