अन्य

पाथीभरामा प्रकृतिप्रेमी समूह

सुनौलो मुहार। नीला अनि तेजिला आँखा। रातो पहिरनमा सजिएकी। दुबै हातमा खड्ग, त्रिशुल, विणा र अन्य हतियार बोकेकी। सिंहमा चढेकी पाथीभरा। नजिकै राताम्मे प्राचीन शिला। साथमा अन्य देवदेवीका मूर्ति।

टाढैबाट देखिने ठूलो मूर्ति नयाँ हो। नजिकैको शिला चाहिँ प्राचीन। खुल्ला आकाशमुनि चौरमा छिन् पाथीभरा माता। शान्त वातावरण अनि कुम्भकर्ण र कञ्चनजंघा हिमालको छहारीमा बसेकी छन् पाथीभरा (३,७९४ मिटर)।

ताप्लेजुङको शिरमा पुग्नु भन्दा पहिला ललितपुरको नल्लुमा रहेको पाथीभरामा पुगेकी थिएँ केही वर्ष पहिले। नल्लुमा ५ फिटको मूर्ति कालो रंगको छ ताप्लेजुङको भने  सुनौलो रहेछ ! अनुहारमा एक प्रकारको तेज झल्केको। करुणा, प्रेम र क्रोध मिसिएको, संसारलाई नराम्रो शक्तिबाट बचाउने देवीको सामुन्नेमा पुग्दा नतमस्तक भएँ म।

प्रकृतिप्रेमी समूहको बहुदिने पदयात्रामा हामी पाथीभरा पुगेका हौं। बिहानैदेखि डम्म हुस्सु लागेको थियो। डाँडामा पुगेर सूर्योदय र हिमाल सँगै पाथीभरा दर्शन गर्ने हामी सबैको चाहना। तर, मौसमले साथ दिएन। ठूलो फेदी (३५०० मिटर)बाट उकालो लाग्दा सबैजना भन्दै थिए, ‘आज हिमाल खुल्ने लक्षण छैन।’ र पनि माथि पुग्दा हिमाल खुल्ला भन्ने आशा थियो। सूर्य उदाएसंगै पाथीभरा दर्शन गर्दा राम्रो हुने भनाई छ त्यसैले तीर्थालुहरू अँध्यारैमा उकालो चढ्दा रहेछन्। हामी पनि अध्यारोमै उकालो लाग्यौं। विस्तारै उज्यालो झुल्कियो तर सूर्यदेवको अनुहार देख्न पाएनौं।

‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको नीलो क्याप लगाएको हाम्रो ४६ जनाको समूह पूर्वका कन्याम, फिक्कल, इलामबजार, श्रीअन्तु, माइपोखरी, फिदिम, गुम्बाडाँडा हुँदै ताप्लेजुङको पाथीभरा पुगेको थियो।

डाँडामा पुग्दा न हामीले हिमाल देख्यौं न सूर्य नारायण। एकछिनमा झुलुक्क सूर्य झुल्किए र छिनभरमै बादलको घुम्टो भित्र लुके। पाथीभरालाई पनि बादलले ढाक्यो।

मन्दिर हातामा बौद्ध मन्त्र लेखिएका झण्डा, चिसो हावा र हुस्सु थियो। बाटोको दुबैतिर दोहोरीलत्त घन्टैघन्ट झुण्ड्याइएका। ति घन्ट बजाउँदै मुल मन्दिरमा पुगिन्छ तर चिसो र शित जमेकाले हामीले घन्ट छुन सकेनौं।   

मन्दिरको सबैभन्दा अगाडि गणेशको मूर्ति छ। गणेशको बायाँतिर महादेव र उनका बहान नन्दी र नाग छन्। सिधा रुखमुनि भैरब लगायत देवदेवी। मन्दिरको मुख्य प्रवेशद्वारमा दुइटा पाथी र कलश राखिएको छ। अगाडि हवन कुण्ड छ।  भक्तजनले चढाएका त्रिशुल र घन्ट भुन्ड्याइएका छन् मन्दिर क्षेत्रमा।

डाँडामा ८ वटा धर्मशाला छन् । त्यहाँ बस्ने सुविधा छ तर खाने सुविधा छैन। डाँडामा हावा चल्ने भएकाले चिसोमा धेरैबेर बस्न सकिँदैन। डाँडासम्म पुग्न सजिलो छैन तैपनि मनोकांक्षा पुरा हुने विश्वासमा बर्सेनी लाखौं तीर्थालु पुग्छन्।

पाथीभरा शक्ति पिठ हुन्। यहाँको किंवदन्ती अनुसार–उहिले यहाँ देवीको पूजा गर्ने चलन थिएन। तलबाट भेडाबाख्रा लिएर कुम्भकर्ण हिमालतिर जाने चलन थियो। त्यहीक्रममा गोठालाहरूले भेडालाई गोठमा राखेर सुते। बिहान हेर्दा भेडा भेटिएनन्।

उनीहरूले ५ दिनसम्म खोजे तर भेटेनन्। अनि सबै मिलेर धुप बालेर प्रार्थना गरे–हाम्रा भेडाहरु भेट्टियोस ! उनीहरूले पूजा गरेर सुतेपछि सपनामा ५ बालिका आएछन्। तिनले ‘तल गुफामा देवीले तपस्या गरेको ठाउँ छ पूजा गर्नु पर्छ’ भनेछन्।

गोठालाहरुले तल गएर पूजा गरेछन्। बल्ल उनीहरूले भेडा फेला पारेछन्। त्यही बेलादेखि देवीको पूजा गर्ने चलन बस्यो। अहिले देवीको ठूलो मूर्ति रहेको ठाउँ भन्दा तल गुफा छ। गुफासम्म जान अफ्ठेरो भएकाले डाँडामा देवीको शिला राखेर पूजा गर्न थालियो। ‘त्यो प्राचीन गुफामा अरुलाई जाने अनुमति छैन’, पाथीभराका पूजारी डिल्ली आचार्यले भने।

झलक्क हेर्दा डाँडा अन्नले भरिएको पाथी जस्तो देखिने भएकाले पाथीभरा भनिएको। डाँडाबाट हिमशृंखलाको सुन्दर दृष्य देखिन्छ भने तलतल बादलको तलाउ।

पाथीभरा दर्शनले हातखुट्टा नचल्नेका चल्छन्, दृष्टिविहीनका आँखामा ज्योति भरिन्छ। निःसन्तानलाई सन्तान लाभ, गरिब धनी, शत्रु निर्बल हुने, पढाइमा सफलता मिल्ने जनविश्वास छ।  

मन्दिरमा पहिलेपहिले पूजारी बस्दैनथे। ०५७ सालदेखि पूजारीहरू डाँडैमा बस्न थालेका हुन्। अन्यत्र जस्तो यहाँ चढाइएको भेटीमा पूजारीको हक लाग्दैन। मन्दिर समितिको खातामा भेटी जम्मा गरिन्छ। त्यसबाट विकासका काम हुन्छ। पूजारीले चाहिँ तलब पाउँछन्।   

फागुनदेखि कात्तिकसम्म पाथीभरा दर्शन राम्रो हुन्छ। असोज–कात्तिकमा हिमाल खुल्छन्। पुस–माघमा धेरै चिसो हुन्छ। डाडा भरि हिउँ पर्छ।

माथिल्लो (ठूलो) फेदीमा पर्यटकीय सुविधाका थुप्रै्र होटल छन्। त्यहाँ रात बसेर बिहानै उकालो लाग्नु राम्रो हुन्छ। फेदी नजिकै कान्छीथान छ। दर्शनार्थीहरू कान्छीथानदेखि सेतो धागो टाँग्दै मन्दिरसम्म पु-याउँछन्। यस्तो गर्दा आयु लामो हुने मान्यता छ।

बर्सेनी लाखौं आन्तरिक पर्यटक पाथीभरा पुग्छन्। केही भारतीय र भुटानी समेत आउने गरेको पूजारी आचार्य बताउँछन्। इतिहास केलाउने हो भने बेलायती वनस्पतिविज्ञ जेडी हुकर पहिलो पर्यटकका रूपमा सन् १८४८ मा ताप्लेजुङ पुगेको भेटिन्छ।

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर दुरीमा पर्छ पाथीभरा। बजारबाट ७ किमि माथि सुकेटारसम्म सडक पक्कि छ। काफ्लेपाटीसम्मै मोटर बाटो खुलिसकेकाले अचेल अधिकांश तीर्थालु त्यहाँसम्म जीपमा जान्छन्। काफ्लेपाटीको बाटो कच्ची भएकाले जिपमात्र चल्छन्।

फुङलिङ र सुकेटारमा राम्रा होटल छन्। अन्यत्र सामान्य होटल। फुङ्लिङबाट करिब ४ किमि माथि सडक छेवैमा गुम्बाडाँडा होमस्टे छ। गुरूङ समुदायको होमस्टेमा राम्रो सत्कार, सस्तोमा खाना र बास सुविधा पाइन्छ।

हामी भने सुकेटारबाटै हिँड्यौं। सुकेटारबाट देउराली, छाते ढुंगा, भालुगौंडे हुँदै काफ्लेपाटी पुगिन्छ। सुकेटार–देउराली २ किमि, देउराली छातेढुंगा–४ किमि, छातेढुंगा–काफ्लेपाटी ३ किमि छ।  

जंगल बीचको कच्ची तेर्सो उकालो। काफ्लेपाटी पुगेर खाना खायौं। खानापछि ठाडै उकालो। जंगल बीचमा ढुँगा ओच्छाइएको सफा बाटो छेउछाउमा खाजा पसल। काफ्लेपाटीदेखिनै पूजा समाग्री र कोशेली किन्ने पसल छन्। काफ्लेपाटी–ठूलो फेदी जम्मा ३ किमि तर ठाडै उकालो छ।

करिब ३ घण्टा उकालो चढेपछि पुगियो ठूलो फेदी। हामी त्यहीँ बस्यौं। त्यहाँ थुप्रै होटल छन्, साथमा स्वास्थ्य चौकी पनि । तीर्थालुले स्वास्थ्य चौकीको हट रबर ब्याग प्रयोग गर्न पाउँछन्। चौकीले एक रात प्रयोग गरेको सय रुपैयाँ लिन्छ।  

हाम्रो समूह ठूलो भएकाले दार्जिलिङ र सिक्किम होटलमा बाँडिएर बस्यौं। हामी पुग्नेवित्तिकै होटलका दाइले तातो पानी र मह खुवाए। सखारै हिँड्नु पर्ने भएकाले खाना खाएर चाँडै सुत्यौं।

हामी ९ जना महिला एउटै कोठामा सुत्यौं। राती शीत परेको आवाज जस्तामा पर्दा ठूलै पानी प-यो कि भन्ने लाग्यो। बिहान ३ बजे देखि नै साथीहरु उठेर तयार हुन थाले। हामी ६ नबज्दै टर्च लाइटको उज्यालोमा उकालो चढ्न सुरू ग-यौं।  

ठूलो फेदीबाट २.५ किमि ठाडो उकालो छ पाथीभरासम्म। अलिक उकालो चढेपछि दायाँ बायाँ दुइटा सिंह पाले बसेका, माताको सुरक्षाका लागि होला ! बाटोभरि सेता धागो चढाइएको। कान्छी पाथीभरादेखि यसरी धागो तान्दै माथिसम्म पु-याउने चलन रहेछ।

हिँड्दै गर्दा कानमा एउटा वाक्य गुञ्जियो– ‘म त सपनामा पनि छ्याक्क !  छ्याक्क ! गरेको देख्छु।’ त्यो आवाज आएतिर हेरें, गहुँगोरो अनुहार, बाक्लो ज्याकेट लगाएका अग्ला व्यक्ति ‘बली गुरू।’  

पाथीभरामा उनले ५ लाख भन्दा बढीको बली दिइसकेका रहेछन्। सुन्दै आङ सिरिङ ! तीर्थालुले चढाउन ल्याएका जनाबर काटमार गरेबापत केही नगद पाउँछन् उनी। मन्दिरको पछाडी भागमा बली दिइन्छ। पूजारी भन्छन्, ‘देवीले बली लिँदिनन्, उनका बहान सिंहका लागि बली चढाइन्छ।’  

पाथीभरामा यत्रतत्र पैसा छरिएको थियो तर कसैले टिप्दो रहेनछ। यहाँ चढाइएको पैसा र बहुमुल्य चिज चोरेमा अनिष्ट हुने जनविश्वास रहेछ।  

घोडेटा छेउछाउमा छन् शौचालय तर साह्रै फोहर। पाथीभरामा दिनहुँ पर्यटक आउँछन्। फोहर देख्दा सबैलाई नराम्रो लाग्छ। त्यसैले पाथीभरामा चढाइएको भेटी लिने समितिले पहिला यस ठाउँको सफाई र विकासमा ध्यान पु¥याउनु पर्छ। पर्यटकले फोहर मन पराउँदैनन्। स्वच्छ वातावरणमा मात्र  सबै रमाउँछन्।  

पाथीभरा क्षेत्रमा शौचालय, सफाई र तातोपानीको राम्रो व्यवस्था जरुरी देखिन्छ।  भेटी रकम सदुपयोग गरेमा यो समस्या समाधान हुन्छ।

हामीले बाटोमा भरिया लगाएर दर्शन गर्न आउनेहरू पनि भेट्यौं। बालबालिका पनि भेट्यौ।  ठाडो उकालो र उचाई चढ्नु पर्ने भएकाले स्वास्थ्य अवस्था हेरि कसैलाई गाह्रो हुने र लेक लाग्न सक्छ। बिस्तारै स्वास नफुल्ने गरी हिँड्नु पर्छ। ठाउँ ठाउँमा आराम गर्दै तातो पानी पिउँदै हिँड्ने।

उचाई चढ्दा सामान्यतः टाउको दुख्छ। धेरै टाउको र घुच्चुक दुखेमा, रिंगटा लागेमा, बान्ता भएमा तल झरिहाल्नु पर्छ। यस्तो ठाउँमा बालबालिकालाई हिडाउँदा धेरै ध्यान दिनु पर्छ। १० बर्ष भन्दा कम उमेरकालाई धेरै उचाइमा नलैजानु बेस हुन्छ। लगिहाले पनि साबधानी अपनाउनु पर्छ।   

पाथीभरा घुमेर ओरालो झरेर काफ्लेपाटी (२८०० मिटर)मा खाना खायौं हामीले। अनि सुकेटार (२४००मिटर) सम्म हिँड्यौं। सुकेटारबाट बस चढेर गुम्बाडाँडामा पुग्यौं। गुम्बाडाँडामै रात विताउने हाम्रो पूर्व योजना तर पर्सिपल्ट विराटनगरमा बिहानै कार्यक्रम गर्नु पर्ने भएकाले बसेनौं। गुम्बाडाँडा सामुदायिक होमस्टे व्यवस्थापन समितिलाई प्रोत्साहन स्वरुप दश हजार रुपैयाँ सहयोग गरेर फिदिम ओर्लियौं।   

आफ्नो स्वास्थ्य आफ्नै हातमा नलिएसम्म कोही निरोगी हुन सक्दैन। हरेक व्यक्ति आफ्नो डाक्टर आफैं बन्नु पर्छ। यसका लागि प्रकृतिमा सरल नियम छ। यहि सरल नियम सबैतिर फैलाउने, सुगमका मानिस दुर्गममा जाने र स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु-याउन हाम्रो समूहले हरेक वर्ष दसैं र तिहारको छेकोमा बहुदिने पदयात्रा गराउँदै आएको छ। यो बर्ष हामी पूर्वी नेपाल यात्रामा निस्केका थियौं। हाम्रो दश दिने यात्रा इलाम, पाँचथर र ताप्लेजङु हुँदै पाथीभरा पुगेको हो।

हामी हरेक महिनाको चौंथो शनिबार पनि काठमाडौं सेरोफेरोमा स्वास्थ्य ज्ञान बाँड्दै हाइकिङ गर्छौं।

पूर्व यात्राको पहिलो दिन धुलिखेल, सिन्धुली, बर्दिबास, इटहरी हुँदै विर्तामोड पुग्दा बेलुकीको ९ बजिसकेको थियो। यात्रामा हामीले छठ मनाएका दृरुश्य देख्यौं। छठ परेको हुनाले नदी किनारमा छठी माइको पूजा गर्नेहरुको हुल देखियो। साँझ पर्दै जाँदा तराईको झिलिमिलि बढ्दै गयो।

काठमाडौंको तिहारमा जस्तै तराईमा छठमा झिलिमिली हुँदो रहेछ। विर्तामोडमा  हामीलाई बास बस्न विराटनगरका विष्णुप्रसाद पोखरेल र हरिबाबु दाहालले अग्रसेन भवनमा व्यवस्था मिलाएका थिए।

बिहानै त्यो अग्रसेन भवनमा सामूहिक फोटो खिचेर हामी गाडीबाट इलामतिर लाग्यौं। २ घण्टा गाडि यात्रा पछि पुग्यौं कन्याम चिया बगान। अहा, आँखाले भ्याएसम्म हरियाली ! चियाका मुना टिपेर डोकोमा राखिरहेका महिलाहरू।  
पोस्टर र फोटामा मात्र देखेकी थिएँ इलाम तर चियाका मुना समातेर तस्बिर खिच्न पाउँदा, चियाबारीमा डुल्न पाउँदा औधि रमाएँ।  

कन्याममा घोडा चढेर घुम्ने सुविधा पनि छ। हाम्रा केही साथी घोडा चढे। त्यहाँको बजारमा इलामेली छुर्पी, बम्बैसन, ललिपप र अकबरे खुर्सानी देख्यौं।

एक घन्टा कन्याममा रमाएपछि फिक्कल बजार नजिकै छिपिटारमा खाना खायौं। फिक्कलबाट इलामबजार र पशुपतिनगर हुँदै दार्जिलिङ जाने बाटो छुट्टिन्छ। हामी चाहिँ खानापछि सिद्धखोलासम्म गाडीमा गयौं।  सिद्ध खोलाबाट हामीले पदयात्रा ग¥यौं करिब ९ किमि। अन्तु डाँडाको होमस्टेमा पुग्नु अघि अन्तु पोखरीमा डुँगा पनि चढ्यौं।

अन्तुडाँडा (२,१०० मिटर) पुग्दा अपरान्ह ३ बजिसकेको थियो। अन्तुका चार दर्जन घरमा होमस्टे सुविधा छ। हामीलाई होमस्टेकी दिदीले टीका र खादा लगाइदिइन् । हामी तीन वटा घरमा बाँडिएर बस्यौं।

त्यहाँको मुख्य आकर्षण सूर्योदय। डाँडाको भ्यू टावरबाट सूर्यको स्वागत गर्न अँध्यारैमा भिड लाग्दो रहेछ। हामी पनि बेलैमा पुग्यौं, व्यग्र प्रतिक्षा ग¥यौं। तर, कुहिरोको साम्राज्यले सूर्यदेवको दर्शन गर्न पाएनौं।

चिसो भएकाले केही बेर योग र व्ययाम गरी जीउ तताएर झ-यौं। होमस्टेमा खाजा खाएर माइ पोखरी यात्रामा निस्कियौं। बिदाईको क्षणमा घरबेटी आमाले हामीलाई टीका र फूलका गुच्छा दिइन्।

त्यो दिनको हाम्रो गन्तव्य थियो माइपोखरी। हामी इलाम बजारमा खाना खाएर माइपोखरी लाग्यौं। पोखरी आउनु भन्दा तलैबाट हिँडेर त्यहाँ पुग्यौं। पोखरी नजिकैका होटलमा बाँडिएर बस्यौं। हामीले त्यही साँझ पोखरीको फन्को मा-यौं।

भोलीपल्ट हामी फिदिमतिर लाग्यौं। हामीलाई पाँचथरको पौवा भञ्ज्याङमा पत्रकार गिरिराज बाँस्कोटा, पूर्व सभासद अइन्द्र सुन्दर नेम्वाङ र फाल्गुनन्द गाउँपालिकाका वडाध्यक्ष बहादुरसिंह नेम्वाङ कुरी बसेका थिए।

उनीहरुले हामीलाई साधुटार (२५०० मिटर) घुमाए। नीलो पोखरीमा कुम्भकर्णसहित कन्चनजंघा हिमालको छायाँ देखिन्छ। साधुटारबाट फर्केर भञ्ज्याङमा खाना खाइवरी हामी किरात महागुरू फाल्गुनन्दको समाधीस्थल सिलौटी र उनको कर्मभूमी लब्रेकुटीतिर लाग्यौं।

लब्रेकुटीमा समाजसुधारक फाल्गुनन्दको सालिक छ। लब्रेकुटीमा हामीले व्यवस्थापन समितिका अध्यक्ष ध्रुब तुम्बापोलाई समूहका तर्फबाट १० हजार रुपैयाँ सहयोग ग-यौं।

त्यो रात हामी पाँचथर सदरमुकाम फिदिममा बस्यौं। हामीले यात्रामा साकाहारी खाना खायौं। मासु र मदिरा रहित यात्रा देखेर कतिपय चकित परेका थिए। हामी स्वास्थ्यका लागि राम्रो हुने सागसब्जी र फलफूल खान प्रोत्साहित गर्छौं सबैलाई।

यसरी फिदिम पछि गुम्बाडाँडा होमस्टे र ठूलो फेदीमा एक एक रात बसेर अर्को दिन मात्र हामी पाथीभरा पुगेका थियौं। साथीहरू फर्कनेक्रममा ठूलो फेदीदेखि नै कोसेली किन्न थालिसकेका थिए। छुर्पी, चौंरीको घ्यू, राडी, अकबरे खुर्सानी आदि। मैले पनि किनें छोरी र परिवारका लागि।
...
हाम्रो पाथीभरा यात्रा अबिश्मरणीय बन्यो। संसारलाई दानवीय शक्तिबाट बचाउने देवीको मन्दिरमा पुग्दा मनमा शान्ति छायो। हरेक नारीमा त्यो शक्ति हुन्छ र हामी पनि त्यत्तिकै शक्तिशाली, सबल, आफ्नो रक्षा आफैं गर्न सक्ने निडर र सहयोगी बन्नु पर्छ। यसपाली पाथीभरा पुग्दा हिमाल खुलेनन्, धुम्म मौसममा धेरैबेर बस्न पनि सकिएन। अब फेरी कहिले त्यहाँ पुग्ने साइत जुर्ला !

प्रकाशित: २२ मंसिर २०७५ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App