सम्बन्ध बलियो बनाउनका लागि आपसी बुझाइ र साथ नै चाहिन्छ भन्ने कुराको नमुना जोडी हुन् डाक्टर सुधांशु केसी दम्पती। उनीहरुबीच धेरै कुरा भिन्न थिए जन्मठाउँ, हुर्कने तरिका र पेशा। तर, उनीहरु बीचमा समानता थियो बलियो प्रेम। त्यही प्रेमको डोरीले यो जोडीको २१ औं वैवाहिक जीवन सुमधुर रुपमा अघि बढिरहेको छ। संघर्ष, घुमफिर अनि कामसँगै जीवन यात्रा चलिरहेको छ।
वीर अस्पतालको कलेजो विभागमा वरिष्ठ कलेजो विशेषज्ञ अर्थात् इन्डोग्याष्टोलोजिष्ट हुन् डा.केसी र उनकी पत्नी संगम केसी अर्याल भर्खरै जागिरे जीवन छोडेर परिवार समालिरहेकी छिन्। परिवारमा यो जोडीको उपहारका रुपमा दुई सन्तान उत्तिकै खुसीपूर्वक हुर्किरहेका छन्। पहिलो सन्तानका रुपमा १९ वर्षीय छोरा संयम र छोरी सायुरी केसी। यो डाक्टर परिवारको जीवनचर्या भने रोचक र संघर्षमय छ।
अन्तरजातीय विवाह
प्रेमले पेशा, जातको बाधामा कुनै अर्थ राख्दैन भन्ने कुराको प्रमाण हुन् डा. केसीको जोडी। सन् १९८६ तिरको कुरा हो। डा. सुधांशु केसी र संगम त्रि–चन्द्र कलेजमा विज्ञान विषयमा स्नातक तह पढ्दै थिए। पहिलोपटक सहपाठीको रुपमा त्यहीँ चिनजान भएको थियो। डा. सुधांशुको घर डिल्लीबजार थियो भने संगमको न्युरोड। सहपाठीका रुपमा रहेको यो जोडी कतिखेर प्रेममा फस्यो पत्तै भएन। विगत सम्झिँदै सुधांशु भन्छन्, ‘पहिला कसले प्रेम प्रस्ताव राख्ने भन्ने कुरामा हामीबीच प्रतिस्पर्धा नै थियो,’ डा.केसीले विगत सम्झिँदै ठट्यौली पारामा भने। संगम भने पहिलो प्रेम प्रस्ताव डा. केसीले राखेको दाबी गर्छिन्। उनी भन्छिन्, ‘पहिला उहाँले नै राखेको जस्तो लाग्छ’। आपसमा प्रेम पलाउँदै थियो, दोस्रो वर्षको कक्षा चल्दै थियो। त्यही वर्ष बंगलादेश एमबिबीएस अध्ययन गर्न जाने छात्रवृत्ति खुल्यो। त्यसमा डा. केसीले आवेदन दिए र परीक्षा दिए। एमबिबीएस अध्ययन छात्रवृत्तिमा छनोट भए। बीचैमा पढाइ छोडेर बंगलादेश हानिए। दोस्रो वर्षमै अध्ययन गरिरहेकी संगम भने छुटिन्। चलिरहेको प्रेम सम्बन्ध छोडेर जान सजिलो थिएन। तर, भविष्यको सपना बुनेर बंगलादेश पुगे। बंगलादेश पुगे पनि संगमको याद आइरह्यो यता संगम पनि सुधांशुको यादमा डुबिरहिन्।
अहिले जस्तो सम्पर्क गर्नका लागि न मोबाइल थियो न त इमेल नै। यो अप्ठेरोलाई पार गर्ने यो जोडीले भरपर्दो उपाय गर्यो। हुलाकबाटै चिठी आदान–प्रदान गरिरहे। जुन चिठीले दुवैलाई पाँच वर्षसम्म नजिक राख्न सहयोग गर्यो। डा.केसी भन्छन्, ‘हामी हप्तामा कम्तीमा एउटा चिठी पठाउँथ्यौँ, म चिठी हेरेरै खुसी हुन्थेँ। संगमको पत्र पाएकै कारण नियमित पत्र ल्याउने हुलाकीलाई छुट्टै पैसासमेत दिने गरेको सुधांशु सुनाउँछन्। ‘चिठी ल्याइदिने पोष्टमेनलाई पैसा दिएर पठाउँथेँ, मलाई देख्ने बित्तिकै पोष्टमेन खुसी हुन्थे। दुवैले हप्तामा दुईवटा पत्र आदान–प्रदान गर्ने गरेको पत्नी संगम सुनाउँछिन्।
पत्राचार र अध्ययनलाई समान महत्व दिएको यो जोडीले पत्रकै भरमा पाँच वर्ष पार गर्यो। एमबिबीएसको अध्ययन सकेर डा. केसी सन् १९९५ मा नेपाल फर्के। आपसमा पे्रम चलिरहेको कुरा दुवैको परिवारलाई थाहा थिएन। त्यतिखेरको समयमा काठमाडौंमा क्षेत्री र ब्राह्मण परिवारबीच बिहेवारी चल्दैनथ्यो।
यो कुराले औपचारिक विवाह गर्न सजिलो थिएन। तैपनि डा. केसीले आफ्नो पितालाई यो कुरा राखेर संगमको घरमा विवाहको कुरा गर्न पठाए। यो कुरा राखेपछि संगमको परिवारले सुरुमा स्वीकार गरेन। संगमकै भिनाजुले जात–भात विवाहको खास मुद्दा नभएको बताएपछि संगमको परिवार राजी भए। चिनजानको ११ वर्ष र पे्रमको करिब आठ वर्षपछि अर्थात् १९६७ नोभेम्बर २० गतेका दिन औपचारिक विवाह भयो।
डा. केसीले संगमलाई नै रोज्नुको अर्को कारण हो उनलाई आफ्नै पेशाको जीवनसाथी पटक्कै मन पर्दैनथ्यो। चिकित्सक पेशाले अत्यन्त व्यस्त बनाउने र परिवारमा दुवै एउटै पेशामा भएमा समय व्यवस्थापन गर्न नमिल्ने देखेर फरक पेशाको जीवनसाथी रोजेको उनी सुनाउँछन्। ‘यो पेशामा म जस्तो दुःखी कोही छैन, दुवैजना भएको भए परिवारको अवस्था के हुन्थ्यो ?’ उनले भने। संगम फरक पेशामा भएकोले परिवार चलाउन अहिले सजिलो भएको उनले बताए।
बंगलादेशबाट फर्केपछि डा. केसी वीर अस्पतालमा जागीर सुुरु गरे। जागिरकै क्रममा पुनः जापानमा हेपाटोलोजी विषयमा अध्ययनका लागि छात्रवृत्ति मिल्यो। उनी पत्नी संगमसहित जापान हानिए। दुई सन्तानसहित जापानमा बस्दै स्नातकोत्तर तहको अध्ययन सकाएर नेपाल फर्केर वीर अस्पतालको हेपाटोलोजी विभागमा काम सुरु गरे। हाल सोही विभागमा कार्यरत छन्।
संघर्षका दिनहरु
डा. केसीको परिवार संयुक्त थियो, पुरानो घर केही साँघुरो गल्लीभित्र। खुला वातावरणमा बालबच्चा हुर्काउन अनुकूल थिएन। गाडी पार्किङका लागि पनि समस्या नै थियो। जापानबाट फर्केपछि डा. सुधांशुले बबरमहलमा भाडामा फल्याट लिएर बसे। आफू वीर अस्पतालको जागिरे थिए पत्नी संगमले इन्स्योरेन्स कम्पनीमा जागिर खान सुरु गरिन्। यो अवधिमा दुवै व्यस्त थिए। छोरा स्कुल जाने भइसकेको थियो, छोरी भने स्कुल जान सक्ने भएकी थिइनन्।
यो अवधिमा आफन्तको सहयोग लिएर दुवैजनाले जागिरे जीवन बिताए। जागिरको सुरुका वर्षमा डा. केसीको मात्र आम्दानीले घरखर्च चलाउन हम्मे पथ्र्यो। उसो त संगमकै बैंक खातामा पैसा बढी हुन्थ्यो। दुवैजनाको खर्चले परिवार धान्दै गए। घरमा बच्चाहरु हुर्किंदै गए। घरमा छोरा–छोरी साना भएकोले संगमलाई जागिरे जीवन र बालबालिकाको हेरचाह गर्न हम्मे पथ्र्यो। यति बेला डा. केसीको जागिरको समय निश्चित थियो। ‘मेरोभन्दा संगमकै खातामा पैसा धेरै हुन्थ्यो, उनकै सहयोगले सबै खर्च निर्वाह गरेँ’ विगत सम्झिँदै उनले भने।
कामबाट फर्केपछि नानीहरुको गृहकार्य हेर्ने, घुमाउन लैजाने काम आफैँ गर्थेँ। ‘पहिला यति धेरै व्यस्त थिइनँ, बच्चाहरुको हेरचाह गर्ने, गृहकार्य गराउने काम आफैँ गर्थे,’ डा. केसीले भने। यो बीचमा यो दम्पतीले अनेक उतारचढाव–संघर्ष जारी राखे।
बिस्तारै बालबालिका हुर्कँदै गए। यो अवधिमा उनले आफ्नो पेशागत रुपमा आफूलाई थप स्थापित गर्दै गए। जागिर, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलन तथा गोष्ठीमा भाग लिने र त्यहाँ उनले कलेजो रोगको बारेमा कार्यपत्र प्रस्तुत गर्ने गर्थे। यसका लागि उनले थप तयारी गर्नु पथ्र्यो। उनले यी सबै काम राति ब्युँझेर पनि गरे। यो सिलसिलामा डा. केसी थुप्रै देश घुमिसकेका छन्। वीर अस्पतालको जागिरले मात्र खर्च मनग्गे पुग्दैनथ्यो। परिवारका आवश्यकता पनि बढिरहेका थिए। उनले यही अवधिमा नर्भिक अस्पतालमा आंशिक रूपमा काम थाले। दुई ठाउँको कामले उनलाई व्यस्त बनायो नै थप स्थापित पनि बने।
देश–विदेशको अनुभव, विदेशको अध्ययनजस्ता विषयले डा. केसी पोख्त थिए। वीर अस्पतालमा जागिरे हुँदै खेरी उनले विभिन्न दैनिक अखबारमा स्वास्थ्यसम्बन्धी लेखहरु प्रकाशित गरे। यसले उनी झनै स्थापित भए। यही पाँच वर्षअघि उनले छुट्टै क्लिनिक पनि खोले। त्यसपछि उनी बाह्रै घण्टा व्यस्त भए। संगम र आफू दुवै व्यस्त भएको कारण घरमा बालबच्चाहरुलाई समय नपुगेको अनुभूति गरे। दुवै जनाले छलफल गरेर दुई वर्षअघि संगमले जागिर छोडेर गृहिणी जीवन बिताउन थालेकी छिन्।
जागिर छोडेको केही समय संगमलाई अप्ठेरो भयो। अहिले घरमा छोरीको हेरचाह, घरको व्यवस्थापन, आफन्त भेटघाटमा समय बिताइरहेकी छिन्। उनी फुर्सदिली भएपछि परिवारमा सबैजना खुसी छन्। मुख्य गरी छोरा–छोरी दुवै खुसी। ‘स्कुलबाट आउँदा मलाई घरमा भेट्दा छोरी धेरै खुसी छिन्, म पनि खुसी छु र हामी सबै खुसी’ संगमले पारिवारिक जीवनको कुरा सुनाइन्।
फुर्सदमा घुमफिर
संगम घुमफिर गर्न, घर बगैंचा सजाउन, चलचित्र हेर्न जान मन पराउँछिन्। संगमलाई कुनै पनि काम सानो र ठूलो भन्ने लाग्दैन। घरमा सहयोगी कर्मचारी भए पनि धेरै जसो काम आफैँ गर्न मन पराउँछिन्। विशेष गरी बगैंचा मिलाउन, घरको सामग्री सजाउन, सफा गर्ने काम छोरीलाई स्कुल पठाएपछि गर्छिन् र बचेको समय आफन्तसँगको भेटघाटमा बिताउन मन पराउँछिन्। डा. केसीसहित छोरा–छोरी पनि अलिकति समय निस्क्यो कि घुम्नै मन पराउँछिन्। घुम्नका लागि खास योजना र ठाउँ चाहिँदैन उनलाई।
‘अलिकति समय मिल्यो कि हामी पशुपति भए पनि घुम्न निस्कन्छौँ,’ संगमले भनिन्। ‘मलाई पनि घुम्न पाए मात्र खुसी लाग्छ’ विवाहको २१ वर्षको अवधिमा यो जोडी २० वटा देश घुमिसकेको छ। प्रायः संगमलाई एकपटक घुमेको ठाउँ फर्केर घुम्न मन पर्दैन। तर उनलाई स्विट्जरल्यान्डले भने आकर्षण गरेको छ। उनी भन्छिन्, ‘फेरि एकपटक सिंगापुर जान मन छ।’
नेपालका पाल्पा, पोखरा, लुम्बिनीलगायतका स्थान घुमिसकेका छन्। छोटो बिदामा भने घरदेखि नजिक धुलिखेल, नगरकोटलगायतका ठाउँ घुमिरहन्छन्। साँझपख रेष्टुराँ जानु र डिनर खाएर फर्किनु यो जोडीको चलन नै बनेको छ। छुट्टीको दिन साँझपख सिनेमा हल पुगेर चलचित्र हेर्नु यो जोडीको बानी नै हो।
सहयोगी जोडी
पेशाले फरक भए पनि यो जोडी आपसमा सहयोग दिन कतै चुकेको छैन। छुट्टी भयो कि बच्चाहरु सँग सँगै बसेर खानपान गर्ने, घुमफिर गर्ने, सँगै छोरा–छोरीसँग खेल्ने, टेलिभिजन हेर्ने नियमित कामभित्र पर्छै। संगम बेलाबखत बिरामी हुँदा सुधांशुले गर्ने हेरचाह बेग्लै छ। कार्यालय समयमै भए पनि पटक–पटक फोन गर्छन्। ‘भ्याए आफैँ औषधि दिने गर्छन्, नभ्याए आफ्ना डाक्टर साथीसँग देखाउन सुझाउँछन्,’ संगमले भनिन्।
यो जोडीबीच सुधांशु प्रेम देखाउन अलिक कमजोर रहेको कुरा स्वीकार्छन्। ‘केयर पनि संगमले नै बढी गर्छिन्, मलाई अरुले ठाडो भन्छन्, पे्रम देखाउन अलिकति चुकेको हुन्छु,’ उनले भने।
यो उनको स्वभाव भए पनि आफूलाई आफ्नै तरिकाले माया, हेरचाह पाइरहेको संगम बताउँछिन्। ‘भित्र–भित्रै माया गर्नु हुन्छ, देखाउन आउँदैन’। संगमले आफूलाई जीवनको लामो यात्रामा पनि एकनासको पे्रम गरिरहेको डा. केसी बताउँछन्। ‘मैलेभन्दा उनले नै धेरै माया गर्छिन् जस्तो लाग्छ, मेरो ड्रेसअपको सिफारिससमेत उनैले गर्छिन्,’ उनले रहस्य खोल्दै भने। परिवारमा संगमले पुर्याएको योगदानकै कारण आफू अघि बढ्न सजिलो भएको उनले बताए। डा. केसी पछिल्लो समय झन् व्यस्त हुँदै गएको कुराले भने संगमलाई केही दिक्क लाग्छ। बिहान पाँच बजे उठेर दैनिक व्यायाम गरेका केसी सात बजेपछि घरबाट काममा निस्कन्छन्।
बिहान आफैंले खोलेको क्लिनिकमा, दिनमा वीर अस्पताल र साँझ नर्भिक अस्पतालमा काम सकेर मात्र उनी घर पर्किन्छन्। यति बेलासम्म यो जोडीले रमाइलो बिहानीदेखि साँझको आनन्द गुमाइसकेको हुन्छ। ‘कहिले काहीँ आधा घण्टा मात्रै छिटो आउँदा पनि म अचम्मै हुन्छु,’ संगमले सुनाइन्। साथीहरुको श्रीमान् छिटो घर फर्केर सँगै साँझ बिताएको कुराले उनलाई कहिले काहीँ मन लोभ्याउँछ पनि। तर परिस्थितिलाई सहज पार्न पछि परेकी छैनन्। सानो कुरामा पनि आत्तिहाल्ने संगमको बानी भने सुधांशुलाई त्यति मन पर्दैन। ‘पाहुना आउँदा पनि आत्तिहाल्ने, आत्तिएर दोब्बर खाना बनाउने बानी पनि छ, यो बानीमा सुधार आउन सकेन,’ उनले भने।
खानाका परिकार बनाउन खप्पिस डा. केसी
आफ्नो पेशाजत्तिकै खाना पकाउन सिपालु छन् डा. केसी। उनले फुर्सद भयो कि घरमा मासुका अनेक परिकार बनाउँछन्। उनको यो क्रियाकलापले घरमा आउने पाहुना मनग्गे खुसी भएर फर्किन्छन्। बच्चाहरु उत्तिकै खुसी छन्। केसीले बेला–बखत बनाउने विशेष परिकारहरु दही र माछाको कम्बिनेसन, बटर चिकेन, पाकिस्तानी ब्रियानी, मटन गे्रभी हुन्। उनले बनाएका यी परिकार खानेहरुले स्वाद सम्झिरहने गरेको उनी दाबी गर्छन्, मलाई प्रयोगात्मक खाना बनाउन मन पर्छ, मैले बनाएका परिकार खानेहरु औधी खुसी हुन्छन्,’ उनले भने।
डा. केसीलाई आफैंले बनाएको मासुका अनेक परिकार खान मन पर्छ। तर, दिनहुँ थोरै मात्रामा मासुको परिकार खाने गरेको संगम सुनाउँछन्। संगम भने मासुको परिकार त्यति रुचाउँदिनन्। तर, डा. केसीका लागि भान्छामा मासुको कुनै न कुनै परिकार पाक्छ।
प्रकाशित: २८ मंसिर २०७५ १०:०६ शुक्रबार