अन्य

‘फोक्सुण्डो तालमा आउनुस् है’

टसी तुण्डुप गुरुङ  

अध्यक्ष, शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा

फोक्सुण्डो क्षेत्रका प्रमुख पर्यटकीय आकर्षणहरू केके हुन् ?
मुख्य आकर्षण त फोक्सुण्डो हो जुन नेपालकै गहिरो ताल हो। नाङ्गा तर कलात्मक डाँडाको काखमा जमेको निलो पानी देख्दा आँखा रमाउँछन्। तालक्षेत्रबाट काञ्जिरोवा हिमाल पनि देखिन्छ। साथै ताल क्षेत्रमा बोन बुद्धिष्टका प्राचीन गुम्बा छन्। गुम्बामा दर्शन तथा ध्यान बस्न सकिन्छ।
त्यसबाहेक फोक्सुण्डो क्षेत्रका भोटे बस्तीहरू, जीवनशैली र संस्कृति पनि पर्यटकीय आकर्षणहरू हुन्। तालबाट दुई दिनको पदयात्रामा ऐतिहासिक पवित्र तीर्थस्थल शे–गुम्बा र शेल्रीडुक्ट्रा पुगिन्छ। तालबाट तीन दिन हिँडेमा भिजेर गाउँ पुगिन्छ। भिजेरमा बोन्पोको सबैभन्दा पुरानो ‘साम्लिङ् गुम्बा’ छ। साल्दाङमा पनि महŒवपूर्ण याङ्छेर गुम्बा छ।  
तालको पानी निकास हुने ठाउँमा ठूलो झरना छ। त्यसले पनि पर्यटकलाई तान्छ। साथै हाम्रो गाउँपालिका जैविक विविधताले पनि समृद्ध छ। 

यात्रामा जंगली जनावर कत्तिको देखिन्छन् ?
हाम्रा गाउँघर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्छ। हामीले जंगली जनावर संरक्षण गरेका छौं। यात्रामा नावर, हिउँ चितुवा, कस्तुरी, डाँफेका साथै हिमाली चराचुरुङी अवलोकन गर्न सकिन्छ। 

पर्यटकहरू कत्तिको आउँछन् त ?
विशेषतः विदेशी पर्यटक आउँछन्। धेरैजसो अमेरिकी, क्यानेडियन, फ्रान्सेली लगायत युरोपेली मुलुकका हुन्छन्। बर्सेनि पर्यटकको संख्या बढिरहेको छ। उनीहरू जुफाल विमानस्थलबाट पदयात्रा गर्छन्। धेरैजसो लोअर डोल्पा यात्रा गर्छन्। उपल्लो डोल्पा पर्यटकका लागि ‘अर्ध निषेधित क्षेत्र’ भएकाले माथि डुल्न विशेष अनुमति लिनु पर्छ। त्यसैले अपर डोल्पामा कमै मात्र पर्यटक पुग्छन्। गत वर्षदेखि आन्तरिक पर्यटकको पनि चहलपहल बढ्न थालेको छ।

फोक्सुण्डो तालभन्दा माथि अपर डोल्पो घुम्ने विदेशीसँग सरकार महँगो शुल्क उठाउँछ। तर, त्यो रकम हाम्रो गाउँसम्म आइपुग्दैन।  राजस्वस्वरूप उठेको रकम हामी स्थानीयले नै खर्च गर्न पाउने नीति केन्द्रीय सरकारले बनाउनु प-यो।

पदमार्गमा खानेबस्ने सुविधा कस्तो छ ? यात्रा कत्तिको महँगो हुन्छ ?
जुफालदेखि नै फोक्सुण्डो तालसम्म बास तथा खानाको लागि होटल तथा लज सुविधा छ। ताल क्षेत्रमा होटल तथा होमस्टे सुविधा छ। तालबाट शे–गुम्बा, भिजेर, साल्दाङतिर जाँदाखेरि भने गाउँमा होमस्टे पाइन्छ। तर, बाटोमा खाना खाने सुविधा छैन। दिनमा १५ सय रुपैयाँ भयो भने ब्रेकफास्ट, लन्च, डिनर र बेडलाई पुग्छ।

पर्यटन प्रवद्र्धनमा गाउँपालिकाको के गर्दै छ ?
हामी पदमार्ग सुधार, व्यवस्थित होमस्टे निर्माण, धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिइरहेका छौं। हरेक १२ वर्षमा शे–गुम्बामा बाह्र बर्से शे मेला लाग्छ। हामी फोक्सुण्डो तालमा पनि महोत्सव मनाउने योजना बनाउँदै छौं।

पर्यटन विकासमा देखिएका प्रमुख समस्या केके हुन् ?
फोक्सुण्डो तालसम्म जान विशेष अनुमति लिनु पर्दैन। तर, उपल्लो डोल्पा घुम्न विदेशीका लागि प्रवेश शुल्क महँगो छ। उनीहरूले दिनकै ५० डलर तिर्नु पर्छ। शुल्क महँगो भयो। यसरी राजस्व बापत उठ्ने रकम काठमाडौं पुग्छ। तर, त्यो रकम हाम्रो गाउँसम्म आइपुग्दैन।  राजस्वस्वरूप उठेको रकम हामी स्थानीयले नै खर्च गर्न पाउने नीति केन्द्रीय सरकारले बनाउनु प¥यो।  जहाँबाट पैसा संकलन भयो, त्यही ठाउँको विकासमा खर्च गरिनु पर्छ। त्यो रकम हामीले पाएमा पुलपुलेसा, बाटोघाटो सजिलै व्यवस्थित गर्न सक्छौं। यसले पर्यटन बढाउन सघाउ पु¥याउँछ। 

हवाईभाडा महँगो छ। मोटरबाटो झन्झटिलो छ, यसमा के भन्नु हुन्छ ?
नेपालगञ्ज वा सुर्खेतबाट जुफालसम्म हवाई उडान गर्दा विदेशीले डलर फेयर तिर्नु पर्छ। त्यसैले महँगो हुन्छ। नेपालीसँग पनि एकतर्फी भाडा ५२ सय रुपैयाँ लिइन्छ। यो पनि महँगो भयो।
गएको पुसदेखि डोल्पा सदरमुकाम दुनै बजार सडक सञ्जालसँग जोडिएको छ। काठमाडौंबाट बसमा गुडेको तेस्रो साँझ दुनै पुग्न सकिन्छ। तर, बाटो कच्ची भएकाले यात्रा झन्झटिलो हुन्छ। बीचबीचमा मोटर गुड्ने पुल पनि छैन। त्यसैले ठाउँठाउँमा गाडी बदल्नु पर्छ।
जबसम्म जुफालसम्म नियमित एवं सुलभ हवाई उडान हुँदैन र जाजरकोट–रुकुमको रारी हुँदै डोल्पाको दुनै पुग्ने सडक पक्की बन्दैन तबसम्म पर्यटक बढाउन समस्या हुन्छ। त्यसैले यसलाई सरकारले प्राथमिकतामा राख्नु प-यो।

आन्तरिक पर्यटकसँग तपाइँको आग्रह के छ ?
नेपाली हामी सबै नेपालीको हो। त्यसैले तराई वा पहाडमा बस्ने नेपालीहरू हिमाली भेकको सौन्दर्य र जनजीवन बुझ्न आउनुस्। हामी मन खोलेर स्वागत गर्छौं। आन्तरिक पर्यटक नै दिगो पर्यटनका आधारस्तम्भ हुन्। यसबाट हाम्रो क्षेत्रको पर्यटन विकासमा टेवा पुग्छ।

प्रकाशित: २८ वैशाख २०७६ ०१:५८ शनिबार

फोक्सुण्डो_ताल केन्द्रीय_सरकार फोक्सुण्डो_गाउँपालिका