अन्य

जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै

खोटाङ– अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त भएसँगै खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तयारी गरिएको छ। यस वर्ष एन्फाको अस्थायी सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट जिल्ला लिग फुटबल प्रतियोगिताको तयारी थालेको हो। जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालनका लागि एन्फाले वैशाख १५ गते पत्राचार गरेको फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले बताए।

जिल्ला लिगमा फुटबल संघमा आबद्ध जिल्लाका ९ वटा फुटबल क्लबले मात्र प्रतिस्पर्धा गर्न पाउने संघले जनाएको छ। आगामी असार १५ गतेभित्रमा जिल्ला लिग सञ्चालन गर्नेगरी आवश्यक तयारी भइरहेको अध्यक्ष राईले बताए। जिल्ला लिगमा सोल्मा स्पोर्टस् क्लब सोल्मा, बाक्सिला फुटबल क्लब, खारम्बु स्पोर्टस् क्लब, नुनथला स्पोर्टस् क्लब, हलेसी तुवाचुङ फुटबल क्लब, बुइपा इलाभेन स्पोर्टस् टिम, नमुना स्पोर्टस् क्लब, खोटाङ फुटबल एकेडेमी र खोटाङ भगवती स्पोर्टस् क्लबले प्रतिस्पर्धा गर्नेछन्।

जिल्ला लिगका विजेता टिमले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ। जिल्ला लिगका लागि प्रतिस्पर्धामा सहभागी हुने टिम संख्या, खेल हुने स्थानलगायत निश्चित गरेर एन्फालाई रकमका लागि आग्रह गर्ने संघले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०५:१८ शनिबार

अखिल_नेपाल_फुटबल_संघ जिल्ला_लिग_फुटबल