दैलेख कहिले आउने ? मित्र रुपक थापा फेसबुक र फोनमा बरोबर निम्तो दिइरहन्थे । मलाई पनि पञ्चकोशी घुम्नु थियो । पञ्चकोशी दर्शनले पितृउद्वार, आत्मशुद्धि र मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । साथै आत्मीय आनन्द र मानसिक सुख प्राप्त हुन्छ ।
सनातनदेखि पञ्चकोशी परिक्रमा गर्ने चलन छ । दैलेखका शिरस्थान, नाभिस्थान, पादुकास्थान, धुलेश्वर र कोटिलालाई पञ्चकोशी तीर्थ भनिन्छ ।
त्यही पवित्रधामको दर्शनमा निस्कियौं हामी । १३ कात्तिक ०७५ का दिन । साथमा थिए धादिङे कवि दिपेन्द्रसिंह थापा ।
काठमाडौंबाट ७० मिनेटको हवाईयात्रामा सुर्खेत पुगियो । सुर्खेत विमानस्थलमा रुपकजीले पठाइदिएको जीप चढेर उकालियौं । दैलेख बजारमा सुविधायुक्त ‘होटल पार्क इन’ चलाएर बसेका थापालाई नपुग्दो केही छैन । उनी उद्यमशीलताको भ-याङ चढ्दै छन् । जन्मथलोका लागि केही गर्नु पर्छ भन्ने भावना सल्बलाएको छ उनको मनमा ।
पहाडी बाटो, रानीमत्ता छिचोलेर गुराँसे पुग्यौं हामी । त्यहाँको देवी होटलमा लोकल स्वादको खाना खायौं । दालभात मात्र होइन, गुराँसेको सेल रोटी पनि औधी मीठो हुन्छ । सुर्खेतीहरूको गर्मी छल्ने र हयाङआउट हुने गन्तव्यका रूपमा स्थापित बनिसक्यो गुराँसे ।
पोहोर हामी रारातालबाट फर्किंदा यहाँको जंगल राताम्मे थियो । यतिबेला गुराँसको सिजन होइन । गुराँसका रूखहरू र सुनाखरीका लहरा हेर्दै नागबेली बाटोमा हुइँकियौं हामी ।
जिरो पोइन्ट पुगेर हामीले रुपकजीलाई केहीबेर कु-यौं । सडक छेउको शाही होटलमा फिक्का चिया खाँदाखाँदै मैले सम्झिएँ नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशीलाई । उनी पनि दैलेखी हुन् । पछि बर्दिया बसाइँ सरेका । पञ्चकोशीको विकासमा उनले ठूलो काम गर्न सक्छन् । गर्नु पनि पर्छ ।
म मूर्तिपूजाको पक्षपाती होइन । तर, हामीले मान्छेको आस्था र विश्वासको सम्मान गर्नु पर्छ । जब आस्थाको मनफूल बोकेर मान्छेहरू तीर्थस्थल पुग्छन् तब उनीहरूका अनुहारमा एकाएक चमक छाएको देख्छु । आत्मविश्वास बढेको देख्छु । तब मलाई लाग्छ, पूजापाठसँगै उनीहरूले मन हलुंगो बनाइरहेका छन् भने मूर्तिपूजाको निन्दा गर्नु किन ? मन्दिरमा बिताएको समय, श्रम र पैसाले मनको उपचार भैरहेको हुन्छ ।
पत्रकार साथीहरू गोविन्द केसी र विशाल सुनारसँगै आइपुगे रुपकजी । जिरो पोइन्टबाट उनकै अगुवाइमा हाम्रो घुमफिर सुरु भयो । हामी सरासर तल्लो डुंगेश्वर पुग्यौं । लोहोरे र कर्नालीको संगममा सिद्धेश्वर महादेवको मन्दिर रहेछ । तिनको दर्शन ग-यौं ।
डुंगेश्वरमा देउकेटा पूजारी हुने चलन रहेछ । १६ वर्षको उमेरसम्म उनीहरू देउकेटाका रूपमा रहन्छन् । सडकसँगै जोडिएको मन्दिर हातामा हामीले भेट्यौ बादी समुदायका बालगायकहरू । पदम, सुनिल र विशालको सुरिलो स्वरले लठ्यायो हामीलाई ।
त्यसअघि हामीले कर्नाली किनारमा पुगेर मुख धोएका थियौं । त्यहाँबाट हामी कोटिला मन्दिरमा गयौं । सिद्धगंगा र छामगाढ नदीको संगममा रहेछ कोटिला । श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले मृत सतिदेवी बोकेर हिँड्दा सतीदेवीको कोठी पतन भएको ठाउँलाई कोटिला भनिएको ।
मन्दिरमा ५ जना माता भेटिए । माता शिव गिरी नै महन्त हुन् । अन्य माताहरू रमण गिरी, शान्ता गिरी, नारद गिरी र नारायण गिरीसँग पनि कुराकानी ग-यौं । हामीलाई मन्दिर जीर्ण भएको गुनासो सुनाइन् ७२ वर्षीया महन्तले ।
एक मुखे रुद्राक्षको दर्शन गरे फलिफाप हुन्छ भन्ने सुनाए रुपकजीले । महन्त आमैले हामीलाई त्यसको दर्शन गराइन् ।
पौराणिक कथा भन्छ, कोटिलामा दधिची ऋषिले कोटी होम लगाएका थिए । यज्ञमा आमन्त्रित देवराज इन्द्रले होम गर्ने चरु स्वर्गबाटै ल्याएका थिए । होम गर्दा चरु उछिट्टिएकाले मन्दिर क्षेत्रमा उम्रिएको छ । त्यसलाई जनबोलीमा ‘इन्द्र जौ’ भनिँदो रहेछ। रूखमा तुर्लुङ झुन्डिएको इन्द्र जौ देखाउँदै रुपकजीले बेलिबिस्तार लगाए, ‘सत्य युगको निशाना ।’
जे होस्, शान्त पावन भूमिमा पुग्यौं हामी । त्यो साँझ दैलेख बजारको होटलमा बस्यौं । खाना खानुअघि रुपकजीसँग दैलेखको पर्यटनबारे कुराकानी भयो । बुद्धि पु-याएर मार्केटिङ गर्न सके पञ्चकोशीमा भारतीय तीर्थालुलाई पनि तान्न सकिन्छ । धार्मिक र सांस्कृतिक पर्यटनबाटै दैलेखको आर्थिक स्तर उकासिन सक्छ भन्ने निचोडमा पुग्यौं हामी ।
आखिर पञ्चकोशी प्रकृति र अध्यात्मको दोभान मानिन्छ । वैश्नावरपुराणमा पञ्चकोशीको वर्णन छ । पाँचै ठाउँमा मन्दिर छन् । शिरस्थानमा तीन र नाभिस्थानमा दुई अखण्ड ज्वाला छन् । केही वर्ष अघिसम्म पादुकास्थानमा पनि ज्वाला बल्थ्यो ।
डाँडामा छ धुलेश्वर मन्दिर, अरू मन्दिरचाहिँ खोला किनारमा छन् । पञ्चकोशीका विषयमा अनेकौं किंवदन्ती छन् । श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा शिर पतन भएको ठाउँ शिरस्थान, नाभि पतन भएको ठाउँ नाभिस्थान, पाउ पतन भएको ठाउँ पादुकास्थान, अंगको धुलो पतन भएको ठाउँ धुलेश्वर र कट्टी पतन भएको ठाउँलाई कोटिला भनिन्छ ।
पादुकामा भगवान् विष्णुको पाउको आकृति भएको शिला छ । भगवान बुद्धको मूर्ति पनि छ । ०३४ माघ १६ गते पादुका नदीमा आएको बाढीले मन्दिरमा क्षति पु-याएपछि त्यहाँको ज्वाला बल्न छाडेको रहेछ ।
मन्दिर क्षेत्रमा सयौं मूर्ति असरल्ल छन् । त्यहाँ पुग्दा हामीले माल पाएर पनि चाल नपाएको अनुभूति ग-यौं ।
धुलेश्वर वैश्वानर ज्वाला क्षेत्रको मध्य भागमा पर्छ । त्यहाँ सबै देवताको बास रहेको विश्वास गरिन्छ ।
घुमफिरको दोस्रो दिन बिहानै हामी फेरि यात्रामा निस्कियौं । रुपकजीले आफैं ड्राइभ गरे । दैलेखका पहाडी बस्ती हेर्दै धुलेश्वर, पादुकास्थानको दर्शनपछि हामी जम्बुकाँधमा पुग्यौं । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केन्द्र जम्बुकाँधमा मेयर सूर्यबहादुर शाही र उपमेयर तारा शाही खत्री हाम्रो प्रतीक्षामा थिए । उनीहरूले नगर विकासका योजना सुनाए र अर्गानिक खाना खुवाए ।
जम्बुकाँधबाट हामी दुल्लुतिर सोझियौं । दुल्लु सांस्कृतिक संग्रहालय र कीर्तिखम्ब अवलोकन ग-यौं । सिञ्जापति खस राजाको वर्षे राजधानी जुम्लाको सिञ्जा थियो भने हिउँदे राजधानी दैलेखको दुल्लु ।
दुल्लु विद्यार्थीका लागि खुला संग्रहालय मानिन्छ । सांस्कृतिक अध्येता विश्व केसीका अनुसार इतिहासका विद्यार्थीका लागि दैलेख खुला पाठशाला हो । जहाँ २७९ मूर्त र २२ भन्दा बढी अमूर्त सम्पदा छन् ।
दुल्लु घुमेर हामी नाभिस्थान र शिरस्थान पुग्यौं । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार योगी र महन्त इन्द्रनाथ योगीले नाभीस्थानमा स्वागत गरे । हामीले त्यहाँको इन्द्रज्वाला र बडीज्वाला दर्शन ग-यौं । सयौं वर्ष पुरानो समीको रूखका तस्बिर पनि खिच्यौं ।
हामीले अन्तिममा शिरस्थान दर्शन ग-यों । खासमा पञ्चकोशी परिक्रमाको प्रवेशद्वार मानिन्छ कोटिला । दैलेख बजारबाट कोटिला, शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, स्वामी कात्तिक, तल्लो डुंगेश्वर हुँदै दैलेख बजार परिक्रमा गर्ने चलन छ ।
शिरस्थानमा महाशिवरात्रिमा, नाभिस्थानमा माघे सङ्क्रान्तिमा, पादुकामा जनैपूर्णिमामा, कोटिलामा वैशाख १ गते, धुलेश्वरमा नवरात्रमा र डुंगेश्वरमा मंसिर पूर्णिमामा मेला लाग्छ ।
मान्छेको आस्था र विश्वास भन्ने कुरा गजबकै हुन्छ । पञ्चकोशीका ज्वालाहरूको विषयमा धार्मिक र वैज्ञानिक मत फरकफरक पाइन्छ । किंवदन्ती अनुसार सतीदेवीको शिर पतन भएपछि क्रोधित भएका महादेवको नेत्रबाट अग्नि निक्ल्यो । त्यही ज्वाला यहाँ बल्न थाल्यो । तर, वैज्ञानिकहरूको मतमा प्राकृतिक ग्याँस भएकाले ज्वाला बलेको हो ।
विज्ञान पक्षधर भन्छन्, ‘जमिनमुनि रासायनिक ग्याँस उत्पादन भएकाले त्यो ज्वालाको रूपमा सदियौंदेखि बल्दै आएको हो । यसको सदुपयोग गर्न सके धेरैको चुल्हो बल्न सक्छ ।’
धर्मका पण्डितहरू भन्छन्–‘ज्वाला देवी हुन् । यिनको पूजा गर्नु पर्छ ।’
हामी न विज्ञानलाई काट्न सक्छौं न धार्मिक आस्था विरुद्ध प्रहार गर्न । मलाई लाग्छ पर्यटनको डोरीले विज्ञान र अध्यात्म दुवैलाई बाँध्न सक्छ । अब दैलेखी ज्वाला संरक्षण गरेर पर्यटनधाम बनाउनु पर्छ । आस्तिकहरूले पञ्चकोशीलाई मन बिसाउने चौतारीका रूपमा लिऊन् भने नास्तिकहरूले प्राकृतिक ग्याँस र ज्वाला अध्ययन केन्द्रका रूपमा ।
ज्वाला भएकाले मात्र पञ्चकोशीको महत्व बढेको होइन, अन्य धार्मिक विश्वास पनि जोडिएको छ यसमा । ग्याँस घरघरमा बाँडेर स्थानीयको आस्थामा चोट पु-याउने कि तिनको संरक्षण गरेर पर्यटनधाम बनाएर बढी फाइदा लिने ? यसमा सरोकारवालाहरूले अक्कल पु-याउनु पर्छ ।
म मूर्तिपूजाको पक्षपाती होइन । तर, हामीले मान्छेको आस्था र विश्वासको सम्मान गर्नु पर्छ । जब आस्थाको मनफूल बोकेर मान्छेहरू तीर्थस्थल पुग्छन् तब उनीहरूका अनुहारमा एकाएक चमक छाएको देख्छु । आत्मविश्वास बढेको देख्छु । तब मलाई लाग्छ, पूजापाठसँगै उनीहरूले मन हलुंगो बनाइरहेका छन् भने मूर्तिपूजाको निन्दा गर्नु किन ? मन्दिरमा बिताएको समय, श्रम र पैसाले मनको उपचार भैरहेको हुन्छ ।
दुःखको कुरा, हामीले पञ्चकोशीको महत्व बुझ्न सकेनौं । बुझाउन पनि सकेनौं । त्यसैले यसको विकास र प्रवद्र्धन गर्न सकेनौं ।
कुनै पनि गन्तव्यमा हवात्तै पर्यटक बढ्दैनन् । पर्यटक बढाउन केही काम गर्नु पर्छ । पहिलो कुरा, सम्पदा संरक्षण । त्यसपछि ती ठाउँसम्म सजिलै पुग्ने बाटो र यातायातका साधन व्यवस्था हुनु पर्छ । अनि त्यस क्षेत्रमा खाने÷बस्ने होटल तथा रेस्टुराँ आदि खुल्नु पर्छ । साथमा बिजुली, पानी आदिको प्रबन्ध हुनै पर्छ । र, अन्त्यमा राम्रो मार्केटिङ चाहिन्छ ।
पञ्चकोशीका हकमा सबैतिर मोटरबाटो जोडिएको छ । त्यसलाई पक्की बनाउन प्रदेश सरकारै तात्नु पर्छ । दैलेख बजारका होटलमा बसेर जीपमा घुम्ने हो भन एक दिनमा पञ्चकोशी घुम्न भ्याइन्छ । रुपकजीले पञ्चकोशी प्याकेज बनाएका छन् । अरूले पनि यस्तै प्याकेज बेच्नु पर्छ ।
मार्केटिङका लागि भने केही काम गर्नै पर्ने देखिन्छ । पञ्चकोशीको घुमफिर नक्सा, पुस्तिका, ब्रोसर, युट्युव भिडियो, फेसबुक पेज, पोष्टर लगायत आधुनिक र परम्परागत प्रवद्र्धनात्मक सामाग्री उत्पादन गरिहाल्नु पर्छ । साथमा बाँकेको कोहलपुरदेखि रारातालसम्म राजमार्गका ठाउँ–ठाउँमा ‘पञ्चकोशीमा स्वागतम्’ लेखिएका आकर्षक ‘होर्डिङ बोर्ड’ राख्न सके मात्र पनि रारातिर दौडिएका नजरहरू त्यसमा टाँसिन सक्छन् ।
हामी न विज्ञानलाई काट्न सक्छौं न धार्मिक आस्था विरुद्ध प्रहार गर्न । मलाई लाग्छ पर्यटनको डोरीले विज्ञान र अध्यात्म दुवैलाई बाँध्न सक्छ । त्यसैले दैलेखी ज्वाला संरक्षण गरेर पर्यटनधाम बनाउनु पर्छ । आस्तिकहरूले पञ्चकोशीलाई मन बिसाउने चौतारीका रूपमा लिऊन् भने नास्तिकहरूले प्राकृतिक ग्याँस र ज्वाला अध्ययन केन्द्रका रूपमा ।
रारा यात्रामा निस्कनेहरू एक रात दैलेखमा बसेर घुम्ने वातावरण तयार पार्नु पर्छ । त्यति मात्र होइन, सुर्खेतका बुलबुल ताल, देउती बज्यै, काँक्रेबिहारको पनि एकीकृत प्रचार हुन सक्यो भने पर्यटनको उज्यालो सबैतिर बाँडिन्छ ।
पञ्चकोशीको प्रचारमा काठमाडौंमा बस्दै आएका केही दैलेखीले योगदान गरेका छन् । अध्येता विश्व केसीले ‘पञ्चकोशी’ र ‘कीर्तिखम्ब’ नामक पुस्तक लेखेका छन् । त्यसैगरी गीतकार निर्मला गिरी गीत/संगीत र वृतचित्रमार्फत् दैलेख चिनाउँदैछिन् । अर्का अभियन्ता पत्रकार भरतबन्धु थापा दैलेखका पर्यटनधाम उजागर गरिरहेका छन् ।
मलाई पञ्चकोशी चिनाएको भरतबन्धुले नै हो । उनैले ०७० कात्तिकमा पहिलो पटक आफ्नो जन्मथलो घुमाएका थिए। त्यतिबेला हामीले पञ्चकोशीका नाभिस्थान र शिरस्थान मात्र दर्शन गर्न भ्याएका थियौं । साथै दैलेख बजार, भूर्तिका देवल र महाबु लेक पनि घुमेका थियौं ।
यसपाला महाबु र भूर्तिमा गएनौं । भूर्तिमा २२ वटा देवल छन् । देवलहरू खस मल्लकालीन राजपरिवारको समाधि भएको अध्येता केसीको तर्क छ । ‘यस्ता देवलमा कतै पूजा गरेको देखिँदैन’, उनी भन्छन्, ‘मन्दिर भैदिएको भए त्यहाँ किन पूजा भएन ? समाधिमा कसैले पूजा गर्दैन ।’ देवलहरू कसले र कहिले बनायो भन्ने अभिलेख पाइएको छैन ।
केसीको पुस्तक ‘कीर्तिखम्ब’का अनुसार दैलेखमा यस्ता १२० देवल छन् । कति देवल लोप भैसके । भूर्तिका तीन देवल पनि मासिइसके ।
पञ्चकोशीको प्रचारमा जुट्नेहरू सबैलाई धन्यवाद । प्रचार अझै पुगेको छैन । यसका लागि प्रदेश सरकारले नै अगुवाइ गर्नु पर्छ । पाँचवटै तीर्थमा पुग्ने सडक कालोपत्रे गरेर, बिजुली, खानेपानी लगायत आधारभूत पूर्वाधारहरू विकास गरिहाल्नु पर्छ । त्यसपछि उसैले पञ्चकोशीको ‘एग्रेसिभ मार्केटिङ’ गर्नु पर्छ ।
पञ्चकोशीले विशेषतः हिन्दू नेपाली र भारतीयलाई आकर्षण गर्न सक्छ । भारतीय गुरु झिकाएर ठूलै अनुष्ठान गराउन सके यसको महिमा भारतमा समेत फिँजिन सक्थ्यो ।
अर्को कुरा, आज छुट्टाछुट्टै समितिहरू मन्दिर व्यवस्थापनमा क्रियाशील छन् । समग्र पञ्चकोशी विकासका लागि सरकारीस्तरमै ‘पञ्चकोशी क्षेत्र विकास समिति’ गठन गर्न सके राम्रो हुन्छ ।
हुन त कर्नाली प्रदेश सरकारले तामझामका साथ ‘रारा भ्रमण वर्ष ०७५’ घोषणा गरेको थियो । उसले घोषणा त ग¥यो तर पर्यटक लोभ्याउने कार्यक्रम ल्याउन सकेन । वातावरण पनि बनाएन । ०७५ मा रारा घुम्ने आन्तरिक पर्यटक बढे । तर, त्यो वृद्धि अर्गानिक ग्रोथ हो, भ्रमण वर्षको प्रभाव होइन ।
‘कर्नाली रारा भ्रमण वर्ष’ मनाइरहँदा सेरोफेरोका गन्तव्यहरूको पनि प्रवद्र्धन गर्नु पर्छ भन्ने उसले बुझेन । त्यसैल न पञ्चकोशी प्रवद्र्धन गरियो, न काँक्रेविहार । न कालिकोट प्रवद्र्धन गरियो न डोल्पो ।
आजका दिनमा रारामा होटल तथा रिसोर्टको दुःख छ । कम्तीमा भ्रमण वर्षले त्यहाँ होटल तथा रिसोर्ट खोल्ने वातावरण तयार गरेको भए पनि एउटा उपलब्धि मान्न सकिन्थ्यो । केही भएन, घोषणामै सीमित भयो भ्रमण वर्ष ।
भावनामा बगेर भ्रमण वर्ष घोषणा गर्नुको तुक छैन । घोषणा गर्नेहरूमा स्पष्ट भिजन र एक्सन हुनै पर्छ ।
समयले पाठ सिकाएको छ । अब अरूको मुख ताकेर हुँदैन, दैलेखी आफैं तात्नु पर्छ । जाग्नु पर्छ । त्यसका लागि रुपकजीहरूले अझै सक्रियता देखाउनु पर्छ । अब पञ्चकोशी प्रवद्र्धनका लागि धार्मिक गुरुसँग समन्वय गरेर ‘जाऔं है पञ्चकोशी’ अभियान चलाउने कि !
नेपालका प्रथम जगत्गुरु मोहनशरण देवाचार्य जस्ता आध्यात्मिक चिन्तकको साथ लिएर अभियान सुरु गरेमा फलदायी हुन्छ । हतार नगरौं, रारा भ्रमण वर्षबाट पाठ सिकेर राम्रो तयारीसहित पञ्चकोशी अभियानको तयारी गरौं ।
सामाजिक काममा समेत सक्रिय मित्र रुपक थापाले यसको अगुवाइ गर्दा राम्रो हुन्छ । रुपकजी ! त्यो अभियानमा साथ दिन म फेरि पञ्चकोशी घुम्न आउने छु । जय पञ्चकोशी !
कसरी पुग्ने : काठमाडौं–सुर्खेत–दैलेख ६५० किमी बसमा अथवा काठमाडौं–सुर्खेत १ घण्टा हवाईयात्रा । सुर्खेत–दैलेख ६७ किमी । नेपालगन्ज–सुर्खेत–दैलेख १६७ किमी ।
प्रकाशित: १० वैशाख २०७६ ११:१० मंगलबार