अन्य

भाज्या पोखरी रानीपोखरीभन्दा पाँच सय वर्ष पुरानो

भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीस्थित भाज्या पाखेरी काठमाडौंको रानी पोखरीभन्दा करिव पाँच सय वर्ष पुरानो भएको अनुसन्धान रिपोर्ट सार्वजनिक भएको छ। इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको नेतृत्वमा गठित अध्ययन टोलीले सात महिना लगाएर गरेको अध्ययनले यस्तो तथ्य देखाएको हो। 

यसअघि भक्तपुर नगरपालिकाले प्रा.डा. श्रेष्ठको संयोजकत्वमा पोखरी र त्यसको बीचमा रहेको शिखरशैलीको मन्दिर कुन हो भनी पहिचानका लागि अनुसन्धान समिति गठन गरिएको थियो। समितिले पोखरी र पोखरीको बीचमा रहेको शिखर शैलीको मन्दिर १२ औं शताब्दीमा बनेको निष्कर्ष निकालेको छ। पोखरीमा रहेको भग्नावशेषमा भेटिएका इँटा, मूर्ति तथा पोखरीसँग सम्बन्धित सम्पदाको अध्ययनले यो रानीपोखरी भन्दा पाँच सय वर्षअघिको भेटिएको अनुसन्धान समितिका संयोजक प्रा.डा. श्रेष्ठले जनाए। यसअघि यो पोखरी १८ औं शताब्दीको हुनसक्ने अनुमान गरिँएको थियो। 

पोखरी सिद्धपोखरी नजिकै रहेको छ। पोखरी सिद्धपोखरीको केही मिटर दक्षिणमा छ। पोखरी भक्तपुर बहुमुखी क्याम्पसको अगाडि पर्छ। पोखरी हाल जीर्णाेद्वारको क्रममा छ। लामो समयदेखिको जीर्णाेद्वार अहिले पोखरीकोबीच भाग रहेको मन्दिर बनाउने क्रममा छ। 

‘भाज्या पोखरीको मध्यभागमा मन्दिर थियो भन्ने कुरा हाम्रो अन्वेषण र उत्खनन् अघिसम्म पनि कसैलाई थाहा थिएन,’ अनुसन्धान समितिका संयोजक प्रा.डा. श्रेष्ठले भने, ‘यो मन्दिर मल्लकालको उत्तरार्धतिर आइपुग्दा नै जीर्णोद्वारको अभावमा भत्किएर, विस्मृतिमा परेर डम्फुमा परिणत हुन पुगेको थियो। यसैकारण मल्लकालपछिका पुस्ताले त्यहा“ मन्दिर थियो भन्ने कुरासम्म पनि बिर्सन पुगे। र, यस्तो प्रतीत हुन्छ– यसको विनाशको कारण प्राकृतिक र राजनीतिक दुवै थियो।’

संयोजक प्रा.डा. श्रेष्ठका अनुसार नेपाल सम्वत ८०१ (विक्रम संवत १७३८) मा नेपालमण्डलमा ठूलो भूकम्प गएको थियो। त्यसले धेरै क्षति भएको थियो। सो भूकम्पले यो मन्दिर पनि त्यसैबेला भत्किएको हुनुपर्छ। प्रा.डा. श्रेष्ठका अनुसार त्यसपछि भक्तपुरका राजा जितामित्र मल्ल र उनका छोरा भूपतीन्द्र मल्लको ध्यान जीर्णोद्वार, पुनःनिर्माण र नवनिर्माणतिर विशेष गएको देखिन्छ। भक्तपुर सहरको सुन्दरीकरण पनि यी नै बाबुछोराको पालामा विशेष भएको देखिन्छ। त्यसपछि भने मल्ल राजाहरूबीच चलेको राजनीतिक कलह, आक्रमण–प्रत्याक्रमण एवं त्यसपछिको गोर्खाली आक्रमणहरूका कारण अन्य कलाकृति लगायत भाज्या पोखरीको संरक्षण, संवद्र्धन गर्नेतर्फ चाहेर पनि कसैको ध्यान नगएको उनले जनाए। 

१८२६ सालमा गोर्खालीहरूले भक्तपुर पनि जितेपछि मल्लराज्यको पतन भएको प्रा.डा. श्रेष्ठले बताए। त्यसपछि भने यो झनै बिरानो र परित्यक्त बन्न पुगेको उनले जनाए। उनका अनुसार त्यसपछि पोखरीलगायत मन्दिरका अवशेषहरू यताउति परे, यसका सुन्दर र आकर्षक भागहरू मानिसहरूले उठाएर लगे, योसित अभिन्न रूपले जोडिएर रहेका आसपासका सम्पदा, खुला स्थान, चौर, पाटी आदि पनि हराए। र, वर्तमानमा यो यसरी पोखरीमै खुम्चिएर रहनु पर्याे। 
पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको उनले जनाए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका पुरातात्विक र ऐतिहासिक महत्व बोकेका सम्पदाको संरक्षण गर्ने भावनाले भक्तपुर नगरपालिकाले केही दशक अगाडिदेखि सम्पदा संरक्षणतर्फ पाइला चालेको जनाए। प्राचीन स्मारक संरक्षण ऐनलगायत सम्पदा संरक्षणसम्बन्धी ऐन नियमहरू, सम्पदाविद्, इतिहासविद् र संस्कृतिविद् तथा स्थानीय जनताको अनुभवलाई मार्गदर्शनको रूपमा लिई अगाडि बढेको उनले बताए।

सिद्धपोखरी जीर्णोद्वारको अनुभवलाई ध्यानमा राखी पानी चुहिने सम्भावना भएका पोखरीका छेउमा कालोमाटो भर्ने र पोखरीको बीच भागमा भएको मन्दिरबारे अध्ययन–अनुसन्धानमा ध्यान दिएको बताए। ऐतिहासिक भाज्या पोखरी जीर्णोद्वारको प्रारम्भिक प्रतिवेदनले भाज्या पोखरीको नयाँ इतिहास सुरु भएको उनले बताए। अध्ययन–अनुसन्धानबाट पत्ता लागेअनुरूप गुणस्तरीय ढंगले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्वारलाई अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे। 
घाँसेमैदानको रूपमा फोहोर फाल्ने डम्पिङ साइटको रूपमा रहेको पोखरी विशेष शिल्पीहरूले पानी जम्न लगाई सफलतापूर्वक पोखरी जीर्णाेद्वार गरिरहेको छ, जुन शिल्पीहरूले अहिले रानीपोखरीको पनि जीर्णाेद्वार गरिरहेका छन्। 

 

प्रकाशित: १ चैत्र २०७५ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App