अन्य

वर्षा अगावै फोहोर फ्याँक्न बञ्चरेडाँडा तयार पार्नुस : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षात् अगावै बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सहरी विकास मन्त्रालयलाई अनुरोध गरेका छन्।

मेयर शाक्य बिहीबार स्यानिटरी ल्याण्डफिल्ड साइटको स्थलगत अनुगमनको लागि सिसडोल पुगेर फोहोरमैला व्यवस्थापनमा सक्रिय भई काम अगाडी बढाउन आग्रह गरेका हुन्। ‘सिसडोलमा फोहोर राख्ने अवस्थै छैन। त्यसैले आगामी वर्षात्भित्रै बञ्चेरेडाँडामा फोहोरमैला व्यवस्थापन गर्ने गरी जुट्नुहोस्,’ उनले भने, ‘बञ्चरेडाँडाको पूर्वाधार विकासलाई प्राथमिकतासाथ अघि बढाउनु पर्‍यो।’ मेयर शाक्यले फोहोरमैला व्यवस्थापनमा गम्भीर भएर लाग्न सहरी विकास मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका थिए। सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले बञ्चरेडाँडामा पूर्वाधार निर्माणको क्रममा रहेको बताए।

‘बञ्चरेडाँडामा  माटो परीक्षण गरेर आवश्यक काम थालिसकेका छौं,’ उनले भने, ‘दुई प्याकेजमा काम गर्दा एक अर्काेलाई मुख ताक्ने प्रवृत्ति हुने भएकाले एउटै प्याकेजमा काम गर्न लागिरहेका छौं।’ विभागका अनुसार हाल पाँच ठाउँमा ४० मिटरसम्म तल गएर माटोको परीक्षण हुँदैछ। ‘माटो परीक्षणको नतिजा आउनेबित्तिकै डिजाइन तयार पारिनेछ,’ उनले भने, ‘डिजाइन तयार हुने बित्तिकै बोलपत्र आह्वान गरिनेछ।’ स्थलगत अध्ययनको लागि गएको टोलीले टोलीले २०६२ सालमा फोहोर व्यवस्थापन गर्न थालिएको ठाउँ ‘सिसडोल भ्याली २’ र त्यसपछि भ्याली १ को अवलोकन गरेको थियो।

वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहोर नुवाकोट पुर्‍याउँदाका नीतिगत व्यवस्थाको बारेमा जानकारी गराएका थिए। फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले, भ्याली १ र २ को जमिन सम्याएर साइटको सौन्दर्यीकरणमा काम गर्नुपर्ने आवश्यकता भएको बताए।  मेयर शाक्यले फोहोर व्यवस्थापन र ढुवानीमा देखिएका समस्या तत्कालै समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै भने, ‘अब तत्काल गर्नुपर्ने कामको योजना बनाउन तयार पार्नुस। तत्कालै र दीर्घकालीन गर्नुपर्ने कामको लिष्ट तयार पारेर अगाडी बढ्नुहोस्।’ संघीय संसद सदस्य रामबीर मानन्धरले दीर्घकालीन योजना बनाएर फोहोरमैला व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। सिसडोलबाट बञ्चरे डाँडा पुग्ने करिब २ किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ।

प्रकाशित: १८ माघ २०७५ ०४:५१ शुक्रबार

विद्यासुन्दर_शाक्य बञ्चरेडाँडा फोहोर_व्यवस्थापन सहरी_विकास_मन्त्रालय अनुरोध