अन्य

आत्मीयताको मुहान टुटेपानी

गाउँलेहरू सरल, निश्चल र सहयोगी हुन्छन्।  उनीहरूको व्यवहारमा पाइन्छ अतिथि देवो भवः।  स्वच्छ गाउँघर डुल्दा तन/मन दुवै रिचार्ज हुन्छन्।  मनमा ऊर्जा बढ्छ।  सबैभन्दा ठूलो कुरा, गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले लठ्ठ बनाउँछ।  त्यस्तै आत्मीयताको एउटा मुहान हो–टुटेपानी।  

तनहुँको भानु नगरपालिका–१३ मा पर्छ टुटेपानी (१,२७५ मिटर)।  मिर्लुङकोट (१,६४५ मिटर)को दक्षिणी काखमा थपक्क बसेको गाउँ।  प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणीधाम। टुटेपानीमा ग्रामीण पर्यटनको सुवास मग्मगाउँदै छ।  त्यही सुन्दर गाउँमा हामी (राष्ट्रगानका लेखक व्याकुल माइला र म) पनि पुग्यौं २० माघ, ०७५ मा।   

तनहुँ ज्ञानगंगा बोर्डिङ स्कूल, दमौलीको रजत महोत्सवमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए हाम्रा व्याकुल दाइ।  त्यसैले हामी दिनभर महोत्सवमा बस्यौं।  विद्यालयका संस्थापक एवं तनहुँ पर्यटनका प्रवद्र्धक हरिसिंह गुरुङले त्यो रात टुटेपानीमा बस्ने चाँजोपाँजो मिलाएका थिए।  

झमक्क साँझ परिहाल्यो, कार्यक्रम नसकिँदै जिपमा चढ्यौं।  साथमा थिए टुटेपानी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन होमबहादुर गुरुङ पनि।  राति अबेर पुग्यौं टुटेपानीमा।  

मिर्लुङकोट क्षेत्रको टुटेपानीमा ग्रामीण पर्यटनको सुवास मग्मगाउँदै छ।  प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणी नै रहेछ टुटेपानी ! गाउँ घुमेर फर्कने बेला दालभातको पैसा त तिरियो तर गाउँलेको आत्मीयताको मूल्य तिर्नै सकिएन भनेर थकथकी मान्छन् पर्यटक।  

गाउँको प्रवेशद्वारको दायाँबायाँ महिला र पुरुषको भिड थियो।  उनीहरूले बाँसुरीको धुनसँगै फूलमालाले स्वागत गरे।  सिंढी चढेर सभाहल नपुगुञ्जेल बरर तालि बजाइरहे।  मलाई लाग्यो, ‘राष्ट्रगानका लेखक आइपुगेकाले यति ठूलो सम्मान गरेका होलान् !’ 

पहिल्यै खबर गरेर आउने सबै खाले पाहुनालाई उनीहरूले यसरी नै स्वागत गर्दा रहेछन्।  मुलुकका ज्यूँदा विभूति व्याकुल दाइलाई सामुन्नेमा पाउँदा उनीहरू गौरवान्वित हुनु स्वाभाविकै थियो।   

हामीलाई हलमा पुर्‍याएर खाजा खुवाए।  अनि समितिका सचिव अमर गुरुङले छोटो कार्यक्रम चलाए।  उनीहरू पाहुनालाई कौरा, पाउँदुरे (कृष्णचरित्र), लोकगीत, चुड्का र घाटु लगायत नाचगान देखाउँछन्।    

हामी पुग्दा भान्छामा खाना पाकिसकेको थियो।  हामी अमरजीको घरमा बस्यौं।  आँगनको कुनामा पर्यटक कोठा बनाइएको रहेछ।  अँध्यारोमा गाउँको राम्ररी दर्शन गर्न सकिने कुरा भएन।  बिहान हिमाल खुल्ने आशामा सुत्यौं।  

चिसो बिहानीमा घरबेटी भाउज्यूले कोदोको सेल, अन्डा, बोडीको तरकारी र चिया खुवाइन्।  खाजा खाँदै हामीले पर्यटनका कुरा गर्‍यौं।  गाउँमा गुरुङका ३० घर रहेछन्।  ती मध्ये १६ घरमा होमस्टे सुविधा छ।  ४५ जना बास बस्न सक्छन्।  

तिनै हरिसिंह दाइले होमस्टे पर्यटनमा लाग्न गाउँलेलाई हौस्याएका रहेछन्।  ०७२ वैशाखदेखि होमस्टे थालिएको रहेछ।  १२ सय रुपैयाँको प्याकेजमा खाजा, डिनर, बेड, संस्कृति, ब्रेकफास्ट र लन्च सुविधा पाइन्छ। एक समय टुटेपानी ‘पेन्सनर भिलेज’का रूपमा कहलिएको थियो।  घरघरैजसो भारतीय, बेलायती र नेपाली सेनाका रिटायर्ड बाहरू छन्।  आजका युवा पनि लाहुरे बनेका छन् तर सेनामा कम छन्।    

कृषि नै आम्दानीको मुख्य आधार।  खेतबारीमा मकै, कोदो, धान, भट्ट, केराउ, सिमी, सब्जी, आलु उत्पादन हुन्छ।  भैसी, बाख्रा र कुखुरा पालन गरिएको छ।  हस्तकलामा डोको, नाम्लो थुन्से आदि बुनिन्छ। हाम्रो योजना मिर्लुङकोटसम्म पुग्ने थियो, तर दिउँसो दमौलीको कार्यक्रम पनि भ्याउनु पर्ने बाध्यताका कारण डाँडा चढ्न भ्याएनौं।  गाउँबाट हिँडेर मिर्लुङकोट जाँदा एक घन्टा लाग्दो रहेछ।  त्यहाँ प्राचीन दरबारका भग्नावशेष, भयँरथान, बाघको खोर, रानीपोखरी लगायत सम्पदा छन्।  

खाजा खाईवरी जिपमा निस्कियौं।  घामको ताप बढ्दै जाँदा टलक्क देखिन थाले हिमाल।  एउटा होइन, दुइटा होइन, दर्जनौं हिमाल।  अन्नपूर्ण, हिमचुली, माछापुच्छे देखि लमजुङ हिमालसम्म ! बरोबर त्यतै क्यामेरा सोझ्याइरहें मैले।  

हिमाल हेर्दै हामी पुलिमराङ गाउँको शिरमा पुग्यौं जहाँ सहिद स्मारक छ।  त्यहाँ ००७ सालदेखि विभिन्न कालखण्डमा सहिद भएका योद्धाहरू लालध्वज गुरुङ, शमशेरबहादुर गुरुङ, भरत गुरुङ, धर्मध्वज गुरुङ, सर्बसिंह गुरुङ र हस्तवीर गुरुङका प्रतिमा छन्।  स्मारकसामु उभिएर मनफूल चढायौं हामीले।  

सहिद भरतका छोरा दिलबहादुर त्यहीँ भेटिए, पिताजीको हत्या हुँदा उनी जम्मा ६ महिनाको शिशु थिए।  वीर सहिदका सपना पूरा गरेर नागरिकलाई समृद्ध बनाउन हाम्रा नेताहरू चुकेकामा उनको मन पनि दुखेको छ।    

एक दशक हुनै लागेछ सहिद स्मारक बनाउन थालेको।  चुबुर चुबुर बजेट आउने भएकाले पूरा भैसकेको छैन।  स्थानीय नगरपालिकाले यसलाई किन प्राथमिकतामा राख्दैन ?  

डाँडाबाट तल हेर्दा ‘व्हाइट लेक’ देखियो।  भुइँकुहिरो जमेर ताल जस्तै बनेको।  खिचिरहुँझैं लाग्ने कति प्रेमिल दृश्य ! त्यहाँबाट टुटेपानीमा फर्किंदा सडक छेउमा भुर्रभुर्र उडेका पंछीमा आँखा तानिए।  रंगविरंगका चराको बासस्थान टुटेपानी।  बर्ड वाचिङ टुरिजमका लागि समेत पर्यटक आउने अनुभव सुनाए क्याप्टेनसाप्ले।  

टुटेपानीमा पर्यटनको अथाह संभावना देखिन्छ।  टुटेपानी क्षेत्रकै दर्गा जामे मस्जिद र पर्यटकीय पदमार्गहरुले समेत यहाँको महत्व बढाएका छन्।  बुद्ध शान्ति पदमार्ग, मिर्लुङकोट पदमार्ग र क्यासमिरी पदमार्गको मुख्यद्वार पनि टुटेपानी नै हो।  

हामी सरासर ठूलो ढुंगामा पुग्यौं।  विशाल ढुंगामाथि रूखै रूख ! ढुंगाभित्र सिद्ध गुफा।  गुफामा महादेव।  त्यहाँ पुग्नेबित्तिकै व्याकुल दाइ ध्यानमा बसे।  मैले फोटा खिचिदिएँ।  हिजो बिहान दमौलीको व्यास गुफा र दोभान (मादि र सेतीको) पनि यसै गरी खिचेको थिएँ उनलाई।   

राष्ट्रगानका लेखक आएको खबर गाउँभर फैलिएको थियो।  ठूलो ढुंगा नजिकैको अरनिको उच्च माविबाट हामीलाई निम्तो आयो।  अगाडि व्याकुल दाइलाई उभ्याएर फेरि एक पटक सबै विद्यार्थी र शिक्षकले राष्ट्रगान गाए।  त्यही मौकामा व्याकुल दाइले बाल्यकालीन अनुभूति सुनाएर भावुक बनाए।  ‘पढेर असल मान्छे’ बन्न प्रेरणा दिए उनले।  

हामी स्कुलबाट सहिद पार्क जाँदा हिमाल टलक्कै थिए।  माथि सनसरी डाँडामा भर्खरै सहिद कृष्णबहादुर गुरुङको सालिक रहेछ।  भर्खरै माघ १६ गते अनावरण गरिएको।  प्रजातन्त्रवादी योद्धा कृष्णबहादुरलाई पंचायतले ०१८ सालमा हत्या गरेको रहेछ।  सालिकसामु मुन्टो झुकायौं हामीले। 

सहिद पार्कलाई भ्यू टावरका रूपमा विकास गर्न सकिन्छ।  त्यहाँबाट हामीले गाउँलाई खिच्यौं।  अनि घरमा पुगेर खाना खायौं।  

बिदाइको क्षणमा सभाहलमा हामीले मायाको चिनोस्वरूप टुटेपानीको तस्बिर अंकित कप पायौं।  गाउँ छाड्ने बेला आमा समूहले प्रवेशद्वार अगाडि सेल रोटी र नारेपा (कोदोको रक्सी) सहित बिदाइ ग¥यो।  त्यतिबेला आमाहरूसँगै व्याकुल दाइ नाचेको क्षण झल्झली आँखामा छाइरहे छ। 

अति मीठो भयो टुटेपानी यात्रा।     

जिपमा दमौली झर्दा समग्र मिर्लुङकोट क्षेत्रको पर्यटकीय संभावना खोतल्यौं हामीले।  सँगै ओरालो झरेका थिए क्याप्टेन होमबहादुर र सचिव अमरजी पनि।  नचम्किएको हिरा रहेछ टुटेपानी।  गाउँ घुमेर फर्कने बेला दालभातको पैसा त तिरियो तर गाउँलेको आत्मीयताको मूल्य तिर्नै सकिएन भनेर थकथकी मान्छन् पर्यटक।  

यति सुन्दर गाउँ घुम्ने मेसो मिलाइदिएकामा हरिसिंह दाइलाई धन्यवाद।  यस अघि दमौलीका गीतकार दाइ सागर उदासले टुटेपानी घुम्न निम्तो दिएका थिए।  उनले केही अघि मात्रै कवि मित्रहरू भूपिन, हेमन्त विवश र दीपेन्द्रसिंह थापालाई पनि घुमाएका थिए।  दुई रात बस्ने गरी यात्रा योजना बनाउनु बेस हुन्छ।   

टुटेपानी पुग्नेबित्तिकै सधैं सुखशान्ति मिलोस् भनेर गाउँलेले हामीलाई रिपा (रक्षाबन्धन)  बाँधिदिएका थिए।  अझै छ मायाको त्यो डोरो गर्धनमा।  टुटेपानीको माया झन् गाढा बन्दै छ मनमा।   

कसरी पुग्ने : दमौलीबाट उत्तरमा टुटेपानी।  पृथ्वीराजमार्गको डुम्रे र दमौलीबाट टुटेपानी जाने ३ वटा सडक छन्।  दमौलीबाट छापथोक–गौरीस्वाँरा–पोखेरीछाप हुँदै टुटेपानी २४ किमी।  त्यसैगरी दमौली–कलेस्ती, समजुर–पोखरीछाप–टुटेपानी २२ किमी र, डुम्रे–सेपा बगैंचा–समजुर–पोखरीछाप–टुटेपानी २५ किमी।  दमौलीबाट मध्यान्ह १२ बजे र दिउँसो २ बजे छुट्ने बसमा टुटेपानी पुग्न अढाई घन्टा।  त्यस्तै डुम्रेबाट दिउसो १ः ३० बजे छुट्ने बसमा ३ घन्टा। 

प्रकाशित: २६ माघ २०७५ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App