वेद
वैदिक कालखण्डमा जनताको स्थान सबभन्दा माथि थियो । त्यो बेला जनताको प्रतिनिधित्व गर्ने संस्था बनाइएको थियो । यो संस्थालाई समिति भनिन्थ्यो । यस्तो समितिमा जनताहरूमध्येबाट कुनै योग्य, वृद्ध, न्यायप्रिय र शासन व्यवस्थाको अनुभवी व्यक्ति चयन वा चुनाव गरिन्थ्यो । समितिमा चुनिएर गएका सदस्यले कुनै निश्चित स्थानमा एकत्रित भई एकमतबाट राष्ट्रमा आइलागेका समस्या समाधान गर्थे । यो संस्था एकपक्षीय नभई राष्ट्रिय चरित्रको हुन्थ्यो । तसर्थ समिति राष्ट्रका सम्पूर्ण प्रकृतिका समस्या सुल्झाउन सक्षम हुन्थ्यो । समितिले जनताको हितलाई ध्यानमा राखी निर्णय गथ्र्यो, मनपरी गर्दैनथ्यो । (डा. स्वामी प्रपन्नाचार्य, वेदमा के छ ? साझा प्रकाशन, २०५७ पृ. ३९)
समितिमा सबै सदस्यहरूलाई आ–आफ्नो विचार व्यक्त गर्ने पूर्ण अधिकार हुन्थ्यो । वक्ताहरूले युक्तिद्वारा मतको मण्डन र स्थापन गर्थे । युक्तिपूर्ण प्रस्तावहरूमा सल्लाह दिइन्थ्यो । बहुमत जुन पक्षमा हुन्थ्यो, त्यहीबमोजिम निर्णय गरिन्थ्यो । वैदिक कालमा जनतामा ठूलो संगठन थियो । आर्यहरू समाजमा भएका सुयोग्य व्यक्तिहरू मात्र चयन गर्थे । राज्यलाई संगठित राख्न र समितिलाई कर्म गर्न हृदय र मनबाटै सुसंगठित राख्ने कामना गर्दै एकाकार विचार व्यक्त गरिएको कुरा ऋग्वेदबाट पुष्टि हुन्छ । (वेदमा के छ ? पृ. ३९)
ऋग्वेदको अन्तिम ऋचालाई प्रशासनिक सन्दर्भमा हेर्दा यसले हृदय, मन र कर्म राष्ट्र र जनताप्रति समभावसहित समर्पित हुनुपर्ने देखाउँछ । स्वामी प्रपन्नाचार्यले शासन प्रणालीबारे उध्दृत गरेका प्रसंगले वैदिक शासन प्रणाली जनताबाट उठेको, जनताबाट अनुमोदित र जनताप्रति उत्तरदायी हुनुपर्ने देखिन्छ । साथै निर्णय गर्न योग्य र अनुभवी व्यक्तिको चयन हुनुपर्ने, एकलभन्दा सामूहिक निर्णय श्रेयष्कर हुने देखाउँछ । यस्तै, यसले निर्णय पूर्व समस्याबारे बृहत छलफल गर्नुपर्ने, छलफलमा सबैलाई आफ्नो विचार व्यक्त गर्ने र अर्को मतको खण्डन गर्न पाउने अधिकार हुनुपर्ने भन्ने कुराको पुष्टि हुन्छ । निर्णय सकभर सर्वसम्मत र नभए बहुमतबाट गर्नुपर्ने भावना अन्तर्निहित रहेको देखिन्छ । यसो हेर्दा यी कुरा राजनीतिक प्रकृतिका भए पनि यो प्रसंगले शासनको स्वरूप र प्रकृतिको चरित्र चित्रण अवश्य गर्छ । ऋग्वेदको दशौँ मण्डलको सुक्त संख्या १०८ लाई विश्वको एउटा अद्भूत कुटनीतिक वार्ताको समाजशास्त्रीय अभिलेख भन्नुपर्छ, यसमा उत्तरबाट आएका पणि (व्यापारी)हरूले एकै सासले युद्ध र मित्रताको कुरा गर्छन्, ऋग्वेदको यो सूत्रलाई प्राचीन कूटनीतिको प्रथम अभिलेख मान्नैपर्छ । त्यस सुक्तमा पणिहरूले धम्कीपूर्ण कूटनीतिलाई फेरेर प्रलोभनमा पार्ने प्रयास गरेको पनि देखिन्छ । (मदनमणि दीक्षित, त्यो युग, २०६६, पृष्ठ ४०–४४)
प्रशासन विकेन्द्रीकृत हुनुपर्ने, जनताका समस्याको समाधान स्थानीय स्तरमा हुनुपर्ने, प्रशासनमा पदसोपान हुनुपर्ने, मातहतले गरेको निर्णयमा चित्त नबुझे माथिल्लो तहमा पुनरावेदन दिन पाउने जस्ता कुरा यी श्लोकको आशय देखिन्छ । यी आजको प्रशासनका लागि अनुकरणीय हुन सक्छन् ।
सो सुक्तमा पणिहरूको समाज व्यापारीहरूको समाज भए पनि उनीहरूले आफ्नो सुरक्षाको लागि आफैले किल्लाबन्दी गरेको देखिन्छ । त्यस्ता किल्लाको रक्षामा युवकहरूलाई निरन्तर तैनाथ गरेको भन्ने पनि देखिन्छ । (मदनमणि दीक्षित त्यो युग ऐ ऐ ४४)
यसप्रकार वैदिक जीवनमा आत्मनियन्त्रण र कर्तव्य भावको प्रधानता थियो आफै ‘ऋत’को पालनमा उद्दत रहने, आत्मानुशासन पालन गर्ने र कर्तव्यबोधबाट चल्ने समाज भएकाले त्यसबेला शासकीय प्रशासनिक जटिलता नभएको अनुमान गर्न सकिन्छ । ती जटिलता भए सम्भवतः अगाडि उल्लेख भएको समितिले निर्णय गथ्र्याे । सामूहिक जीवन, सदाचारयुक्त जीवन पद्दति र कर्तव्यमुखी जीवनबोधले समाजमा प्रशासनले शक्ति प्रदर्शन गर्न नपर्ने अवस्था रहेको अनुमान गर्न सकिन्छ।
ऋग्वेदका विभिन्न ऋचामा रक्षा, नियम निर्माण, नियमको पालना, अपराध र अपराध नियन्त्रण, कर्तव्य निर्वहन, दण्ड, पारिवारिक र सामाजिक सम्बन्ध व्यवस्थापन, सिँचाइ, जल व्यवस्थापन, स्वास्थ्य र औषधि, आर्जनका सीमा, व्यापार व्यवस्थापन, गलत कारोवार नियन्त्रण, कृषि तथा पशुपालन, कर, शान्ति, न्याय, स्वतन्त्रता, ज्ञानबाट समानताको सिर्जना जस्ता विषयवस्तुको ठाउँमा चर्चा रहेको देखिन्छ । (तिलकप्रसाद लुइँटेल अनुवादक ऋग्वेद विद्यार्थी पुस्तक भण्डार २०६३)
यस्तै, यजुर्वेदमा स्वास्थ्य, रोग लाग्ने कारण र उपचार अपराध र अपराध नियन्त्रण, सेना र रक्षा, वन, जल, सिँचाइ कृषि, नेतृत्व र सद्मार्ग, न्याय, शान्ति अहिंसा, कर्तव्य, अरुको अधिकारको सम्मान, भयबाट संरक्षण, व्यापार, लगानी, कर जस्ता विषयको ठाउँ–ठाउँमा चर्चा छ । (तिलकप्रसाद लुइँटेल, यजुर्वेद ऐ ऐ)
आजको प्रशासनले गर्ने ती कामबारे वेदमा प्रार्थनाको रूपमा उल्लेख भएको र ती विषय जीवन पद्दतिको अंगको रूपमा रहेको भन्ने देखिन्छ।
सामवेदको पन्ध्रौं अध्यायको तृतीय खण्डको पहिलो मन्त्रमा अग्निका चार गुणको चर्चा छ– ती हुन्, अगुवा मार्गदर्शक, तत्काल क्रियाशील, द्रुत गतिमान, सदैव नविनता । यी चार गुणलाई प्रशासकका गुण मान्ने हो भने असल र आदर्श प्रशासन सम्भव छ।
सामवेदमा रक्षा, अभय, संरक्षण र पालन, अपराध र अपराध नियन्त्रण, कर्तव्य, दण्ड, पारिवारिक सम्बन्ध र व्यवस्था, न्याय, नेतृत्वका गुण (अगुवा, मार्गदर्शक, तत्काल क्रियाशील र द्रुतगति), ऋतु सुहाउँदो काम गर्नुपर्ने जस्ता विषयमा ठाउँ–ठाउँमा उल्लेख छ । (तिलकप्रसाद लुइँटेल, सामवेद ऐ ऐ)
अथर्ववेदमा मूलतः आरोग्य, औषधि, उपचार विधि, औषधीय महत्ता, औषधि उत्पादन, व्यापार, वाणिज्य, खनिज अपराध र अपराध नियन्त्रण, अहिंसा र शान्ति, विद्या र विद्या दानको महत्व, पारिवारिक व्यवस्था र सम्बन्ध, सभा र सभासद् जस्ता विषयवस्तुको उल्लेख भएको देखिन्छ । (तिलकप्रसाद लुइँटेल, अथर्ववेद्)
शरीरको हाउभाउ लगाउनुपर्ने काममा सुतलाई, धर्मका काममा सभासद्लाई, नेतृत्व गर्नुपर्ने काममा पर्याप्त समर्थवानलाई, नम्रता पूर्वक गर्नुपर्ने कामका लागि मृदुभाषीलाई, विनोदका निमित्त स्वाङ पार्नेहरूलाई नियुक्त गर्नुपर्छ । यस्तै आनन्दका लागि स्त्रीको जस्तो सख्य भाव हुनेलाई, वुद्धिमत्तापूर्ण कार्यका निम्ति शिल्पी जस्तो क्षमता हुनेलाई र धैर्यपूर्वक गर्नुपर्ने कामका लागि कडाइ बुनाइ (धागो कात्ने लुगा बुन्ने) गर्ने क्षमता राख्नेलाई नियुक्त गर्नु पर्छ।
शत्रु नाश गर्न हतियार चलाउन जान्ने, रोगमुक्त गर्न औषधि विशेषज्ञ, समग्र शिक्षा प्राप्त गर्न प्रश्न सोध्न जान्ने, शिक्षाको अभ्यासको लागि जिज्ञासु, न्याय व्यवस्थाको लागि पञ्च भलादमी नियुक्त गर्नुपर्छ । (यजुर्वेद ३०।१०)
शत्रुको सैन्य विनासका लागि गुप्त रणनीति बनाउन सक्ने, शत्रु वध गर्न चुक्ली गर्न सक्ने, भेद उत्पन्न गर्न विभाजन ल्याउन सक्ने, सुक्ष्मतापूर्वक निरीक्षण गर्न निगरानी गर्न जान्ने, स्वर्गीय वातावरणका लागि उचितरूपमा वितरण गर्न जान्ने र सुख प्राप्त गर्न सबै पक्षबाट प्रभावित गर्न सक्ने क्षमता भएको व्यक्तिलाई नियुक्त गर्नुपर्छ । आपद्बाट जोगिन संचय गर्न जान्ने र नीति नियम चलाउन निष्पक्षताको व्यवहार गर्न जान्नेलाई नियुक्त गर्नुपर्छ ।
यस्तै परिवत्सरका लागि ब्रह्मचारिणी कुमारीलाई, इदावत्सरका लागि अत्यधिक गतिशील रहने स्त्रीलाई, अनुवत्सरका लागि अतिसय ज्ञानले सम्पन्न स्त्रीलाई वत्सरका लागि अति वृद्ध स्त्रीलाई नियुक्त गर्नुपर्छ । (यजुर्वेद ३०।१५)
यो अध्यायमा अरु अनेक काममा कस्तो योग्यता भएको व्यक्तिलाई नियुक्त गर्ने भन्ने कुरा उल्लेख छन् । यजुर्वेदकै चालिसौं अध्यायको पहिलो मन्त्र पनि प्रशासनिक हिसाबले लाक्षणिकरूपमा निकै महत्वपूर्ण देखिन्छ । यस मन्त्र अनुसार सृष्टिमा भएका जड चेतन सबैमा ईश्वरको उपस्थिति छ, उसले दिएको कुराको उपभोग गरौँ, अर्काको अधिकारको हनन हुने गरी अधिक कुरो नखोजौं । (यजुर्वेद ४०।१)
यो मन्त्रमा रहेको सृष्टिको स्थानमा ‘मुलुक’ र ईश्वरका ठाउँमा ‘कानुन’ राखेर हेर्ने हो भने यो मन्त्रले यसो भन्छ– मुलुकमा कानुनले सबैलाई समान व्यवहार गर्नुपर्छ, कानुनले जड चेतन सबैलाई सम्बोधन गर्नुपर्छ, कानुनले जसलाई जे दिएको छ, उसले त्यही उपभोग गर्नुपर्छ, कानुनले दिएको कुरा उपभोग गर्न सबै उत्तिकै स्वतन्त्र छन्, आफ्नो स्वतन्त्रता उपभोग गर्दा अर्काको अधिकारको हनन गर्न हुँदैन।
यो मन्त्रले यसरी न्यायपूर्ण कानुन, समान व्यवहार, स्वतन्त्रताको प्रयोग र अरुको अधिकारको रक्षा गर्नुपर्ने बताएको मान्न सकिन्छ । आजको प्रशासन र न्याय प्रणालीले चाहेको आदर्श यिनै मूल्यको सेरोफेरोमा घुमेको देखिन्छ।
सामवेदको पन्ध्रौं अध्यायको पहिलो खण्डको दशौँ मन्त्रमा अग्निदेवसँग चार कुराको लागि प्रार्थना गरिएको छ– ती हुन् रक्षा, अभय, संरक्षण, पालन । (सामवेद् १५।१।१०)
यी चार कुरा जनताका आधारभूत अधिकार र प्रशासनका न्युनतम कर्तव्य हुन् मान्न सकिन्छ । आजको प्रशासनले गर्न खोजेका आदर्श कुरा पनि मूलतः यिनै हुन्।
सामवेदको पन्ध्रौं अध्यायको तृतीय खण्डको पहिलो मन्त्रमा अग्निका चार गुणको चर्चा छ– ती हुन्, अगुवा मार्गदर्शक, तत्काल क्रियाशील, द्रुत गतिमान, सदैव नविनता। (सामवेद् १५।३।१।)
यी चार गुणलाई प्रशासकका गुण मान्ने हो भने असल र आदर्श प्रशासन सम्भव छ । यी गुण हुने प्रशासकले कुशल नेतृत्व दिन सक्छ, मातहतकालाई पनि सिकाएर सुमार्गमा लैजान सक्छ, सेवाप्रति सदैव क्रियाशील बनाउँछ, कर्तव्यमुखी र जिम्मेवार बनाउँछ, काम पन्छाउने र मुख ताक्ने प्रवृति हुन दिँदैन, समयमै निर्णय गर्नुपर्ने क्षमता विकसित गर्न प्रेरित गर्छ, प्रतिक्रियात्मक र अह्राएको काम गर्नेबाट रचनात्मक सृजनशील र नवीनताको लागि काम गर्ने अपेक्षा राख्छ । यी गुण भएमा प्रशासकको मनोबल उच्च हुने, कामप्रति लगाव हुने, कामलाई धर्म सम्झने भाव हुने, निर्णय समय र गुणस्तरीय हुने, काम अनुसन्धानमा आधारित भएर गर्ने बानी बस्ने, शासकभन्दा सेवकको भावनाले काम गर्ने, सनकभन्दा विवेक र पद्दतिले काम गर्नेजस्ता अवस्था आउन सक्छन्।
मनुस्मृति
यसमा दण्डको उत्पति, महत्व, प्रकृतिस्वरूप उद्देश्य र मात्राको विषयमा व्यापकरूपमा चर्चा छ।
दण्ड राज्य प्रमुख, न्याय पद्दति र प्रशासन तीनै क्षेत्रको विषय हुँदा दण्ड प्रणालीलाई प्रशासनसँग अलग गरी हेर्न नसकिने उल्लेख गर्दै त्यसबारे छोटोरूपमा उल्लेख गरिएको छ।
मनुस्मृतिको सातौँ अध्यायको ६३ औंदेखि ६८ औं श्लोकमा कूटनीतिक प्रशासनसम्बन्धी व्यवस्था छ । यसमा राजदूतमा हुनुपर्ने योग्यता, राजदूतको अधिनमा हुने विषय, राजदूतको महŒव, कार्य प्रकृति र क्षमता जस्ता कूटनीतिक प्रशासनको विषयमा उल्लेख छ।
मनुस्मृतिको सातौँ अध्यायको ७० औंदेखि ७६ औंसम्मका श्लोकमा दुर्ग र किल्ला अर्थात् सुरक्षा र रक्षा प्रशासनसम्बन्धी चर्चा छ।
मनुस्मृतिको सातौँ अध्यायका १२७ देखि १३९ सम्मका श्लोकहरूमा कर प्रशासन र कर व्यवस्था सम्बन्धमा उल्लेख छ।
यस्तै मनुस्मृतिको सातौँ अध्यायको २२३ र २२४ औँ श्लोकमा गुप्तचरसम्बन्धी चर्चा छ, जसअनुसार राज्य प्रमुखले गुप्तचरबाट सूचना लिनेबारे उल्लेख छ।
प्रत्येक गाउँमा एक–एक जना ग्राम प्रमुख (अधिपति) नियुक्त गर्नुपर्ने मनुस्मृतिमा उल्लेख छ । त्यसपछि प्रत्येक दश, बीस, सय र एक हजार गाउँका लागि एक–एक अधिकारी राख्नुपर्छ। (७।११५)
गाउँका समस्या सकेसम्म गाउँको प्रमुखले नै समाधान गर्नुपर्छ । ग्राम प्रमुखले नसके सोभन्दा माथिल्लो दश ग्रामाधिपति र निजले पनि नसके बीस गाउँको ग्रामाधिपतिले समाधान गर्नुपर्छ। (७।११६)
बीस गाउँको ग्रामाधिपतिले नसके सय गाउँको र निजले पनि नसके एक हजार गाउको अधिपति गर्दै क्रमशः तल्लोबाट माथिल्लो तहमा निवेदन दिनुपर्छ । (७।११७)
प्रशासन विकेन्द्रीकृत हुनुपर्ने, जनताका समस्याको समाधान स्थानीय स्तरमा हुनुपर्ने, प्रशासनमा पदसोपान हुनुपर्ने, मातहतले गरेको निर्णयमा चित्त नबुझे माथिल्लो तहमा पुनरावेदन दिन पाउने जस्ता कुरा यी श्लोकको आशय देखिन्छ । यी आजको प्रशासनका लागि अनुकरणीय हुन सक्छन् । भ्रष्टाचारप्रति मनुस्मृति निकै कठोर देखिन्छ।
न्याय सम्पादन र न्याय प्रशासनका बारेमा मनुस्मृतिको अध्याय आठमा विस्तृतरूपमा उल्लेख गरिएको छ । यसमा न्यायासन र त्यसको संरचना, न्याय व्यवस्थापन, समाजमा विवाद वा मुद्दा पर्न सक्ने विषय र कारण, न्यायकर्मीका गुणदोष, भ्रष्टाचाररहित न्याय, साक्षी, झुटा साक्षी र साक्षी परीक्षण, सपथ, दण्ड व्यवस्था, नापतौल, भोग, देवानी र फौजदारी दायित्व, कसूर अनुसारको सजाय, माफी, क्षतिपूर्ति, कर आदि विषयमा चर्चा छ । यी व्यवस्था निकै व्यापक र विस्तृत छन्।
याज्ञवल्क्यस्मृति
याज्ञवल्क्यस्मृतिको आचार अध्यायको राजधर्म प्रकरणमा राजा, मन्त्री (मन्त्री शब्द नै प्रयोग भएको) र अन्य पदाधिकारीको योग्यताबारे विस्तृत चर्चा छ। (१।३०९–३१३)
राजाले राज्यका निम्ति राजस्व संकलन गर्न नियुक्त अधिकारीले ल्याएको धन र सुन राज्यकोषमा जम्मा गर्नुपर्छ । यो काम सकेपछि राजाले आफ्ना गुप्तचर र अरु राज्यबाट आएका दूत भए तिनीहरूसँग र आफ्ना मन्त्रीहरूसँग भेटघाट, छलफल र मन्त्रणा गर्नुपर्छ। (१।३२८)
अपरान्हमा मन्त्री र सेना प्रमुखसँग भेटघाट र छलफल गर्नुपर्छ। (१।३२९)
सन्धि–विग्रहको (कुटनीतिक सम्बन्धको) सन्दर्भमा राज्यको मूल मन्त्र मन्त्रणा (गोप्य परामर्श) हो । ‘ऋत’अरु राज्यसँगको सम्बन्ध बनाउने र बिगार्ने विषयका कुरा गोप्य राख्नुपर्छ । ती मन्त्रणाका कुरा त्यसको परिणाममा नपुगेसम्म अनावश्यक व्यक्तिबाट गोप्य राख्नुपर्छ। (१।३४४)
अर्थात् परराष्ट्र प्रशासनको मूल चूरो वार्ता हो र निष्कर्षमा नपुगेसम्म यसको सूचना असम्बन्धित व्यक्तिलाई दिनु हुँदैन।
आफूसँग सीमा जोडिएका राज्यले वैरभाव, त्यसपछिका राज्यले मित्रता र टाढाका राज्यले तटस्थता देखाउने हुन सक्छ । ती राज्यले के गरिरहेका छन् भन्नेबारे दैनिकरूपमा जानकारी राख्नुपर्छ र साम आदि उपाय अबलम्बन गर्दै रहनुपर्छ। (१।३४५)
सीमा जोडिएको मुलुकसँग बरोबर समस्या आइरहन सक्छ, सीमा नजोडिएका तर धेरै टाढा नभएका मुलुक मित्रता राख्न चाहन्छन् र धेरै टाढाका मुलुकको भने खासै सरोकार नदेखाउने व्यवहार हुन सक्छ । कूटनीति संचालन गर्दा यो प्रकृति र प्रवृत्तिमा ध्यान दिनुपर्छ । अनि अवस्था अनुसार साम, दान, भेद र दण्ड मध्येबाट उपयुक्त नीति अबलम्बन गर्नुपर्छ।
परराष्ट्र सम्बन्धी व्यवस्थित र अर्को पक्षको प्रकृति अनुसार व्यवहार गर्न साम (छलफल र वार्ता गर्ने), दाम (केही दिने प्रस्ताव गर्ने), भेद (अर्को पक्षका कमजोरी र गोप्यता भंग गरिदिने) र दण्ड (उचित सजाय दिएर नियन्त्रणमा लिने) गरी चार उपाय छन् । (१।३४६)
यस्तै वैरभाव राख्ने विदेशीसँग सन्धि (सम्बन्ध), विग्रह (सन्धि तोड्ने र वैरभाव नै देखाउने), मान (चढाई गर्ने), आसन (उपेक्षा गर्ने), संश्रय (अर्को शक्तिशालीको आड लिने) र द्वैधभाव (दोहोरो व्यवहार गर्ने वा सेनामा विभाजन भन्नेबारे भिन्न मत) जस्ता रणनीति अपनाउनुपर्छ । (१।३४७)
स्वामी (राजा र राज्य प्रमुख), अमात्य (मन्त्री), जन (जनता) दुर्ग ( किल्ला र सीमा सुरक्षा) कोश ( धनराशी र राजस्व), दण्ड (कसैले यसलाई हात्ती, घोडा, रथ र पैदल सेना पनि भनेका) र मित्र यी राज्यका सप्तांग हुन् । यी सप्तांगयुक्त राज्यले दुराचारी (ठग, दुष्ट, धूर्त, परस्त्रीगामी, परद्र्व्यहारी र हिंस्रक आदि) लाई दण्ड दिनुपर्छ । (१।३५३,३५४)
राजा वा निर्णयकर्ताले आफ्नो भाइ, छोरा, आचार्य, ससुरा, मामा वा कुनै पदमा आसिन व्यक्तिलाई सोही कारणले कानुनविपरित काम गरेकोमा अपराधको गम्भीरता अनुसार सजाय नगरी छोड्न हुँदैन । (१।३५८)
कानुनभन्दा माथि कोही पनि छैन र कानुनको समान प्रयोग हुनुपर्छ भन्ने यो प्रष्ट उदाहरण हो । आजकल कानुनको शासन भनिने अवधारणा यस स्मृतिमा उल्लेख भएको देखिन्छ।
समाजमा अपराध गर्ने व्यक्तिलाई अपराधको मात्रा अनुसार धिक्दण्ड (वचनले धिक्कार्ने), वाग्दण्ड (कठोर वचनले हप्काउने), धनदण्ड (जरिवाना) र वधदण्ड (कैद र शारीरिक सजाय) मध्ये कुनै वा सवै सजाय दिनुपर्छ । (१।३६७)
अपराधीलाई देश काल, बल, आयु, कर्म तथा धनको जानकारी प्राप्त गरी अर्थात् उसका यी पक्षमा विचार गरी दण्ड दिनुपर्छ । (१।३६८)
दण्ड न्यायिक विषय मात्र होइन, प्रशासनिक पनि हो, त्यसैले दण्ड दिन पाउने अधिकारीले यसका मान्यता पालन गर्नुपर्ने अर्थ गर्न सकिन्छ । अचेल अर्धन्यायिक अधिकारीले पनि दण्ड दिने अख्तियार राख्ने हुँदा ती अधिकारीले पनि दण्डका सिद्धान्तको पालन र प्रयोग गर्नुपर्ने हुन्छ।
नारदस्मृति
नारद्स्मृतिमा मूलतः न्याय सम्पादन र न्याय प्रशासनसम्बन्धी उल्लेख छ । यस स्मृतिमा न्यायिक संस्था, न्यायिक प्रक्रिया, विवाद हुने मुख्य (अठार) कारण, कानुनका विभिन्न शाखा, तर्क, विवेक र परम्पराको महत्व, सुनुवाइको अधिकार, स्वच्छ न्याय, न्यायाधीशको कर्तव्य र दायित्व, प्रमाण मूल्यांकन, झुठो बकपत्र गरेमा सजाय हुने, दावीका दोष, प्रमाणको भार, निर्णय र जितापत्र, न्यायाधीशका योग्यता, द्रुत न्याय आदि जस्ता विषयमा व्यापक र विस्तृत उल्लेख छ।
यसमा विभिन्न देवानी कानुनी व्यवस्था पनि छन् । यस्तै गम्भीर अपराध, अपमान र आक्रमण, जुवा जस्ता शीर्षकमा फौजदारी कानुनी व्यवस्था पनि छन् । यो स्मृति मूलतः न्याय सम्पादन र न्याय प्रशासनसँग सम्बन्धित छ । तथापि यी कानुनको कार्यान्वयनमा प्रशासनको भूमिका इन्कार गर्न सकिँदैन।
यस्तै नेपालमा पाइएको मानव न्यायशास्त्र वा न्याय विकासिनी नारदस्मृतिमा आधारित रहेको मानिन्छ र यो अभिलेख नेपालमा मात्र उपलब्ध छ।
(द स्याक्रेड बुक्स अफ द इस्टस् यफ. म्याक्समुलर भोलुम ३३ मोतिलाल बनारसीदास)
वृहस्पतिस्मृति
वृह्स्पतिस्मृतिमा न्यायालयको संरचना, न्यायिक प्रक्रिया, दावी, प्रतिउत्तर, सुनुवाई, निर्णय, साक्षी, लिखत, भोग, दिव्य, ऋण, धितो (डिपोजिट), गैरस्वामीले गरेको बिक्री, साझेदारी, दान, कामदार र मालिक, सम्झौताको उल्लंघन, सीमा विवाद, अपमान, आक्रमण, डकैती र हिंसा, जारी, पति पत्नीका कर्तव्य, अंशअपुताली, जुवा र सट्टा जस्ता शीर्षकमा विभिन्न कानुनी व्यवस्था छन् । (द स्याक्रेड बुक्स अफ द इस्टस् यफ. म्याक्समुलर भोलुम ३३ मोतिलाल बनारसीदास)
यी व्यवस्था मूलतः न्याय सम्पादन र न्याय प्रशासनसँग सम्बन्धित भए पनि तिनको कार्यान्वयनमा प्रशासनको भूमिका रहन्छ।
शुक्रनीति
शुक्रनीतिमा राजकार्य निरुपण, विभिन्न अधिकारीहरूको योग्यता र कर्तव्य, राजा र प्रजाको हितसँग सम्बन्धित सामान्य नीति, विषय सापेक्ष नीति (मिश्र, कोश र कोष निरुपण, विद्या, कला निरुपण, आचार निरुपण, राजधर्म निरुपण, दुर्ग निरुपण, सेना निरुपण) र खिल (अतिरिक्त) नीति जस्ता अध्याय शीर्षक छन् । यो नीति मूलतः राज्य संचालन र प्रशासनसँग सम्बन्धित भएको कुरा अध्याय र प्रकरण विभाजनबाट नै देखिन्छ । (श्री शुक्राचार्यको शुक्रनीति, अनुवादक डमरु वल्लभ पौड्याल, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,२०२९)
तसर्थ यस आलेखमा त्यसका सबै पक्षमा उल्लेख गर्न सम्भव नभएकाले केही प्रतिनिधि व्यवस्था उध्दृत गर्ने प्रयास गरिनेछ।
दण्डको आशय स्वधर्म (कर्तव्य र न्याय) प्रति प्रवृत्त बनाउनु हो । (१।२३)
सरकारी कार्यालय र कार्यस्थलको यामिक (प्रहरी) द्वारा सुरक्षा गराउनुपर्छ । (१।२८६)
यस्तो सुरक्षा गर्न प्रेमपूर्वक व्यवहार गर्न सक्ने, नीति जान्ने, नम्र, हात–हतियार चलाउन सिपालु ४–६ जनाको टोली खटाउनुपर्छ । (१।२८७)
प्रहरीबाट सूचना लिएर सुन्ने व्यवस्था गर्नुपर्छ । (१।२८९)
प्रहरीले गाउँबाट निस्कने र गाउमा पस्ने व्यक्तिसँग यथार्थ विवरण सोधी हुलिया लिएर आवतजावत गर्न दिनुपर्छ ।
(१।२९०)
आधा आधा प्रहरको समय मिलाई गल्ली र नाकामा प्रहरी घुमाउनुपर्छ । (१।२९१)
यी आन्तरिक सुरक्षा प्रशासन सम्बन्धी विषय हुन् ।
यस्तै शुक्रनीतिमा गुप्तचरद्वारा सूचना संकलन गर्ने, गुप्तचरले गलत सूचना दिएमा दण्ड गर्ने, महत्वपूर्ण व्यक्तिका सूचना गुप्त तरिकाबाट प्राप्त गर्नुपर्ने, गुप्त तरीकाबाट पहिलै सूचना प्राप्त गरे सम्बन्धित व्यक्तिले झुठो बोल्न नसक्ने, जनता र अधिकारीको सुरक्षाका लागि गुप्तचरको प्रयोग गर्नुपर्ने जस्ता व्यवस्था छन् । यी व्यवस्थाको सूचना र सुरक्षासँग प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ । असल शासनका लागि ती सूचना र यो पद्दति उपयुक्त हुन सक्छ । (१।३३४–३३९)
राजाले अधिकार दिएर नियुक्त गरेका व्यक्तिले धेरै प्रजालाई दुःख दिएको रहेछ भने त्यस्ता कर्मचारीलाई हटाउनुपर्छ । पहिलोपटक अन्याय गरेको मन्त्रीलाई एकान्तमा सम्झाउनुपर्छ । तर, अन्याय गरेकोमा सावित छ भने हटाउनु नै पर्छ । जानीजानी अन्याय गरिरहने व्यक्तिको भने सम्पति हरण गर्नुपर्छ । (१।३७५,३७६)
प्रशासनिक क्रियाकलापको प्रत्यक्ष निगरानी गर्नुपर्ने, शंकाको सुविधा कर्मचारी नभई जनतालाई दिने, सामान्य त्रुटिमा सम्झाउने/बुझाउने र ठूलो गल्तीमा हटाउने र सम्पत्ति हरण गर्नुपर्ने भन्ने यी व्यवस्थाको आशय देखिन्छ।
कुलीन, गुणी, असल स्वभाव भएका, पाको उमेर भएका, सुरा, स्वामिभाक्त, मिठो वचन भएका, हित उपदेश दिन सक्ने, धर्मिस्ट, शुद्ध चालचलन भएका, राजा खराब मार्गमा लाग्दा बुद्धिद्वारा असल मार्गमा ल्याउन सक्ने, स्वाभिमानी, जाँगरिला र काम, क्रोध, लोभ नभएका व्यक्तिलाई गन सल्लाहकार नियुक्त गर्नुपर्छ । खराब सहायक राखे राजा आफ्नो धर्म र राज्यबाट च्यूत हुन्छ । (२।८–१२)
यो त्यसबेलाको योग्य व्यक्ति छान्ने मापदण्ड हो भन्ने देखिन्छ।
राष्ट्र सेवकमा निश्चित गुण हुनुपर्ने भन्दै गुणहरूको लामो सूची दिइएको छ । तन, मन र वचनले काम गर्न सक्ने, पाएको तलबमा सन्तुष्ट रहने, मृदुभाषी, अरुको अपकार नगर्ने, असल राय सल्लाह दिन सक्ने, न्याय मार्गमा प्रवृत्त, छिटो काम गर्न सक्ने, उपयुक्त व्यवहार गर्न सक्ने, अरुले पाएको अधिकार आफूले पाए हुँदो हो नभन्ने, आयस्ता अनुसार खर्च गर्न सक्ने, मातहतलाई राम्रो व्यवहार गर्ने, घमण्ड र निन्दा नगर्ने, चतुर र दयालु आदि गुण त्यसमा समावेश छन्। (२।५८–६४)
यस्तै शुक्रनीतिमा अयोग्यताहरूको पनि चर्चा छन् । ती हुन्, जागिर खोसिएको, खराब काम गरी सजाय पाएको, मूर्ख, कातर, लोभी, मात्तिएको, खराब व्यसनमा परेको, घुस खाने, जुवा खेल्ने, साँचो बोल्नेलाई मन नपराउने, समाजबाट अपमानित भएको, रुखो बोल्ने, अरुलाई मर्म पार्ने, रिसाहा, विचार नपुर्याई झट्ट काम गर्ने व्यक्ति नीच हुन् । (२।६५–६८)
यस्तै यस नीतिमा पद सोपानको व्यवस्था कसरी गर्ने भन्ने उल्लेख गर्दै त्यसको कारण पनि उल्लेख गरिएको छ । (२।७४–७९)
शुक्रनीतिमा कुन पदले के काम गर्ने भन्ने विषयमा पनि उल्लेख छ । जस्तोः राजाको कामको विचार गर्ने प्रधान, सेनाको याद विचार गर्ने सचिव, नीति सम्बन्धी काम गर्ने मन्त्री, धर्म तत्व जान्ने पण्डित, लोकाचारमा निपुण गर्ने प्राड्विवाक, देशकाल विचार गर्ने अमात्य, आय–व्ययको काम गर्ने सुमन्त्र आदि। (२।८२–८६)
यस्तै यस नीतिमा यी र अरु पदको कामको लामो विवरण छ जसको विस्तृत चर्चा यहाँ सम्भव छैन।
जुन व्यक्ति जति अधिकार दिन लायक छ, त्यसै मुताविक अधिकार दिनुपर्छ, किनकि अधिकाररूपी मदिरा पिएपछि प्रायः मानिस मोहित हुन्छ। (२।११२)
काम हेरेर बढी काम गर्न सक्नेलाई माथिल्लो पदमा नियुक्त गर्नुपर्छ र त्यसपछि तलको खाली पदमा पनि नियुक्त गर्नुपर्छ। (२।२१३)
बढुवा गरेपछि खाली रहेको पदमा पूर्ति गर्न मातहतमा उपयुक्त व्यक्ति नभए पदपूर्ति नगरी कायम मुकायम मात्र दिनुपर्छ । बढुवाको क्रम सकिएपछि अन्तिमको पदमा नयाँ भर्ना गर्नुपर्छ । (२।२१४,२१५)
कर्मचारी खटाउँदा कामको मात्राको आधारमा खटाउनुपर्छ । धेरै काम भए धेरै र थोरै काम भए थोरै कर्मचारी नियुक्त गर्ने वा खटाउने गर्नुपर्छ। (२।२१६)
किनकि यस संसारमा मन्त्र नभएको अक्षर छैन, औषधिमा प्रयोग नहुने कुनै वनस्पति छैन र योग्यता हुँदै नभएको मानिस पनि हुँदैन, जो जुन विषयमा योग्य छ उसलाई त्यही काममा लगाउने मानिसको भने खाँचो छ । (अमन्त्र मक्षरम् नास्ति नास्ति मूल मनौषधम् । अयोग्य पुरुषो नास्ति योजक स्तत्र दुर्लभः) (२।१२६।)
शुक्रनीतिमा हात्तिबल (२।१२७,२८) अस्तबल (२।१२९–१३६), सेना (२।१३७–१४८), कोषाध्यक्ष( २।१५०), सम्भाराधिप (भण्डारे) (२।१६०), न्यायाधीश (२।१६९), शौल्लिक (राजस्व अधिकारी)(२।१७४) लगायत राज्यमा नियुक्त हुने कर्मचारी समेतको नियुक्ति सम्बन्धमा उल्लेख छ । त्यहाँ उल्लेख भएका सबै पद र त्यसको योग्यता सम्बन्धमा लामो चर्चा भएकाले यहाँ विस्तारमा उल्लेख गर्न सम्भव भएन।
आफूले पाउने तलबभन्दा बढीको अभिलाषा गर्नु हुँदैन र मध्यस्थिकी भत्ताको इच्छा गर्नु पनि हुँदैन । (२।२६०)
नयाँ कर शुल्क लगाएर जनतालाई दुःख दिन हुँदैन । ( २।२६४)
कर्मचारीले गर्न हुने/नहुने व्यवहारबारे २२९ औँ देखि २६४ औँ श्लोकसम्म लामो सूची छ, यहाँ प्रतिनिधि व्यवस्था मात्र उल्लेख गरिएको हो।
लिखित आदेशबिना कर्मचारीहरूले काम गर्न हुँदैन र राजाले पनि सानोतिनो काम लगाउँदासमेत लिखितरूपमा नै आदेश दिनुपर्छ।
शुक्रनीतिको दोस्रो अध्यायको २८४ देखि ३१० सम्मका श्लोकमा लिखतको परिभाषा, महत्व, प्रकृति, प्रकार, लिखतको सुरक्षा जस्ता विषयमा विस्तृत उल्लेख छ । उदाहरणार्थ यस नीतिमा जयपत्र, आज्ञापत्र, प्रज्ञापनपत्र, शासनपत्र, तोषपत्र, भोगपत्र, बकसपत्र, भागलेख्य (बण्डापत्र), दानपत्र, क्रयलेख, संवितपत्र, ऋणलेख्य, शुद्धीपत्र, सामयिकपत्र, सम्मतिपत्र, क्षेमपत्र र भाषापत्र जस्ता विभिन्न सरकारी र नागरिक स्तरबाट तैयार हुने लिखतबारे चर्चा छ । यीमध्ये कतिपय शब्दको अर्थ आजको भन्दा भिन्न छ । यी लिखतहरू कुनै न कुनैरूपमा राज्यको प्रशासनसँग सम्बन्धित छन् । ती लिखतको प्रकृति र प्रक्रिया थाहा पाउन ती श्लोकको विस्तृत अध्ययन गर्न सकिन्छ।
शुक्रनीतिको दोस्रो अध्यायको ३११ देखि ३५० सम्मका श्लोकमा आर्थिक, राजश्व, वित्तीय र लेखा प्रशासन सम्बन्धमा बृहत् चर्चा छ । यसमा आय–व्ययको परिभाषा र प्रकारको उल्लेख छ।
शुक्रनीतिमा लिखत तैयार गर्दा ध्यान दिनुपर्ने विषयमा दोस्रो अध्यायको ३५१ देखि ३७६ सम्मका श्लोकमा उल्लेख छ । लिखत लेख्दा चारपाटे कागजमा तेर्छा हरफमा लेख्ने, बरावर अक्षर लेख्ने, सुरु र समाप्तीमा बराबर स्थिति हुनुपर्ने, लिखतमा सही गर्नेले आफ्नो इच्छा अनुसारको सही गर्ने वा छाप लगाउने, लिखत दर्जाको प्रतिकूल नहुने गरी लेख्ने, लेखेपछि विभिन्न पदाधिकारीले जाँची राम्रोसँग लेखे÷ नलेखेको हेर्नुपर्ने, तीभन्दा माथिल्ला अधिकारीले स्वीकार योग्य छ भनी लेख्ने, अन्य सम्बद्ध पदाधिकारीले हाम्रो पनि सम्मति छ भनी लेख्नुपर्ने र लिखत तैयार भएपछि सम्बद्ध सबैले सहीछाप गर्नुपर्ने भनिएको छ । यस्तै आम्दानी र खर्च लेख्दा पहिले आम्दानी र पछि खर्च लेख्ने, लेख्दा समयको क्रम अनुसार, व्यापकबाट न्यून, एकै प्रकृतिका विषय वा पदार्थलाई समुदायका रूपमा क्रम नबिगारी लेख्ने गर्नुपर्छ भनिएको छ । आम्दानी–खर्चसम्बन्धी लिखत लेख्दा विचार गर्नुपर्ने विषयमा थप उल्लेख छ।
शुक्रनीतिको दोस्रो अध्यायको ३७७ देखि ३८४ सम्मका श्लोकमा नाप, तौल र समय गणनासम्बन्धी व्यवस्था छ।
यस्तै, ३८५ देखि ४२६ सम्म मूलतः कर्मचारीले पाउने पारिश्रमिक र सुविधा, पारिश्रमिकको प्रकृति, प्रकार र मात्रा, विदा, मानपदवी, पुरस्कार वा बकस, पद र काम अनुसारको चिन्ह, काम कसलाई दिने आदि जस्ता विषयमा उल्लेख छ । यसमा मूलतः निम्न कुरा उल्लेख छन्।
क) पारिश्रमिक काम, समय र काम र समय दुवैका आधारमा दिन सकिने तर जसरी दिने तय भएको हो त्यसरी नै दिनुपर्ने (३८५–३८८)
ख) पारिश्रमिक दिँदै नदिन र ढिलो दिन नहुने (३८९)
ग) परिवारलाई यथेष्ट खान लाउन पुग्ने पारिश्रमिक उत्तम र एक जनालाई मात्र भरणपोषण पुग्ने चाहिँ ‘हीन’ हो (३९०)
घ) योग्यता अनुसारको पारिश्रमिक दिने गरी नियुक्त गर्नुपर्ने र कर्मचारीले पाल्नु पर्नेलाई पालन पुग्ने गरी दिनुपर्ने (३९१,३९२)
ङ) थोरै पारिश्रमिक दिनु आफैले आफ्नो शत्रु कमाउनु हुने र उसले अरुलाई मद्दत गर्न, ढुकुटी र प्रजाको नास (घुस आदिबाट) गर्न सक्ने (३९३)
च) कर्मचारी मन्द, मध्य र सीघ्र गरी तीन प्रकारका हुन्छन् र तिनको वृत्ति (पारिश्रमिक) पनि सम, मध्यम र उत्तम तीनप्रकारकै हुन्छ । (३९६)
छ) कर्मचारीहरूलाई घरको काम गर्न पनि छुट्टी दिनुपर्छ । चाडपर्वका बेलामा विदा दिनुपर्छ । अत्यावश्यक परे चाडवाडमा काम लिन सकिन्छ । तर श्राद्धको दिनमा भने काममा लगाउन हुँदैन । बिरामी भई ज्यादै आपद परेकालाई नौ महिनासम्मको तलबी बिदा दिनुपर्छ, आवश्यक परे तीन महिना थपिदिनुपर्छ । पाँच वर्ष सेवा गरेकालाई त अरु विचार गर्नुपर्छ भनिएको छ । वर्ष दिन पूरै बिरामी भए ६ महिनासम्मको तलबी र त्यसपछि बेतलबी बिदा दिनू भनिएको छ । आठ दिनसम्म बिरामी परे तलब नकाट्नु, बारम्बार बिरामी परे त्यसको ठाउमा अर्को भर्ना गर्नु भन्दै धेरै गुणी कर्मचारी बिरामी परिरहे पनि त्यसले पाउने आधा तलव दिइरहनु भन्ने बताइएको छ । ( ३९७–४०१)
ज) ४० वर्ष सेवा गरेका कर्मचारीलाई सेवा नगरे पनि (अवकाश पछि ) आधा तलब बाँचुन्जेल दिनु र उसको पुत्र नाबालिग भए समर्थ नभएसम्मका लागि त्यसको आधा दिनु तथा कर्मचारीको स्त्रीलाई पतिले र कन्या छोरीलाई बाबुले पाउने रकमको आधा रकमको आधा दिनु भनिएको छ । (४०२–४०५)
झ) कर्मचारीलाई बेलाबेलामा उपदेश (तालिम) दिनुपर्छ, शिक्षा नदिई अपमान मात्र गरे ऊ शत्रु बन्न जान्छ । (४०७)
ञ) सेवकलाई मासिकरूपमा वृत्ति दिए सन्तुष्ट हुन्छन् । मान पदवी दिए अभिवृद्धि प्राप्त गर्छन् । (४०८)
ट) अधम सेवक धनको मात्र इच्छा राख्छन्, मध्यम धन र मानको इच्छा गर्छन् र उत्तम मानको मात्र इच्छा गर्छन् किन कि मान नै महत्तावालाको धन हो । ( ४०९)
ठ) राजाले कसैलाई अतिरिक्त तलब दिएर, कसैलाई बस्तु दिएर, कसैलाई राम्रो दृष्टिले हेरेर, कसैसित मुस्कुराएर, कसैलाई नम्र बोलीले, कसैलाई राम्रा प्रश्न सोधेर, कसैलाई थप अख्तियारी दिएर, कसैलाई क्षमा गरेर, कसैलाई प्रणाम गरेर, कसैलाई मान, सत्कार, आसन, ज्ञान, आदर दिएर तथा कसैलाई खानपिन, लत्ताकपडा, आभूषण वा धन दिएर पनि सन्तुष्ट राख्नुपर्छ । (४१०–४१५)
यी वर्णलाई हालको जातको आधारमा नलिई जन्मले कोही पनि ब्राह्मण, क्षत्री, वैश्य र शुद्र हुँदैन भन्ने अर्थमा हेर्नुपर्ने हुन्छ । किनकि शुक्रनीतिको पहिलो अध्यायको ३८ औँ श्लोकमा (यस जगतमा जन्मले मात्र कोही ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र र म्लेच्छ हुँदैन, केवल गुण (सत्व, रज र तम) र कर्म (राम्रो÷नराम्रो) बाट मात्र भेद गरिएको हो भनिएको छ।
कौटिलीय र्अशास्त्र
कौटिल्यको अर्थशास्त्र मूलतः राज्य प्रणालीसँग सम्बन्धित छ र यसमा १५ अधिकरण, एक सय ५० अध्याय र छ हजार श्लोक छन् । यस शास्त्रमा प्रशासनसम्बन्धी अनेक कुरा यसका अनेक अधिकरण, अध्याय र श्लोकमा रहेका छन्।
यस अर्थशास्त्रको विषय सूची मात्रको चर्चाले पनि उल्लेख्य स्थान लिनेछ । विनयाधिकार प्रकरणअन्तर्गत वार्तादण्ड नीति, राजर्षी आँचरण, अमात्यको नियुक्ति, मन्त्री आदिको नियुक्ति, गोप्य रूपमा अमात्यको परीक्षण, गुप्तचरको छनोट, गुप्तचरको नियुक्ति, सुरक्षासम्बन्धी विषय, शत्रु देशमा गर्न हुने र नहुने काम, मन्त्रणाको अधिकार, दूतको नियुक्ति, नजरबन्दमा हुने व्यवहार, राजाका कार्य, निर्माणसम्बन्धी कर्तव्य र आत्मरक्षा आदि सम्बन्धी अध्याय छन्।
यस अर्थशास्त्रको अध्यक्ष प्रचारसम्बन्धी प्रकरणमा जनपद स्थापना, भूमिको उपयोग, किल्ला निर्माण, किल्ला प्रवेश, कोषाध्यक्षको काम, निर्माणाध्यक्षको काम, लेखाध्यक्षको काम, कोषको सुरक्षा, उपयुक्तता परीक्षा, शासनाधिकार, कोषको जाँच, खानीको अध्यक्ष, स्वर्णकार, भण्डारको अध्यक्ष, पसलको अध्यक्ष, काठ–दाउरासम्बन्धी अधिकारी, गारद सम्बन्धी, नापतौल अधिकारी, भूमि र समय मापन, कर अधिकारी, करका नियम, कृषि अधिकारी, मदिरासम्बन्धी अधिकारी, बधशाला प्रबन्धक, गणिकाध्यक्ष, डुंगाप्रबन्धक, गोठ प्रबन्धक, तबेला प्रबन्धक, हात्ती प्रबन्धक, रथ र पैदल सेनापतिको काम, छाप, चरन, गुप्तचर विभाग र त्यसको काम, नागरिकका काम जस्ता अध्यायमा प्रशासन त्यसको नेतृत्व त्यसले गर्ने काम आदि विषयमा चर्चा छ।
कौटिलीय अर्थशास्त्रका अन्य प्रकरण र अध्यायमा सन्धि, विग्रह र आसन, युद्ध व्यवस्थापन, विभिन्न प्रकृतिका सम्झौता, क्षतिपूर्ति, विभिन्न व्यसन, बाह्य र आन्तरिक आपद, राज्यको रक्षा र सैनिक बन्दोबस्ती, दूत, शान्ति स्थापना, शत्रुमाथि जितका उपाय आदि जस्ता रक्षा प्रशासन सम्बन्धी विषयमा व्यापक चर्चा छ । (यो चर्चा विषय–सूची मात्रको आधारमा गरिएको हो।)
यसका आधारमा कौटिलीय अर्थशास्त्रका प्रशासनिक व्यवस्थालाई विषयवस्तुका आधारमा सारांशमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ।
क) राज्यको प्रशासनलाई काम वा विषयको आधारमा विभिन्न संरचना वा एकाईमा विभाजनमा गर्न सकिन्छ । ती एकाइको नेतृत्व सक्षम योग्य र इमान्दार व्यक्तिबाट हुनुपर्छ।
ख) प्रशासन योग्यता प्रणालीमा आधारित हुनुपर्छ।
ग) प्रशासन कानुन र नीतिका आधारमा संचालन हुनुपर्छ।
घ) कर्मचारी तन्त्रको पदसोपान हुन्छ र सोपान अनुसारको कार्य पूर्वनिर्धारित हुनुपर्छ।
ङ) प्रत्येक कार्यालय र अधिकारीको कर्तव्य र उत्तरदायित्व स्पष्ट हुनुपर्छ।
च) बढुवा कार्य क्षमता वा सम्पन्न गरेको कामको मात्रा र गुणस्तरका आधारमा हुनुपर्छ।
छ) काम समयमा गर्ने र गुणस्तरीय काम गर्नेलाई पुरष्कृत र काम ढिलो गर्ने र बिगार्नेलाई दण्ड दिनुपर्छ।
ज) राज्य कोष दुरुपयोग र भ्रष्टाचार गरे/नगरेको सम्बन्धमा गुप्तचरबाट समेत जानकारी लिनुपर्छ।
झ) राजस्व र खर्चको हिसाबकिताब निर्दिष्ट तरिकाले राख्नुपर्छ।
ञ) खर्च गर्न छुट्टाएको रकम खर्च गर्न नसक्ने र दुरुपयोग गर्नेलाई दण्ड गर्नुपर्छ।
ट) काम ठिक तरीकाले भए÷नभएको हेर्न योग्य व्यक्तिको निरीक्षण समिति हुनुपर्छ।
ठ) गुन, वैगुन र क्षमता जाँच्न एक वर्षको परीक्षण कालमा राख्नुपर्छ।
ड) कर्मचारीलाई दिने वृत्ति निश्चित हुनुपर्छ।
ढ) रक्षा र सुरक्षा प्रशासन सुदृढ हुनुपर्छ।
ण) कूटनीतिक प्रशासनलाई प्रभावकारी बनाउनुपर्छ।
निष्कर्ष
सनातन दर्शन सम्बद्ध शास्त्र कसैप्रति अन्धभक्ति र अरुप्रति घृणा उत्पादन गर्ने, मानिसलाई जन्मजात पापी ठानी कुण्ठा उत्पन्न गराई स्वर्गको टिकट बेच्ने कुरामा आधारित देखिँदैनन् । यी शास्त्रमा राज्य, राष्ट्र, राज्य प्रबन्ध, कानुन तर्जुमा, न्याय र न्याय प्रणाली, दण्डनीति, राजस्व, प्रहरी गुप्तचरी र आन्तरिक सुरक्षा, सेना र बाह्य सुरक्षा युद्ध र शान्ति, मानव अधिकार कुटनीति, शुसासन, राजा मन्त्री र पदाधिकारीका योग्यता, प्रशासन आदि जस्ता राज्य प्रणालीसम्बन्धी अनेक विषयमा व्यवस्था छ । यिनमा लेखिएका कुरा त्यो बेला लेखिएकाले कतिपय कुरा आज सान्दर्भिक नहुन सक्छन् । आज जुन शब्दले जुन अर्थ दिन्छ त्यो शब्दले ऊ बेला आज भन्दाभिन्न अर्थ दिने गरेको हुनसक्छ । कतिपय समस्या संस्कृतबाट अरु भाषामा अनुवाद गर्दाको पनि छ । मनुस्मृतिमा भारतमा हिन्दू कानुन भनी लागू गर्ने क्रममा अंग्रेज शासकले विभिन्न क्षेपक थपथाप गराएको पनि भनिन्छ । यी शास्त्र राज्यले पारित गरेका कानुन होइनन् । ऋषिहरू र विद्वानले अरु ऋषि र स्थानीयको समुपस्थितिमा स्थानीय प्रथा र व्यावसायिक व्यवहार समेत हेरी व्यक्त गरेका मन्त्र हुन्।
यी स्वयममा कानुन होइनन् । यी शास्त्र हुन्, यीमध्ये उपयुक्त कुरा रोज्ने र लागू गर्ने वा नगर्ने अधिकार राज्यमै थियो । यी शास्त्र धेरै हुनाले राज्यलाई कुन शास्त्रको कुन व्यवस्था आफ्नो देश काल र परिस्थिति अनुकूल छ भनी रोज्ने अधिकार थियो । यी विकल्परहित बडेआदेश होइनन् । यी शास्त्रमा अर्को ऋषिको धारणासँग असहमत भएका कुरा र विकल्प पनि प्रस्तुत गरिएका छन् । फलतः यी शास्त्रमा गतिशिलता पनि अन्तनिर्मित छ । यस्तै स्मृति स्वयं पनि युग अनुसार प्रभावकारी मानिने कुरा स्वयं पराशर स्मृतिमा उल्लेख भएको पाइन्छ।
सनातन दर्शनमा प्रशासनलाई प्रणालीको रूपमा ग्रहण गरेको देखिन्छ । प्रशासन सम्बद्ध संरचना सुनिश्चित थिए । ती संरचना कामको प्रकृति अनुसार रहेको देखिन्छ । संगठनका तर्फबाट गर्नुपर्ने काम, कर्तव्य र दिनु पर्ने सेवाको उल्लेख छ । काम गर्ने प्रक्रियाबारे चर्चा भएको देखिन्छ । यस्तै कामको प्रकृति अनुसारका विभिन्न पद वा पद अनुसारका कामको उल्लेख छ । काम गरे/नगरेको र गुणस्तर भए/नभएको निरीक्षण र मूल्यांकन गर्ने र उत्तरदायित्व सम्बन्धमा पनि उल्लेख छ । कामप्रति लगाव, मनोबल र अभिरुचि निम्ति पनि व्यवस्था रहेको पाइन्छ । पारिश्रमिक पालन पोषण गर्नुपर्ने परिवार समेतको लागि पुग्ने भएमा उत्तम हुने भनिएको छ । भ्रष्टाचारप्रति कठोर नीति रहेको देखिन्छ । ढिलासुस्ती दण्डनीय रहेको पाइन्छ । निगरानी पद्धति रहेको देखिन्छ । योग्यता, क्षमता र अनुभवको सम्मान, पुरस्कार र दण्डको चर्चा छ । बढुवा, बिदा र अवकाशपछिको सामाजिक सुरक्षा सम्बन्धमा पनि उल्लेख छ । ठीक मानिसलाई ठीक ठाउँमा राख्ने उपायबारे बताइएको छ।
राष्ट्र सेवकलाई अधिकार दिएर शासन गर्न नभई कर्तव्य तोकेर सेवा गर्न प्रेरित गरेको पाइन्छ । प्रशासन विकेन्द्रित रहेको र जनताको सुख–दुःखमा राष्ट्र प्रमुखले पनि चासो र रुचि लिनुपर्ने कुरा उल्लेख छ । कानुनभन्दा माथि कोही नहुने भन्ने धारणा स्वीकारेको देखिन्छ । यसरी यी शास्त्रका व्यवस्था हेर्दा हामी हाम्रा पूर्वजले शास्त्रमा उल्लेख गरेका प्रशासनसम्बन्धी त्यो बेलाका अत्याधिक व्यवस्था आज पनि अनुकरण गर्न वा सामयिक सुधार सहित अपनाउन सकिने प्रकृतिका छन् । तिनलाई पढ्ने, सही सन्दर्भमा अर्थ गर्ने, असामयिक देखिएका छोड्ने र मनासिव देखिएका कुरा लाज नमानी ग्रहण गर्ने कुराको खाँचो छ । हाम्रो नयाँ पुस्ताको ध्यान यता पनि जाओस् । किनकि यो हाम्रै पूर्वजको धरोहर हो।
प्रकाशित: १ मंसिर २०७५ ०४:३१ शनिबार