तपाईँले कहिल्यै कल्पनै नगरेको व्यक्ति, वस्तु, सम्मान वा उपहार भेट्नुभयो भने तपार्इँको सुरुको प्रतिक्रिया कस्तो हुन्छ ? कि तपाईँ केहीबेर बोल्नै सक्नुहुन्न, कि रुनुहुन्छ कि खुसीले उफ्रिनुहुन्छ। गत कात्तिक १७ गते शनिबार पोखराको एक कार्यक्रममा यस्तै दृश्य देखियो।
यस वर्ष मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तकमा पर्न सफल तीर्थ गुरुङको ‘पाठशाला’ उपन्यासमाथि गुरुङ साहित्यिक मञ्च नेपालले आयोजना गरेको पुस्तक परिचर्चा कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ तीर्थ श्रेष्ठ, समीक्षक गुरुङ सुशान्त, पोख्रेली विभिन्न गुरुङ संघसंस्था र साहित्यिक संघसंस्थाका व्यक्ति एवम् साहित्यप्रेमीहरूको बाक्लो उपस्थितिले हल खचाखच थियो। अरु कार्यक्रममा देखिने शैलीभन्दा भिन्न किसिमले संस्थाकी महासचिवले सुरुमै मञ्चकी अध्यक्षलाई सभाध्यक्षको आशन ग्रहण सँगसँगै सभाध्यक्षको भनाईहरू राखिदिन अनुरोध गरिन्। सभाध्यक्षले करिब तीन मिनेटभित्र कार्यक्रमको उद्वेश्य,कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवादसहित सबैलाई स्वागत गरिन् र मञ्चबाट ओर्लेर दर्शकदीर्घाको अघिल्लो लाइनमा आएर बसिन्।
पाठशाला जस्तो सुन्दर उपन्यास लेखेर मुलुककै गौरव बढाएकाले हामीले उपन्यासकार तीर्थ गुरुङलाई एक लाख एक हजार एक सय एघार रूपैयाँले सम्मानित गरेका हौं।
त्यसपछि कार्यक्रम सञ्चालिकाले कार्यक्रम सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरूको नामावली पढिसकेपछि कार्यक्रम उद्घाटनका लागि प्रमुख अतिथिलाई मञ्चमा बोलाइन्। जब दीप प्रज्वलन गरेर प्रमुख अतिथि मञ्चबाट ओर्लदै थिए कार्यक्रम सञ्चालिकाले प्रमुख अतिथिलाई एकछिन् मञ्चमै बस्न अनुरोध गरिन् र आजको यस कार्यक्रममा तपाईंहरू सबैलाईं एउटा खुसी बाँड्नुछ, एउटा सरप्राइज दिनुछ, एकैछिन् धैर्य गरिदिनुहोला। यसो भनिरहँदा दर्शकदीर्घामा रहेका लेखक तीर्थ गुरुङ, समीक्षक गुरुङ सुशान्त र अरु सहभागीहरूसमेत मुखामुख गर्न थाले।
यतिकैमा कार्यक्रम सञ्चालिकाले लेखक तीर्थ गुरुङलाई मञ्चमा बोलाउँदै भनिन्– पाठशाला उपन्यास मदन पुरस्कारका लागि मनोनयनमा पर्नु भनेको हामी सबै गुरुङ समुदायको लागि गर्वको कुरा हो। नेपाली साहित्य लेखनकै इतिहासमा गुरुङले लेखेको पुस्तक मदन पुरस्कारमा पर्नु यो एउटा ऐतिहासिक उपलब्धिको सुरु विन्दु पनि हो। आउँदा दिनहरूमा पनि तपाईँको योभन्दा अझै उत्कृष्ट पुस्तक नेपाली साहित्यले पाइरहोस्। ‘तपाईँजस्तै गुरुङ साहित्यकार गुरुङ समुदायमा जसिन्मरहोस् यहीँ शुभेच्छा र तपाईँको स्वस्थ जीवनको कामनासहित हामी सबै गुरुङ समुदाय तपाईँप्रति गर्व गर्दै तपाईँलाई गुरुङ संस्कार अनुसार एक लाख एक हजार एक सय ११ रूपैयाँसहित सम्मान गर्छौं।’
कार्यक्रम सञ्चालिकाले यति भनिनसक्दै हलमा गडगडाहट ताली बज्न थाल्यो। पुस्तक परिचर्चाको कार्यक्रम भनिए पनि यति ठूलो रकमसहितको सम्मानले प्रमुख अतिथि, लेखक, समीक्षक र दर्शकदीर्घतिरका सबै एकछिन् हेराहेरकै स्थितिमा रहे। केहिबेरमा पछिल्तिर रहेर समाचार संकलन गरिरहेका पत्रकारहरू हतारहतार नाङ्लोभरि गुरुङ संस्कार झल्कने गरी दिइएको एक लाख बढीको सम्मानलाई आफ्नो क्यामेरामा कैद गर्न अगाडि आए। सभाध्यक्ष, प्रमुख अतिथि र गुरुङ संघसंस्थाका प्रमुखहरूले लेखकलाई क्रमसँगै सेतो टीका, क्रेंगी (टाउकोमा बेरिने सेतो कपडा) भाङ्ग्रा, सम्मानपत्र, माला, बुके र नाङ्लोभरिको मनगदसहितले सम्मान गरेपछि प्रमुख अतिथि प्राज्ञ तीर्थ श्रेष्ठले भने, ‘आजको कार्यक्रममा प्रमुख अतिथि पनि तीर्थ, सम्मानित हुने व्यक्ति पनि तीर्थ। हाम्रो नाम मात्रै मिल्दैन, हाम्रा धेरै कुराहरू मिल्छन्। हामी दुवै मृत्युको नजिकै पुगेर आयौं। मलाई आज यो कार्यक्रममा यसरी तीर्थ गुरुङलाई सम्मान गरिँदैछ भन्ने थाहा थिएन।
एउटा लेखकको सम्मानका लागि जनस्तरबाटै रकम संकलन गरियोस् र यति धेरै रकमले सम्मान गरियोस् यस्तो दृश्य बिरलै देख्न पाइन्छ। भाषा, साहित्य सम्पदा हो। ‘जाने सम्पत्ति नजाने विपत्ति’ बन्न सक्छ। पहेंलो फूलले मात्रै बगैचा राम्रो बन्दैन, रातोले मात्रै पनि हुँदैन। नेपालमा मातृभाषा नेपाली र नेपाली इतरबीच कोरिएको धूमिल रेखा चाँडै हट्नुपर्ने हुन्छ।’
प्रमुख अतिथिले उपन्यासकार गुरुङको विगतको स्वास्थ्य अवस्थालाई स्मरण गदैगर्दा माहोल एकाएक स्तब्ध भयो। सम्मानलगत्तै सुरु भएको पुस्तक परिचर्चा कार्यक्रममा समीक्षक गुरुङ सुशान्तले ठट्टा गर्दै सोधे– अघिसम्म मुड ठिक छैन भन्नुभएको थियो अब पो ठिक भयो कि ?
जवाफमा लेखक तीर्थ गुरुङले भने– मलाई यसबारे केही थाहै थिएन, अहिले म अर्कैअर्कै भावनामा छु केही बोल्न आइरहेको छैन। आयोजक संस्थालाई धेरै धेरै धन्यवाद। यति भनि सक्दानसक्दै उनी एकछिन् भावुक बने र एक घुट्की पानी पिएपछि पाठशालाको रचनागर्भ खोले। १४ वर्ष निजी विद्यालयमा पढाएपछि विदेशबाट मृगौलाको रोगी भएर फर्कदा त्यतिबेला आफूलाई माया गर्ने आफन्त, लेखक र साहित्यकारहरूले नै बचाउनुभएको र त्यो गुन तीर्न पनि आफूले पाठशाला पुस्तक लेखेको बताए।
उनले भने, ‘सुरुवाती दिनहरूमा कविताहरू लेखे पनि कविताले उपन्यासको तुलनामा बजार नपाउने भएकाले पछिल्लो समय उपन्यासतर्फ मोडिएँ। आफूले लेखेको पहिलो उपन्यास मदन पुरस्कारको उत्कृष्ट आठमा मनोनयनमा पर्नु र आप्mनो समुदायको साहित्यिक संस्थाले यति ठूलो रकमका साथ सम्मान गर्दा अझै उत्साह र जिम्मेवारी थपिएको महसुस गरेको छु।’
पाठशाला किशोर मनोविज्ञानलाई गहिरोसम्म आत्मसाथ गरी लेखिएको एक उत्कृष्ट उपन्यास हो। आउँदो पुस्तकमा भाषाको शक्ति र शिल्पलाई अझै परिष्कृत रूपमा प्रयोग गर्ने वाचा गरेका गुरुङले पाठशालालाई थोरै कल्पना र धेरै यथार्थ समेटेर लेखिएको बोर्डिङ स्कुलको ऐनाको उपमा दिए।
आयोजक संस्था गुरुङ साहित्यिक मञ्च नेपालले स्वदेश तथा विदेशमा बस्ने गुरुङ लेखक, साहित्यकारलाई एकै थलोमा आवद्व गरी आफनो भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्धनको क्षेत्रमा काम गरिरहेको छ। लाहुरे संस्कृतिले गाजेको गुरुङ समुदाय अरु समुदायको तुलनामा साहित्य लेखनमा पछाडि परिरहेको भन्दै गुरुङ साहित्यिक मञ्च नेपालले नियमित मासिक रचना वाचन शृङ्खला, पुस्तक प्रकाशन, अन्र्तक्रिया र साहित्यिक पुरस्कारका लागि अक्षयकोष स्थापना गरी गुरुङ समुदायका लेखकहरूलाई प्रोत्साहन गरिरहेको छ।
प्रकाशित: २९ मंसिर २०७५ ०३:०० शनिबार