अन्य

भक्तपुरमा सामूहिक बेल विवाह

भक्तपुरको जगातीमा भएको बेलविवाहमा सहभागी दुई कन्याहरू।

भक्तपुुरका विभिन्न ठाउँमा सामूहिक बेल विवाह गरिएका छन्। जिल्लाका जगाती, चाँसुखेल, याछें, महालक्ष्मीस्थान लगायतका स्थानहरूमा दुई दिने सामूहिक बेलविवाह गरिएका हुन्।

नेवार समुदायमा ५ देखि ९ वर्षीय बालिकाको बेल विवाह गर्ने प्रचलन छ। पहिलो दिन दुस्वः (भित्रिने) र दोस्रो दिन पिस्वः (बाहिरिने) गरी प्रारम्भिक दिन र समापन दिनको रुपमा दुई दिनसम्म बेलविवाह गरिएको हो। भक्तपुरका मानकाजी शिल्पकारले जगातीमा नातिनीको बेलविवाह गराए। उनले कम खर्चमा बेलविवाह गराएको बताए।

नेवार समुदायमा बेलकर्मको ज्यादै महत्व छ। जोशी, आचार्य, शर्मा लगायतबाट साइट देखाएर जुराएपछि बेलविवाहको मिति निश्चित गरी विवाह सम्पन्न गर्ने चलन छ। यो क्रममा बेल विवाहमा बेलसँगै सुनको प्रतिमा राखेर सूर्यनारायणलाई अर्पण गरी सुवर्णकुमारसँग विवाह गराई कन्यादान गर्ने गरिन्छ।

कन्यादानमा प्रत्येक बालिकाका मातापितासहित परिवारजन तथा आफन्त गरी सयौंको सहभागिता रहने गर्छ। यस क्रममा विवाह हेर्न आउनेहरूको संख्या पनि उतिकै धेरै हुने गर्दछ। विवाहका क्रममा सहभागी कन्याहरू पनि उतिकै रमाउने गर्छन्। सहभागी प्रजिता शिल्पकारले बेल विवाहमा सहभागी हुन पाउँंदा खुसी लागेको सुनाइन्।

बेल विवाहको एउटा मुख्य आकर्षण मित लगाइने परम्परा हो। यस क्रममा बेल विवाहमा सहभागी कन्याहरूबीच मित लगाउने प्रचलन छ। विवाहमा सहभागी भएकाहरूमध्ये दुई कन्याबीच मित लगाउने गरिन्छ। मित लगाएपछि उनीहरूबीच जीवनभर सम्बन्ध रहन्छ। विवाह, ब्रतबन्ध लगायतका सवै कर्महरुमा नातागोता, आफन्त, छरछिमेकसरह मितलाई पनि निमन्त्रणा गराई भोज खुवाउनुपर्ने चलन छ।

सस्कृतिविद् जननीप्रसाद मुल बेलसँग विवाह गरिने भएकाले नेवार समुदायकी महिला कहिले पनि विधुवा नहुने विश्वास रहेको बताउँछन्। पतिको मृत्यु भए पनि उनी विधवा नहुने मानिने उनको कथन थियो।

नेवारी समुदायमा बेल विवाहलाई विभिन्न कर्ममध्येको एक महत्वपूर्ण कर्म मानिन्छ। विशेष गरी रजस्वला हुनु अगाडि कन्याको बेल विवाह गर्ने प्रचलन छ। नेवार समुदायमा श्रीमानसँंगको विवाहलाई अन्तिम र तेस्रो विवाह मानिन्छ। यसअघि नेवारी कन्याको पहिलो विवाह बेलविवाहमा बेलसँग र दोस्रो विवाह गुफा राख्ने बेला सूर्यसँग गरिने परम्परा छ।

प्रकाशित: २८ मंसिर २०७५ ०५:१५ शुक्रबार

भक्तपुर नेवार_समुदाय सामूहिक_बेल_विवाह