अन्य

वसन्त ऋतु र शास्त्रीय प्रसङ्ग

कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ। अझै पूरै प्रकृति नै सुन्दर देखियो भने त हामीमा त्यसको प्रभाव नपर्ने कुरै भएन। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो। 

यसबेला प्रकृतिले काँचुली फेर्छ भन्दा फरक नपर्ला। चिसो मौसम हटिसकेको हुन्छ। गर्मी मौसम सुरु भइसकेको पनि हुँदैन। मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरु फुल्छन्। हिउँ पग्लन थाल्छ। अनि यस्तो दृश्य कसलाई पो मन पर्दैन र ? भनिन्छ, वसन्त मन लोभ्याउने ऋतु हो। यो प्रकृतिको यौवनावस्था पनि हो। यौवनावस्था कसलाई मन नपरोस् ! 

आध्यात्मिक भाषामा भन्नुपर्दा वसन्त ऋतुमा पञ्चतत्व (पृथ्वी, वायु, जल, आकाश र अग्नि) ले आफ्नो प्रकोप छाडेर सुहाउँदो रुपमा प्रकट हुन्छन्। आकाश स्वच्छ हुन्छ। वायु सुहाउँदो हुन्छ। अग्नि (सूर्य) को ताप ठिक्कको हुन्छ। जल सुखदायक हुन्छ। 

प्राचीनकालमा कसैप्रति आफ्नो प्रेम र आकर्षणका बारेमा भाव व्यक्त गर्नका लागि यो ऋतु अनुकूल मानिन्थ्यो। राजमहल र राजकीय देखरेखमा नगरहरुमा रमाइलो गरिन्थ्यो। आफ्नो प्रेमभाव सम्बन्धित व्यक्तिसामु व्यक्त गरेर उत्सव मनाइन्थ्यो।

त्योबेला वसन्त ऋतुलाई स्वागत गर्न माघ महिनाका पूरै पाँच दिन एउटा ठूलो उत्सव नै मनाइने गरिन्थ्यो। यस उत्सवमा विष्णु र कामदेवको पूजा हुन्थ्यो। पुराणहरु तथा अनेक काव्यग्रन्थहरुमा अलग–अलग तरिकाले यसको चित्रण मिल्छ।कामदेवको उत्सव मनाउँदा बीचमा कामदेवको मन्दिर हुन्थ्यो। स्त्रीपुरूषहरु जम्मा भएर फूलहरु छानेर हार बनाउँथे। एक–अर्कामाथि अबीर, कुमकुम लगाउँथे र नृत्य सङ्गीत आदिको आयोजन गर्थे। पछि पनि मानिसहरु मन्दिर गएर कामदेवको पूजा गर्ने गर्थे। हिजोआज वसन्तोत्सवको रुप बदलियो र होलीका रुपमा मनाइन्छ। 

प्राचीनकालमा महिलाहरुले यस उत्सवको दिन आफ्ना पतिको कामदेवका रुपमा पूजा गर्थे, किनभने कामदेव र रतिले सर्वप्रथम मानव हृदयमा प्रेम र आकर्षणको सञ्चार गरेका थिए। यही प्रेम र आकर्षण नै पतिपत्नीको अटुट सम्बन्धको आधार बन्यो। सन्तानोत्पत्तिको माध्यम बन्यो। पौराणिक कथाअनुसार वसन्तलाई कामदेवको पुत्र मानिएको छ। यस ऋतुलाई कामदेवजस्तै गुण भएको मान्नुको कारण हो, कामदेवमा यति धेरै कामशक्ति थियो, उनले एकपटक भगवान् शिवमा समेत आकर्षणको सञ्चार गरेका थिए। 

कामदेवको शक्ति
एउटा कथाअनुसार तारकासुरको वध गर्नका लागि देवताहरुको योजनाअनुसार भगवान् शिवका पुत्र कुमार कार्तिकेयको आवश्यकता थियो। तर शिवका पुत्र जन्मेकै थिएनन्। देवताहरुमा अब शिवलाई पुत्र जन्माउन कसरी मनाउने भन्ने प्रश्न उठ्यो। तब कामदेवको भनाइ मान्दै ब्रह्माको योजनाअनुसार वसन्त उत्पन्न गरियो। शिव त्यसबेला गहिरो ध्यानावस्थामा थिए। उनलाई जगाउन त्यति सजिलो थिएन।

कामदेव शिवले तपस्या गरेको ठाउँमा पुगे र शिवलाई जगाउन सूक्ष्म रुप लिएर शिवको कानबाट शरीरमा छिरे। यसबाट शिवको मन चञ्चल भयो। उनले आफ्नो शरीरमा कामदेव उपस्थित छन् भनेर थाहा पाए। यत्तिकैमा कामदेव शिवको शरीरबाट बाहिर आए र आँपको एउटा रुखपछाडि गएर पातहरुमा ओझेल परेर उभिए। उनले शिवमाथि मोहन नाम गरेको पुष्पबाण हाने। बाण सिधै शिवको हृदयमा गएर लाग्यो र उनको समाधि टुट्यो। यसबाट शिव क्रोधित भए र आफ्नो तेस्रो नेत्रको ज्वालाले कामदेवलाई भष्म गरिदिए। कामदेवले शिवको हृदयमा बाण प्रहार गरेर शिवभित्र पार्वतीका लागि आकर्षण विकसित गरेका थिए। अर्थात् वसन्तको प्रभाव शिवभित्र पारिदिएका थिए। 

फलेरी र प्लेटो
वसन्त ऋतुसँगै सम्बन्धित एउटा सुन्दर युनानी कथा पनि छ। युनानमा बाली र कृषिकी एक देवी मान्ने गरिन्छ। ती देवीको नाम हो, डेमेटर। त्यहाँ प्रचलित मान्यताअनुसार कुनै समय ती देवीकी एक रुपवान् छोरी थिइन्। उनको नाम थियो, फलेरी। 

एकपटक युनानमा वसन्त ऋतु चलिरहेको थियो। फलेरीले कसैलाई थाहा नदिई आफ्नी आमाको सुनको रथ चलाइन् र आकाशबाट धर्तीमा आइन्। आफ्नो रथलाई धर्तीका राजा प्लेटोको शाही बगैँचामा लगेर राखिन् र रङ्गीबिरङ्गी फूलहरुको बीचमा घुम्न थालिन्। कहिले फूल चुँड्ने र कहिले सुन्दर पुतलीहरु समाउने गर्न थालिन्। 

राजा प्लेटो कुनै कामले आफ्नो शाही उपवनमा आउँदा उनको दृष्टि फूलहरुका बीचमा उभिएकी फलेरीमा पुग्यो। उनी फलेरीमाथि मोहित भए। उनले तुरुन्तै फलेरीलाई अपहरण गरेर आफ्नो महलमा लगे र उनको साथमा चुपचाप विवाह गरे। 

यता डेमेटरले आफ्नी छोरीलाई स्वर्गलोकमा कतै पनि देखिनन्। फलेरीलाई खोज्दै उनी पृथ्वीमा आइन्। उनले पृथ्वीको कुनाकाप्चा सबै खोजिन्, तर छोरी कतै भेटिइनन्। अन्त्यमा निराश भएर उनी एउटा रुखमुनि बसी रुन थालिन्। सूर्य देवताले उनी रोइरहेकी देखे। उनलाई डेमेटरमाथि दया लाग्यो र फलेरीका बारेमा बताइदिए। डेमेटरले आफ्नी छोरीलाई प्लेटोले बिहे गरेर राखेका थाहा पाइन्। 

यस्तो अनौठो खबर सुन्नेबित्तिकै डेमेटर रिसले आगो भइन्। आखिर उनी एक देवी थिइन्। राजा प्लेटोको कत्रो साहस आफ्नी छोरीलाई लुकाएर महलमा राख्न सक्ने ! 

उनले रिसाउँदै तुरुन्तै घोषणा गरिदिइन् – “पृथ्वीमा अन्नको एक दाना पनि उम्रने छैन जबसम्म मेरी पुत्री मैले पाउँदिनँ।”
किसानहरुले आफ्ना खेतमा खनजोत गरे, मज्जाले मिहिनेत गरे, तर सबै व्यर्थ ! अन्नको एउटा दाना पनि उम्रिएन। यस घटनाले पृथ्वीमा त्राहित्राहि मच्चिन थाल्यो। पृथ्वीमा कतै अकाल नपरोस् भनेर सबै देवतालाई चिन्ता भयो। अन्त्यमा देवताहरुका राजा जुपिटरले निर्णय गरे – “मैले तुरुन्तै यी दुईबीच कुनै सम्झौता गरिदिनुपर्छ। होइन भने अनर्थ हुनेछ।”
उनले डेमेटरसँग उनको कडा प्रतिबन्ध पृथ्वीबाट हटाउन अनुराधे गरे। 

डेमेटरले जबसम्म आफ्नी छोरी फिर्ता हुन्न पृथ्वीमा एउटा अन्नको दानासमेत उम्रन नदिने भन्दै आफ्नो भनाइमा अडिग रहिन्। यता प्लेटो पनि फलेरीलाई छाड्न चाहँदैनथे। अन्त्यमा जुपिटरले दुवैबीच एउटा सम्झौता गराए– “फलेरी छ महिना राजा प्लेटोसँग र छ महिना आफ्नी आमासँग रहनेछिन्।” 

फलेरी जब आफ्ना पतिसँग हुन्छिन्, वसन्त ऋतु आउँछ। त्यसबेला फूलहरु फुलेर वातावरण महकले भरिन्छ। वृक्षहरुमा कोइलीको सुरिलो आवाज सुनिन्छ। जब फलेरी छ महिनाका लागि आफ्नी आमासँग जान्छिन्, पृथ्वीमा पतझडको समय आउँछ। शिशिर र गृष्म ऋतुको बीचमा पर्ने यस ऋतुलाई हिन्दूहरुको विशेष ग्रन्थ गीतामा श्रीकृष्णले अर्जुनसँग संवाद गर्ने क्रममा भनेका छन् – “म ऋतुहरुमा वसन्त हुँ।” वसन्त ऋतुको विशेष अवस्थाले गर्दा होला, यस ऋतुलाई ऋतुहरुका राजा (ऋतुराज) पनि भनिन्छ।

यस ऋतुमा कैयौँ मान्छेहरु उद्यान र तलाउहरुमा घुम्ने उद्देश्यले जान्छन्। सङ्गीतमा एउटा विशेष रागलाई वसन्तको नाममा बनाइएको छ। वसन्त ऋतुमा वसन्त पञ्चमी, शिवरात्रि तथा होली नामक पर्वहरु मनाइन्छन्। ‘बुद्धि, विद्या र वाणीकी देवी ‘सरस्वती’को जन्मदिन वसन्त पञ्चमीकै दिन पर्छ। यो दिन देवी सरस्वतीको आराधना गरिन्छ। पहेँला वस्त्र लगाउनु र पहेँलै व्यञ्जन खानु राम्रो मानिन्छ। 

माद्री र पाण्डु
वसन्त ऋतुको प्रभाव कतिसम्म पर्छ भन्ने कुरा महाभारतको एउटा प्रसङ्गबाट पनि थाहा पाउन सकिन्छ। हुन त यो वर्षा ऋतु सुरु भइसकेपछिको कुरा हो, तर वसन्त ऋतुको प्रभाव अझै सकिइसकेको थिएन। चारैतिर हरियाली थियो, सुन्दर फूलहरु फुलेका थिए। 

कथाअनुसार राजा पाण्डु आफ्ना दुई पत्नीलाई लिएर वनमा गए। घुम्ने क्रममा टाढाबाटै एउटा मृग देखे। उनले बाण निकालेर सिधै मृगलाई प्रहार गरे। बाण हानेपछि मृगको नजिकै पुगेर हेर्दा उनले मैथुनरत मृगका जोडी देखे। त्यो मृग एक ऋषि थिए, जो यसबेला मृगको रुप धारण गरेको अवस्थामा थिए। 

आफ्नो हालत देखेर ऋषिले पाण्डुलाई श्राप दिए – “राजन् ! तिमीसमान क्रुर पुरmष यस संसारमा कोही पनि छैन होला। तिमीले मलाई मैथुन गरिरहेको समयमा बाण हान्यौ। त्यसैले जब पनि तिमीले मैथुन गर्नेछौ, तिम्रो मृत्यु हुनेछ।” यस्तो श्राप सुन्नेबित्तिकै महाराज पाण्डु डराए। 

एक दिन पाण्डु माद्रीको साथमा वनमा एउटा तलाउको तटमा घुमिरहेका थिए। वातावरण अत्यन्तै मनमोहक थियो। शीतल वायुले दुवैको मन शान्त गरिरहेको थियो। तब अचानक वायुको झोँकाले माद्रीको वस्त्र उडायो। माद्रीलाई यस अवस्थामा देखेर पाण्डुको मन चञ्चल बन्यो। दुवैले श्रापको परिणामलाई भुले र मैथुनमा संलग्न भए। श्रापका कारण तत्काल पाण्डुको मृत्यु भयो।

सरस्वती र श्रीकृष्ण 
वसन्त ऋतुसँगै जोड्न सकिने अर्को एउटा पौराणिक कथा पनि छ। सृष्टिको सुरुवातको कुरा हो। भगवान् विष्णुको आज्ञा पाएर ब्रह्माले जीवहरु, खासगरी मनुष्ययोनिको रचना गरे। यति रचना गर्दा पनि उनी आफ्नो रचनादेखि सन्तुष्ट थिएनन्। आफ्नो रचनामा कुनै कमी भएजस्तो उनलाई लाग्थ्यो। हुन पनि त्यसबेला चारैतिर मौन व्याप्त थियो। कुनै आवाज थिएन।

यस्तो अवस्थामा विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छर्किए। जलकण पर्ने बित्तिकै पृथ्वीमा कम्पन हुन थाल्यो। वृक्षहरुको बीचबाट एउटा अद्भूत प्राकट्य भयो। यो प्राकट्य एक चतुर्भुजी सुन्दर स्त्रीको थियो, जसको एउटा हातमा वीणा तथा अर्को हात वरमुद्रामा थियो। अन्य दुई हातमा पुस्तक र माला थिए। ब्रह्माले देवीसँग वीणा बजाउन अनुरोध गरे। देवीले वीणाको मधुरनाद सुरु गर्नेबित्तिकै संसारका सबै जीवजन्तुलाई वाणी प्राप्त भयो। जलधारामा कोलाहल व्याप्त भयो। हावा चल्नाले सरसराहट हुन थाल्यो। तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने। 

पछि तिनै सरस्वतीले जब श्रीकृष्णलाई देखिन्, उनको रुपमा मोहित भइन् र पतिका रुपमा पाउने इच्छा गर्न थालिन्। श्रीकृष्णले यो कुरा थाहा पाए र आफू राधाप्रति समर्पित भएको बताए। सरस्वतीलाई प्रसन्न गर्नका लागि उनले वरदान दिए – “प्रत्येक विद्याको इच्छा राख्ने व्यक्तिले माघको शुक्ल पञ्चमीमा तिम्रो पूजा गर्नेछ।”  
यसै दिनदेखि वसन्त ऋतु सुरु भएको मानिन्छ।
वसन्तमा जन्मिने व्यक्तिको स्वभाव
ज्योतिष शास्त्रअनुसार यस ऋतुमा वातावरण सुहाउँदिलो हुन्छ। यस ऋतुमा जन्मेका व्यक्तिहरु निकै सुन्दर हुन्छन्। उनीहरु बुद्धिमान हुनुका साथै गणितमा पनि प्रवीण हुन्छन्। अनेक शास्त्र जान्ने स्वभावका हुन्छन्। सङ्गीत शास्त्रमा उनीहरुको निकै रुचि हुन्छ र त्यसमा निपुण हुन्छन्। उनीहरु सुन्दर लुगा लगाउन मन पराउँछन्। सधैँ हँसमुख र प्रसन्न रहने स्वभावका हुन्छन्। 
वसन्त ऋतु सुरू भएलगत्तै पाश्चात्य सभ्यताबाट भित्रिएको ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस पर्छ। वसन्त ऋतुको आगमन र प्रेम दिवस आफैँमा अत्यन्त सान्दर्भिक छन्। 

शबरीको भक्ति
रामायणमा उल्लेखित एउटा घटनाअनुसार श्रीरामले वसन्त ऋतुकै पहिलो दिन शबरीलाई भेटेका थिए। कथाअनुसार रावणद्वारा सीता हरण भइसकेपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढे। उनी विभिन्न स्थानमा गए, तीमध्ये दण्डकारण्य पनि थियो। त्यहीँ शबरी नाम गरेकी महिला बस्थिन्। राम उनको कुटीमा पुगे। शबरीले रामलाई देखेपछि प्रेमवश आफ्नो होसहवास गुमाइन् र मीठा बयर आफूले चाख्दै रामलाई खुवाउन थालिन्। प्रेमले भरिएको यस घटनालाई रामकथाको गायन गर्ने सबैले आ–आफ्ना ढङ्गले प्रस्तुत गरेका छन्। दण्डकारण्यको त्यो क्षेत्र हाल भारतको मध्य प्रदेशमा फैलिएको वन भएको मानिन्छ। त्यहीँ शबरीको आश्रम थियो। 

राग, रङ र उत्सव मनाउनका लागि यो ऋतु सर्वश्रेष्ठ मानिएको छ। होली पर्व वसन्त ऋतुमा मनाइन्छ।  कालिका पुराणमा वसन्तको व्यक्तिकरण गर्दै यसलाई अति आकर्षक, सन्तुलित शरीर भएको, अनेक फूलहरुले सजिएको, मात्तिएको हात्तीजस्तो चाल भएको आदि गुणहरुले भरपुर भनेर बताइएको छ। 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App