अन्य

पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउन माग

नेपाली कांग्रेसको भेलामा सहभागी। तस्बिरः नागरिक

बागलुङ– नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउन माग गरेको छ। क्षेत्रीय समितिले आधिकारिक निर्णय गर्दै पश्चिम बागलुङका ६ वटा स्थानीय तहलाई समेटेर छुट्टै जिल्ला बनाउन माग गरेको छ।

पश्चिम बागलुङलाई हेर्ने राज्य र जिल्ला सदरमुकामको नजर नबदलिएका कारण छुट्टै जिल्ला माग गर्नु परेको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले बताए। ‘जिल्ला सदरमुकामले पश्चिम बागलुङलाई कहिल्यै आफ्नो जिल्लाको रूपमा हेरेन, जसका कारण सम्भावना हुँदा पनि यो क्षेत्र पछि प-यो,’ उनले भने, ‘अहिले पनि जिल्लाको भूमिका महत्त्वपूर्ण छ। त्यसैले हामीले छुट्टै जिल्ला बनाउन माग गरेका हौं।’

विभिन्न समयमा छुट्टै जिल्लाको माग उठे पनि राजनीतिक दलले भने पहिलोपटक जिल्ला माग गरेको उनले जानकारी गराए। ‘यहाँका सचेत नागरिक अगुवाहरूले विगतमा पनि यो कुरा उठाउनुभएकै थियो,’ उनले भने, ‘हामीले लिखित रूपमै निर्णय गरेर अगाडि बढेका छौं। सत्ताधारी दल र सांसदसँग पनि यसबारेमा छलफल गर्दै यो कुरा संसद्मा उठाउँछौं।’

नेपाली कांग्रेसको जागरण अभियानमा क्षेत्र नम्बर २ अन्तर्गतका सबै स्थानीय तहको गाउँ गाउँमा छुट्टै जिल्लाको मुद्दा लिएर जाने उनले बताए। ‘अहिलेको जागरण अभियानमा यो कुरालाई पनि हामीले मुख्य मुद्दा बनाएका छौं,’ उनले भने, ‘यहाँका स्थानीय तहहरूसँग पनि आवश्यक समन्वय गर्छौं।’

बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ। कार्यक्रममा सहभागीले वर्तमान सरकारले गतिविधि र क्रियाकलापले जनतालाई निराश बनाएको उल्लेख गरे। ‘नेपाली कांग्रेसका लागि यो सुनौलो अवसर हो, यही बेला आफ्नो संगठनलाई चुस्तदुरुस्त बनाउनुपर्छ,’ उनीहरूले भने, ‘वर्तमान सरकारको कार्यशैलीबाट जनता आजित भएका छन्। जनताको सवाललाई कांग्रेसले दरिलो गरी उठाउनुपर्छ।’

सरकार काण्डै काण्डमा अल्झिएको उनीहरूको विश्लेषण छ। ‘सुन काण्ड, वाइड बडी काण्ड, बालुवाटार काण्ड, निर्मला पन्त हत्याकाण्डलगायतका काण्डैकाण्डमा सरकार भुलेको छ,’ उनीहरूले भने।

नेपाली कांग्रेस क्षेत्रीय समिति मातहत रहने गरी समस्यामा परेका नागरिकलाई सहयोग पु-याउने विपद् व्यवस्थापन कोषसमेत सञ्चालन गर्ने भएको छ। कार्यक्रममा संघीय सांसद ज्ञानकुमारी छन्त्याल, निशीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, गल्कोट नगरपालिका मेयर भरत शर्मा गैरे, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, महाधिवेशन प्रतिनिधि जित शेरचन, सागर खरेल, कृष्ण केसी, यामु पौवी, नरबहादुर पुन, मन्जु चालिसे, जिल्ला सदस्य गण्डकी थापा अधिकारीलगायतले नेपाली कांग्रेसलाई जनताको सुखदुःखमा साथ दिने पार्टी बनाउनु जरुरी रहेको बताए।

प्रकाशित: २८ वैशाख २०७६ ०६:३४ शनिबार

नेपाली_कांग्रेस पश्चिम_बागलुङ छुट्टै_जिल्ला