अन्य

गुँथ्न छोडियो फेटा, बज्न छाड्यो डम्फु

शिरमा ढाका टोपी । टाउकोमा मामाले गुँथिदिएको सेतो फेटा । निधारमा छपक्क टाँसिएका सेतै अक्षता । फेटाको फेरोभरि चेलिबेटी र आफन्तले दक्षिणामा घुसाइदिएको नोट रुपैयाँको झपक्क घेरा । उलिनकाठ (डोली) चढेर लगनगाँठो कँस्न घरबाट अन्मिदा सिन्धुपाल्चोक, कदमबास गाउँका ज्ञानबहादुर तामाङ भर्खर १७ वर्षका थिए । 

रिमठिम (तामाङ परम्परा) अनुसार उनको छिमेकी गाउँ जितपुरकी युवतीसँग मागी विवाह भएको थियो । ‘एक वर्षअघि नै केटी पक्षसँग सोधनी (प्रस्ताव) पोङ (सगुन) राखेका थियौँ । परिवारले पोङ स्वीकार गरेपछि बिहे गर्ने बाटो खुलेको थियो,’ ४० वर्षीय ज्ञानबहादुरले २३ वर्षअघि भएको आफ्नो बिहे सम्झँदै भने । 

सोधनी पोङ स्वीकृत भएपछि युवतीको घरमा भेला भएका दुवै पक्षका तान्वागान्वा (गाउँका अगुवा÷मुखिया) हरुको छलफल र सहमतिमा बिहेको मिति तय भएको उनलाई अझै सम्झना छ । केटा पक्षको नाताले ज्ञानबहादुर परिवारले बिहे तय गर्ने भेलामा तान्वागान्वासहित माइती खलकलाई नौ पोङ (नौ घैँटा रक्सी) सगुन खुवाएको थियो । 

लामो परम्परागत प्रक्रियालाई औपचारिक रुप दिँदै डम्फुको डमडम र तामाङ गीत, तरुनी–तन्नेरीको नाचको उल्लासबीच दुलही घर भिœयाउँदाको क्षण सम्झँदा ज्ञानबहादुर अहिले पनि रोमाञ्चित हुन्छन् । ‘तामाङ समुदायको वैवाहिक संस्कार वास्तवमै विशिष्ट र मौलिक छ,’ स्थानीय गोल्मादेवी माविका प्रधानाध्यापकसमेत रहेका उनी भन्छन्, ‘आधुनिकताले हाम्रो मौलिक संस्कारमा ह्रास आउन थालेको छ । यो चिन्ताको विषय हो ।’

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङको विवाह प्रसंग अझ रोचक छ । उनले तामाङ संस्कारअनुसार एकै युवतीसँग दुईपटक बिहे गरे । पहिले भागी त्यसपछि मागी बिहे । २०३३ माघमा उनले आफूले मन पराएकी युवती भगाए । जतिबेला उनी १६ वर्षका थिए । भागी विवाहलाई सांस्कृतिक मान्यता दिन उनी परम्पराअनुसार चल्नै पथ्र्यो । 

अमानपरिवारले केटी भागेर आएको जानकारीसहित उनको परिवारमा सोधनी पोङ पठायो । ससुराली पक्षले तत्कालै सोधनी पोङ स्वीकारेर बिहेका लागि अनुमति दिएपछि तान्वागान्वाले मिति तोके । महिनादिनपछि भागी बिहेलाई अमानले मागी बिहेमा बदले । दौरा, सुरुवाल, फेटा, खादा र टीकाअक्षतासहितको सेतै पहिरनमा दुलाहाा बनेर सांस्कृतिक मान्यताका साथ मनको मान्छे आफ्नो बनाएको उनलाई भर्खरै जस्तो लाग्छ । ‘भागी बिहेलाई समेत संस्कारमा बदलेर सहजै स्वीकार गर्ने तामाङ समुदायको परम्परागत विशेषता नै हो,’ ५८ वर्षीय मेयर अमान सुनाउँछन्, ‘हाम्रो समुदायमा सन्ततिको इच्छालाई प्राथमिकता दिइन्छ ।’

तामाङ समुदाय बसोबास गर्ने सिन्धुपाल्चोक सबैभन्दा ठूलो जिल्ला हो । यहाँ झण्डै ४० प्रतिशत तामाङ जातिको बसोबास छ । त्यसैले यो जातिको परम्परागत विवाह संस्कार अन्य जाति र समुदायको भन्दा पृथक, विशिष्ट र मौलिक छ । मामाचेला, फूपूचेलाका सन्ततिबीच वैवाहिक सम्बन्धद्वारा नाताकुटुम्ब जोड्नु तामाङ समुदायको मौलिक विशेषता हो । 

जानकारहरुका अनुसार तामाङ जाति जनाउने थर मात्र झण्डै १ सय ३० छन् । उनीहरु विभिन्न गोत्र र गोत्रसमूहमा विभाजित छन् । लोप्चन, बम्जन, योञ्जन, मोक्तान, पाख्रिन, थोकर, गोले, तितुङ, थिङ, बल, स्याङ्तान आदि तामाङ जातिका गोत्र हुन् । यी शब्दले थरलाई समेत जनाउँछ । एकै गोत्र र गोत्रसमूहलाई तामाङ भाषामा स्वगेभाइ भनिन्छ । स्वगेभाइ अर्थात् एउटै गोत्रमा बिहेवारी चल्दैन । 

लोप्चन, बम्जन र योञ्जन स्वगेभाइ हुन् । एकै गोत्रसमूहका गोले र तितुङबीच पनि बिहे हुँदैन । स्वगेभाइ मोक्तान, पाख्रिन, थोकर र स्याङताङबीच विवाह वर्जित छ । लेकदेखि बेँसीसम्म फैलिएर बसेका जिल्लाका अधिकांश तामाङ जातिको विवाह संस्कारमा समानता रहेको मेयर अमानको अनुभव छ । यो समुदायमा दुईखाले विवाह प्रचलनमा छ, मागी र भागी । मागीलाई परम्परागत संस्कार र भागीलाई प्रेम विवाहको रुपमा बुझ्ने गरिएको छ । तर भागी बिहेलाई अनिवार्य परम्परागत संस्कारको बाटोबाट सांस्कृतिक मान्यता प्रदान गर्नु अर्थात् मागी बिहेमा बदल्नु तामाङ जातिको विशिष्टि संस्कार हो । 

मागी विवाह 

परम्परागत मागी विवाहका विधि, प्रक्रिया निकै लामो र झञ्झटिलो छ, साथै उत्तिकै रोमाञ्चक पनि । यो प्रचलनअनुसार केटा पक्ष केटीको परिवारमा प्रस्ताव लिएर पुग्छ । रक्सी पोङ (सगुन) सहित पुग्ने केटा पक्षले ‘तपाईंकी छोरी माग्न आएको, दिने कि नदिने ?’ भनेर सोधनी गर्छ । त्यसैले सुरुको यो सगुनलाई सोधनी पोङ भनिन्छ । केटा पक्षको प्रस्ताव स्वीकार÷अस्वीकार जे भए पनि रक्सी पोङ फिर्ता हुँदैन । 

केटा पक्षको प्रस्ताव स्वीकार भएमा वा केटा, केटीबीच विवाह गराइ दिन दुवै परिवारबीच सहमति जुटेमा अर्को दिन तान्वागान्वाको छलफल बोलाइन्छ । तान्वागान्वा गाउँका मुखिया वा अगुवाको हैसियतमा हुन्छन् । केटीको घरमा दुवै पक्षका तान्वागान्वा छलफलमा बसी सुरुमा कति पोङ खाने भनेर सहमति जुटाउँछन् । सात, नौ र ११ घैँटो रक्सी पोङ खाने प्रचलन छ । कतिपयले यस्तो पोङ नखाने सहमति पनि जुटाउँछन् । अर्को दिन दुवै पक्षका तान्वागान्वा, परिवारका सदस्य बसी पोङ खाँदै विवाहको मिति तय गर्छन् ।  

अन्य समुदायमा झैँ तामाङ जातिमा पनि राति बिहे गर्ने प्रचलन थियो । अहिले त्यो हराइसकेको छ । बेहुला अन्माउनु अघि उनका मामाले शिरमा सेतो फेटा गुँथिदिन्छन् । मामाको हैसियतअनुसार नौ, ११ र १५ हाते फेटा दिने चलन छ । परिवारका सदस्य, आफन्त र गाउँलेले सेतो अक्षता टीका लगाएर दुलाहाालाई दक्षिणा दिन्छन् । दुलाहाालाई सेतै खादा पहि¥याएर सिंगार्छन् । तामाङ समुदायमा सेतो रंगलाई पवित्र र शान्तिको प्रतीकको रुपमा लिइन्छ । 

दुलाहाको विवाह पोशाक यही हुनुपर्छ भन्ने छैन । तर परम्परामा दौरा सुरुवालको प्रचलन बढी रहेको जानकार गराउँछन् । अहिले सर्ट पाइन्ट, कोट पाइन्टजस्ता आधुनिक पोशाक पहिरिने चलन भित्रिइसकेको छ । गाउँका तान्वागान्वा, परिवारका सदस्य, आफन्त र गाउँको साथमा जन्ती लिएर बाह्र सगुन, चारदाम सगुन, ठिटौली पोङ र ढोका उघार्ने पोङसहित दुलाहा दुलही लिन पुग्छन् । 

तामाङ समुदायको प्रमुख बाजा डम्फु हो । बिहे संस्कारमा समेत त्यही डम्फु बजाइन्छ । गाउँमा रहेका डम्फु संकलन गरी बजाइन्छ । डम्फुको तालमा तामाङ गीतमा झुम्दै जन्ती दुलहीको घरमा पुग्छन् । बेहुलाभन्दा अघि सबैभन्दा पहिला बेहुलीको घरमा ठिट्यौली पोङ पु¥याइन्छ । ठिट्यौली पोङमा चामलको छोक्रा र गच्छेअनुसार जनावर (बोका, खसी, राँगा) को सपेटा हुन्छ । त्यसपछि ढोका उघार्ने पोङ पुग्छ । यो पोङ पुगेपछि मात्र दुलाहाले दुलहीको घरमा प्रवेश पाउँछन् । 

एउटा जिउँदो कुखुराको भाले, १२ माना रक्सी, ६० वटा चामलको रोटीसहितको बाह्र सगुन केटीका मामा, ठूलाबा, काका, फूपू, फुपाजु, हजुबा र हजुरआमालाई दिने परम्परा छ । माइती घरलाई भने एउटा जिउँदो कुखुराको भाले, १८ बीस (१ सय ६० वटा) रोटी र चार पैसासहितको चारदाम बुझाइन्छ । माइती घरले चारदाम बुझेपछि बेहुली बेहुलाको पक्का भएको मानिन्छ । 

बेहुली पक्षले जन्तीलाई हैसियतअनुसार दाल, भात, अचार, चिउरा, राँगा, भैँसी, बोका, खसीको मासु परिकार, रोटी, रक्सीको भोज खुवाउँछन् । लामाले जग्गे गरी सम्भोटा लिपिमा लेखिएको छ्योइ (पुस्तक) पढेर मन्त्रपाठ गर्छन् । दुलाहाले दुलहीलाई गरगहना र लत्ताकपडा दिन्छन् । सिन्दुरपोतेपछि लगनगाँठोका बेला बेहुलाले कुखुराको भाले काटेर चारदाम गर्छन् । ‘आफ्नी श्रीमती अरुले लगे त्यसलाई भाले जसरी काट्छु भनेर बेहुलालाई प्रतिज्ञा गराइएको हो,’ बेहुलाले भाले काट्नुको अर्थ खुलाउँदै शिक्षक ज्ञानबहादुरले भने, ‘दुलाहाले सधैँ दुलहीको राम्रो हेरविचार गरोस् भनेर कर्तव्य सिकाउन खोजिएको हो ।’ भाले काटेसँगै दुलही विधिवत रुपमा दुलाहाकी हुन्छिन् ।

दुलहीका परिवारले आर्थिक हैसियतअनुसार तामा र पित्तलका खड्कौला, थाल, झ्याँगा, डबका दाइजो दिन्छन् । माइती पक्षले तान्वागान्वासहित आशिष दिएर बेहुली अन्माइदिन्छन् । डम्फु बजाउँदै ‘बेहुलाले बेहुली ल्यायो,’ जस्ता गीत गाएर बेहुली बेहुलाका घरमा भिœयाइन्छ । भोलिपल्ट बेहुला पक्षले गाउँलेलाई भोज खुवाउँछन् । आफन्त, गाउँले कुखुराका अण्डा, रक्सी, रोटीको सगुन बोकेर भोज खान पुग्छन्, दुलाहा दुलहीलाई टीका लगाइदिन्छन् । बेहुलाका मामाले टीकाटाला समाप्त भएको घोषणा गरेपछि विवाह समारोह सम्पन्न हुन्छ । 

भागी विवाह 

तामाङ समुदायमा भागी विवाह पराम्परादेखि नै प्रचलनमा छ । त्यसैले यो जातिले प्रेम विवाहलाई पराम्परादेखि नै स्वीकृति दिएको पाइन्छ । मन मिलेपछि युवायुवती भागेर बिहे गर्छन् । खासगरी जात्रामात्रा र विभिन्न पर्वको अवसरमा मन परेकी केटी केटाले भगाउँछन् । जात्रा, पर्वको पहिलो भेटमै आपसमा मन परे केटाकेटी त्यहीँबाट भाग्छन् । यस्तै अवसरमा मनपरेकी केटी तानेर आफ्नो बनाउने प्रचलन पनि यो समुदायमा थियो । कानुनी कडाइले यो चलन भने हटेको छ । 

भागी विवाहमा केटी भागेर आएको जानकारी केटा पक्षले सम्बन्धित परिवारलाई अनिवार्य पठाउनु पर्छ । सगुन (पोङ) सहित केटा पक्ष जानकारी लिएर केटीको माइती पुग्छ । पोङ बुझेर स्वीकृति दिएपछि पुनः परम्परागत विवाहको प्रक्रिया सुरु हुन्छ । माइती पक्षको स्वीकृत पाइञ्जेल दम्पतीका छोराछोरी भइसकेका हुन सक्छन् । त्यसैले तामाङ समुदायमा सन्तान भइसकेपछि पनि विवाह भएको देख्न सकिन्छ । यो भागी विवाहकै उपज हो । 

मामाचेला–फूपूचेला विवाह 

तामाङ समुदायमा मामाचेला–फपूचेलाबीचका सन्ततिको विवाहले मान्यता पाएको छ । मामाचेला–फूपूचेलाका सन्तान विवाहको पहिलो हकदार मानिन्थे । मामाको घरमा छोरी जन्मिए फूपूका परिवार भन्थे–आस्याङ, आङी (मामा–माइजू) को छोरी ल्याउने हो । यो संस्कारमा मामाका छोराछोरी र फूपूका छोराछोरीबीच विवाह चल्छ । मामाफूपूका परिवारमा छोराछोरी जन्मिए सानैमा पोङ (रक्सी सगुन) खुवाएर विवाहका लागि पक्का गर्ने चलन थियो । तर पछिल्लो समय यस्तो विवाह घट्दो छ । ‘चेलीले दाइजोमा माइतीबाट ल्याएको सम्पत्ति आफ्नैबाट मात्र संरक्षण हुने भएकाले यो विवाह चलाइएको पाइन्छ,’ चौतारा साँगाचोकका मेयर अमान सुनाउँछन् । 

रक्सीको प्रधानता र खर्चिलो

तामाङ समुदायमा विवाह निकै खर्चिलो मानिन्छ । जतिसुकै मितव्ययी हुन खोज्दा पनि विवाह खर्चिलो हुने तामाङ अगुवा बताउँछन् । सगुन, पोङको रुपमा विवाहमा यो समुदायमा रक्सी सबैभन्दा बढी खपत हुन्छ । सोधनी पोङ, कुखुराको जिउँदो भाले, रक्सी, रोटी, पैसासहितका बाह्र सगुन, चार दाम, ठिटौली पोङ, ढोका उघार्ने पोङलगायत अनगिन्ती सगुन खुवाउने परम्परा यो समुदायमा छ । योबाहेक भोजभतेरमा पनि रक्सी नै बढी प्रयोग हुन्छ । चिउरा, दाल, भात, रोटी, राँगा, कुखुरा, अण्डा, भैँैसी, खसी, बोकाका परिकारसहितका भोजभतेर उस्तै खर्चिलो छ । दाइजोमा दिइने तामा, पित्तलका खड्कौला, झ्याँगा, डबका, दालले माइती पक्षको ढाड नै सेक्छ । 

छोटिँदो विधि, बदलिँदो स्वरुप

समयक्रम र यसले भिœयाएको आधुनिकतासँगै तामाङ समुदायको परम्परागत विवाहको स्वरुप फेरिँदो र बदलिँदो छ । यसले कतिपय सन्दर्भमा फाइदा दिए पनि मौलिक परम्पराको सौन्दर्य बिग्रँदै गएकोमा तामाङ अगुवा चिन्तित छन् । विवाहका विधि र प्रक्रिया छोटिँदा छन् । देखासिकी प्रवृत्ति भित्रँदो छ । 

‘विवाह संक्षिप्त बन्दै गएको छ,’ कांग्रेस नेता बिलबहादुर तामाङ भन्छन्, ‘अन्य जाति र समुदायमा झैँ कुनै केटी मन परे सिधै प्रस्ताव राखेर विवाह गर्ने प्रचलन बढ्दो छ ।’ यसले समय, धनको बचत गरे पनि संस्कार क्रमशः हराउँदै जान थालेकोमा उनी चिन्ता दर्शाउँछन् । तामाङ अगुवाहरुका अनुसार दुलाहाले सेतो फेटा बाँध्ने चलन घट्दै गएको छ भने प्रमुख बाजा डम्फुको डमडम विवाहमा सुनिन छोडेको छ । पञ्चेबाजा हुँदै ब्यान्ड बाजाले आकर्षण थप्दा डम्फु ओझेलमा परेको छ । 

तर विवाहमा रक्सी संस्कार घट्दै जानुलाई भने तामाङ समुदायले सकारात्मक लिएको छ । विधि पूरा गर्न मात्र रक्सी प्रचलनमा ल्याइरहे पनि पिउने र त्यसको मातमा झैझगडा गर्ने प्रवृत्ति भारी घटेको छ । ‘यो शिक्षा र चेतनाले ल्याएको परिवर्तन हो,’ शिक्षक ज्ञानबहादुर सुनाउँछन् । उनका अनुसार भोजभतेरको मौलिक संस्कार पनि घट्दै गएको छ । ‘क्याटरिङ बोलाउने चलन भित्रिएको छ । सक्नेले पार्टी प्यालेसमै विवाह गर्न थाले,’ उनी थप्छन्, ‘बारीका पाटोमा लस्करै बसेर भोज खाने चलन लगभग हराएको छ ।’

प्रकाशित: २७ मंसिर २०७५ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App