अन्य

खुल्यो हेलम्बु

ह्योल्मो समुदायको सुन्दर बस्ती–हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राका लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् गाउँहरू। प्राकृतिक छटाले भरिपूर्ण छ हेलम्बु। 

पर्यटकलाई ह्योल्मो समुदाय सेतो खादा पहि-याएर स्वागत गर्छन्। नुन चिया, चौरीको दूध चिया र करु चिया खुवाएर सत्कार गर्छन्। त्यसैले उनीहरु आत्मीय लाग्छन्। ह्योल्मो क्षेत्रका तत्कालीन हेलम्बु, किउल, इचोक र महांकाल, दुवाचौर र पाल्चोक गाविस अहिले एकीकृत हेलम्बु गाउँपालिकाले चिनिन्छन्। यहाँ ह्योल्मो समुदाय अर्थात शेर्पा, तामाङ र लामाको बाहुल्यता छ। 

तीन दशकअघि हेलम्बु ‘स्याउको सहर’ नामले चिनिन्थ्यो। अहिले स्याउ हेलम्बुबाट लोभ भइसकेको छ। स्याउ सहरलाई बौराउने प्रयत्नमा जुटेका छन्, गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा। भन्छन्, ‘हेलम्बुलाई फेरि स्याउ सहर बनाउँदै छौँ।’ हेलम्बु गुम्बाको गाउँले समेत चिनिन्छ। यहाँ दर्जनौँ बौद्धगुम्बा, स्तुपा छन्। ती सेता छन्। सेतो रंग शुभ र शान्तिको प्रतिक हो। बौद्धमार्गी ह्योल्मो बुद्ध जस्तै शान्त छन्, शालिन पनि। बस्ती र बाटैभरि ध्वजापताका टाँगिएका छन्। फहराइरहने ध्वजापतका आगन्तुक स्वागतमा ब्यस्त भए झैँ लाग्छन्। ’

ह्योल्मो क्षेत्रका अधिकांश युवायुवती अमेरिका र युरोप छन्। गाउँ आउने विदेशी पर्यटकको संगतले उनीहरुको पहूँच विकसित मुलुकसम्म स्थापित भएको हो। गाउँमा महिनामा करोडौँ रेमिटेन्स भित्रिन्छ।

ट्राउट माछा हब हेलम्बुको पछिल्लो चिनारी हो। यहाँ एक दर्जन संख्यामा ट्राउट माछा फर्म छन्। ट्राउट माछा काठमाडौंका तारे होटलमा खपत हुन्छन्। ‘ट्राउटबाट मनग्ये आम्दानी मात्र लिएका छैनौँ, यसले पर्यटक पनि तानिरहेको छ,’ किउन बगरका ट्राउट पालक उत्तम भण्डारी सुनाउँछन्।  पुस, माघको समय हिमाल खुल्ने मौसम। हेलम्बु गाउँपालिकालाई हिमालले घेरेको छ। यतिबेला टलक्क टल्केका हिमालले हेलम्बुको सौन्दर्यमा अझ निख्खरता ल्याएको छ। जुगल, थाङ्गालछ्यो, दार्जेलाक्पा, आमायाङ्ग्री लगायत दर्जन हिमाल नजिकै देखिन्छन्। अन्यत्र हिमाल हेर्न डाँडाकाँडै चढ्नु पर्छ। तर यहाँ फेदीबाटसमेत हिमालको दृश्यपान गर्न सकिन्छ। उचाइबाट त हिमाल झन्–झन् नजिक बनेर आँखामै टाँसिन खोज्छन्। 

मेलम्चीघ्याङ, तार्केघ्याङ, घ्याङगुल, सेमाथाङ, कुटुङसाङ, तिम्बु, ककनी, पाल्चोक हेलम्बुका चर्चित पर्यटकीय गन्तव्य हुन्। यहाँ स–साना होटल, लज र होमस्टेका व्यवस्था छ। सिजनमा ती पाहुनाले भरिभराउ हुन्छन्। शेर्माथाङमा एकतारे स्नोफल माउन्टेन रिसोर्ट सञ्चालनमा छ। हेलम्बुलाई ऐतिहासिक र साहसिक पर्यटनको हब बनाउने गुरुयोजना निर्माणमा जुटेको अध्यक्ष निमाग्याल्जेनले जानकारी दिए। शैक्षिक क्षेत्रमा समेत हेलम्बु अग्रणी बन्दै गएको छ। मेलम्चीघ्याङ मावि सामुदायिक विद्यालयको नमूना शैक्षिक संस्था हो। यहाँ मुलुकभरमा बालबालिका पढ्छन्। हरेक वर्ष अब्बल नतिजा पस्किरहेको मेलम्चीघ्याका विद्यार्थी पढाइमा ‘फेल’ हुन जान्दैनन्। ‘पढाइलाई बालबालिकाको प्यासन बनाउन सकेका छौँ,’ तीन दशकदेखि यो विद्यालयलाई कुशल नेतृत्व दिइरहेका प्रधानाध्यापक पूर्ण गौतमले भने। 

पछिल्लो समय ह्योल्मोवासी किबी खेतीमा आकर्षित छन्। बर्सेनी किबी फैलँदो छ। यहाँका सेपिला जमिन अलैँचीले ढाकिँदै छन्। तिन्ले आम्दानी दिन सुरु गरेका छन्। पर्यटक स्वागतमा रमाउने ह्योल्मोवासीले पछिल्लो समय आम्दानीको क्षेत्रलाई फराकिलो बनाइरहेको किउलका कर्मतोप्के लामा बताउँछन्। ह्योल्मो क्षेत्रका अधिकांश युवायुवती अमेरिका र युरोप छन्। गाउँ आउने विदेशी पर्यटकको संगतले उनीहरुको पहूँच विकसित मुलुकसम्म स्थापित भएको हो। गाउँमा महिनामा करोडौँ रेमिटेन्स भित्रिन्छ। उनीहरुले विदेशी कमाइको केही हिस्सा गाउँ विकासमा लगाइरहेका छन्। विदेश यात्राले रित्तिसकेका गाउँ अहिले भरिँदै गएका छन्। युवा पुस्ता गाउँ बनाउन तल्लिन छ। ‘रित्ता बस्ती भरिनथालेसँगै ह्योल्मो क्षेत्रको स्वरुपै फेरिँदै गएको छ,’ स्थानीय पाशाङ लामाले भने। 

हेलम्बुका प्रत्येक बस्ती सडक सञ्जालले घरिएका छन्। त्यहाँ सरर सवारी साधन कुद्छन्। गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रका विकासका लागि एकीकृत योजना अघि सारेको छ। सडकलाई विकासको पहिलो खुड्किलो मान्दै गाउँपालिकाले आफ्नै नाममा एक्साभेटर खरिद गरेको छ। बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल तिम्बु, अम्बाथानमै पर्छ। मेलम्ची राजधानी पुगेपछि वार्षिक करोडौँ रोयल्टी हेलम्बु गाउँपालिकाले प्राप्त गर्छ। बास्तावमै हेलम्बु गुल्जार बन्दै छ।  

 

प्रकाशित: २६ माघ २०७५ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App